प्रस, वीरगंज, २ कात्तिक/
नारायणी अस्पतालमा स्वास्थ्य बीमा गरेकाहरूलाई औषधिहरू उपलब्ध भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले बताएका छन् । उनले विगत छ महीनादेखि स्वास्थ्य बीमा गरेकाहरूले अस्पतालमा औषधि नपाएको गुनासो हटाउने कार्य भएको बताए । उनले बीमितहरूलाई यसअघि अस्पतालको फार्मेसीबाट औषधिहरू उपलब्ध नहुने गरेको र सोही कसूरमा फार्मासिस्ट हरेन्द्र यादवको करार अवधि थप नगरिएको बताए । अहिले अस्पतालमा बीमितहरूलाई आवश्यक पर्ने ९० प्रतिशत औषधि फार्मेसीबाट उपलब्ध भइरहेको दाबी गरे । मेसु डा प्रधानले बीमितहरूलाई सरकारले ६६७ प्रकारका औषधि उपलब्ध गराउन निर्देशन गरेकामा अहिले सोमध्ये ९० प्रतिशत उपलब्ध भइरहेको बताए । अहिले अस्पतालको फार्मेसीबाट बीमितहरूलाई दैनिक रु दुई लाखदेखि तीन लाखसम्म औषधिहरू उपलब्ध गराउँदै आएको उनले बताए । यसअघि फार्मेसीबाट बीमितहरूलाई दैनिक रु दुई हजारमुनि नै औषधि उपलब्ध गराइथ्यो । आफूले मेसुको पदभार ग्रहण गरेपछि बीमितहरूलाई फार्मेसीबाट उपलब्ध गराइने औषधिहरूलाई प्राथमिकतामा राखेर कार्य गरेको बताए । यसअघि अस्पतालमा चेकजाँच गराउने आउने बीमितहरूलाई चिकित्सकले लेख्ने गरेका औषधिमध्ये कसैकसैले मात्र एकाध औषधि पाउने गरेको नत्र सबै बीमित बिरामी औषधिविना नै फिर्ता हुने गरेको बताए । अहिले त्यो अवस्थामा निकै सुधार आएको उनले बताए । यसअघि औषधिको ठेक्का हुँदा मधुमेहका बिरामीहरूलाई रु ६०० पर्ने इन्सुलिन ठेकेदारले ६० रुपैयाँमा दिने गरी ठेक्का सकार गरेको तर अस्पताललाई उपलब्ध नगराएर भ्रष्टाचार गरेको र अहिले नयाँ ठेक्काबाट इन्सुलिन उपलब्ध गराउन आफूले तयारी गरेको र बढीमा दश दिनभित्र यो समस्याको समाधान गरिने डा प्रधानले बताए ।
झन्डै दुई करोडको अपचलन
मेसु डा प्रधानले सरकारले फार्मेसी सञ्चालनका लागि पठाएको एक करोड असी लाख अपचलन भएको आरोप लगाएका छन् । उनले यसअघिका फार्मासिस्ट यादवले सो रकमबाट औषधि खरीद गरेको, बिक्री गरेको र अस्पतालको खातामा रकम राखेको देखा नपरेकामा सो रकमबारे छानबीन भइरहेको बताए । झन्डै दुई करोड औषधिबापतको रकम अपचलन भएको र यसबारेमा सरोकारवाला सबै निकायलाई आफूले अवगत गराएको उनले बताए । उनले करार अवधि थप नभएपछि निष्कासित फार्मासिस्ट यादवले असारदेखि अहिलेसम्म चार महीना बित्न लाग्दा पनि बुझबुझारथ नगरेको र उनको यो हर्कतबारे प्रजिअको ध्यानाकर्षण गराइसकेको बताए । यसै अवधिमा अस्पतालमा रहेको साझा औषधिपसलले पनि अस्पतालसँग औषधिबापत रु ५२ लाख भुक्तानी माग गरेको मेसु डा प्रधानले बताए । अस्पतालको आफ्नै फार्मेसीबाट बीमितहरूलाई औषधि उपलब्ध गराउनुपर्नेमा साझासँग रु ५२ लाखको औषधि खरीद गरेको विषय पनि अनुसन्धानको दायरामा परेको उनले बताए ।
औषधि बिक्री कक्ष सञ्चालन गर्ने
नारायणी अस्पतालले औषधि बिक्री कक्ष सञ्चालन गर्ने भएको छ । अस्पतालमा रहेको फार्मेसीबाट हाल बीमित र अस्पतालका शाखाहरूमा आवश्यक औषधिहरू मात्र उपलब्ध गराउँदै आएकामा अस्पतालले सर्वसाधारण बिरामीहरूको हितमा अस्पतालमा औषधि बिक्री कक्ष सञ्चालन गर्न गइरहेको मेसु डा प्रधानले प्रतीकलाई बताए । उनले औषधि बिक्री कक्षका लागि आवश्यक सबै तयारी भइरहेको र कात्तिक महीनामैं सञ्चालनमा ल्याउने बताए ।
डायलासिस वार्ड २० शøयाको हुने
नारायणी अस्पतालमा रहेको छ शøयाको डायलासिस वार्ड २० शøयाको हुने भएको छ । सिदार्थ बैंक र राउन्ड टेबुलको रु ५२ लाखको संयुक्त लगानीमा १४ वटा शøया थप भइरहेको मेसु डा प्रधानले बताए ।
अस्पतालको १२ वटा, सरकारले अनुदान सहयोगमा दिएको पाँचवटा र हाल चालू अवस्थामा रहेको सातवटा डायलासिस मेशिन गरी अस्पतालमा २४ वटा डायलासिस मेशिन रहेकामा छवटा शøया मात्र भएकाले पूर्णरूपमा डायलासिस मेशिन सञ्चालनमा ल्याउन अप्ठेरो भएको कुरालाई मध्यनजर गर्र्दै सिद्धार्थ बैंक र राउन्ड टेबुलले थप शøयाको निर्माणमा रुचि देखाएको उनले बताए ।
एमआरआई पनि सञ्चालनमा आउने
मेसु डा प्रधानले एक महीनाभित्र अस्पतालमा एमआरआई सञ्चालन हुने प्रतीकलाई बताए । उनले एमआरआई कक्ष निर्माणको क्रममा रहेको र बढीमा एक महीनाभित्र सञ्चालनमा आउने दाबी गरे । अस्पतालको सेवा विस्तार आफ्नो कार्यकालमा बढाउने अठोटका साथ आकस्मिक कक्ष, बहिरङ्ग कक्ष निर्माण कार्य पनि जोडसोडका साथ भइरहेको उनले बताए ।