राधेश्याम पटेल, परवानीपुर, ३० असोज/

 सत्तारूढ गठबन्धनका नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले बारामा चुनावी आचारसंहिताविपरीत चुनावी फन्डा शुरू गरेका छन् । गठबन्धनको बारा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार श्रेष्ठले परवानीपुरमा वैदेशिक रोजगारमा जाने युवाहरूको लागि निश्शुल्क प्रि–इन्टरभ्यू शुरू गराएका छन् । उम्मेदवार श्रेष्ठले ‘निश्शुल्क भिसा, निशुल्क टिकट, निशुल्क मेडिकल’ भनी उक्त वैदेशिक रोजगारका लागि असोज ३० र ३१ गते बाराको परवानीपुर बजारस्थित बिएस पार्टी प्यालेसमा युवाहरूको अन्तर्वार्ता गराइरहेका छन् । उक्त ठाउँमा किसान श्रेष्ठ र लोसपाका नेता जीतेन्द्र सोनलको तस्वीर अङ्कित ब्यानर पनि झुन्ड्याइएको छ । सोनल बारा क्षेत्र नं ४ (ख)बाट प्रदेशसभा सदस्यमा चुनाव लडिरहेका छन् ।

 आइतवार आठ सयजना र सोमवार सात सयजनाको इन्टरभ्यू लिने लक्ष्य राखिएको ललितपुरको इन्टरनेशनलल म्यानपावर रिक्रुटमेन्ट प्रालिले जनाएको छ । किसान श्रेष्ठका स्वकीय सचिव जगत श्रेष्ठकै निर्देशनमा बाराको परवानीपुर बजारमा इन्टरभ्यू गर्ने ठाउँ तोकिएको उक्त म्यानपावर कम्पनीका प्रशासकीय अधिकृत विवेक शर्माले बताए । मलेशियन स्याकारिता सिन कलङ प्लास्टिक इन्डस्ट्रिजमा काम गर्न वैदेशिक रोजगारमा पठाइने भनिएको छ । वैदेशिक रोजगारमा जान प्रि–इन्टरभ्यूको लागि नेपाली म्यानपावर कम्पनीले वैदेशिक रोजगार एपमा केही दिनअघि अग्रिम सूचना प्रकाशित गरेको थियो । त्यही सूचनाको आधारमा अहिले पर्सा, बारा, रौतहट, सर्लाही, मोरङ, तनहँुलगायत विभिन्न जिल्लाबाट अहिले परवानीपुरमा सयौं युवा भेला भएका छन् । प्रि–इन्टरभ्यूमा रोजगारदाता मलेसियन कम्पनीका प्रतिनिधिहरू पनि आउने बताइएको छ ।

 सम्पूर्ण नेपालीको लागि सूचना जारी गरिए तापनि आइतवार मात्र बारा क्षेत्र नं ४ का युवालाई प्राथमिकता दिइने जानकारी गराइएपछि बाहिरी जिल्लाबाट आउने युवाहरू आक्रोशित भएका छन् । सर्लाही मलङ्गवाबाट आजै बिहान साढे ३ बजे परवानीपुर पुगेका अर्से आलमले यो चुनावमा मत तान्ने फन्डाबाहेक अरू केही नभएको बताए । “हामीले हेरेको सूचनामा कहींकतै उल्लेख छैन कि बारा क्षेत्र नं ४ का युवाहरूलाई मात्र छनोट गरिनेछ,” उनले भने, “तर यहाँ आएपछि हामी निराश भएका छौं, बाहिर जिल्लाका युवाको इन्टरभ्यू हुँदैन भनी भन्दैछन् ।”

  त्यसैगरी, मोरङबाट दुई दिनअघिदेखि वीरगंजमा डेरा लिएर बसिरहेका राहुल माझीले पनि बाराका युवाको मात्र इन्टरभ्यू हुने सूचना पाएपछि दुःख लागेको र आवतजावतमा हजारौं रुपियाँ खर्च भएकोमा निराशा व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here