धर्मेन्द्र चौरसिया, पोखरिया, २८ असोज/

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पर्सा क्षेत्र नं ३ बाट ३७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

जिल्ला निर्वाचन कार्यालय, पर्साले उपलब्ध गराएको तथ्याङ्क अनुसार प्रतिनिधिसभामा ११ जना, प्रदेशसभाको (क)बाट १२ र (ख)बाट १४ जना गरी ३७ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा सत्तारूढ गठबन्धनबाट नेपाली काङ्ग्रेसका सुरेन्द्रप्रसाद चौधरी, जसपा–एमाले गठबन्धनबाट राजकुमार गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अशोक कँडेल, नेपाल सुशासन पार्टीबाट राजकुमार यादव, राप्रपाबाट अङ्गद ठाकुर, नेमकिपाबाट आशाकाजी वनमाला र स्वतन्त्र उम्मेदवारहरू धुरेन्द्र पटेल, प्रदीपकुमार रौनियार, महम्मद अलि अकबर अन्सारी, रामप्रसाद महतो चाई र समीरकुमार साह उम्मेदवार छन् ।

यो क्षेत्रबाट २०७४ सालको प्रतिनिधिसभामा जसपाका हरिनारायण रौनियार विजयी भएका थिए । यसपटक उनी चुनावी मैदानमा छैनन् । सांसद भएपछि उनी निलम्बित भएको र हालसम्म फुकुवा नभएको कारण उनी चुनाव लड्न अक्षम भएका हुन् ।

प्रदेशसभा (क)बाट सत्तारूढ गठबन्धनका माओवादी केन्द्रबाट छोटेलालप्रसाद यादव, जसपा–एमाले गठबन्धनबाट एमालेका अब्दुल रहिम (मन्जुर) अन्सारी, नेपाल सुशासन पार्टीका शिवकुमार साह, राप्रपाका चन्द्रिका सहनी, नेकपाका अमरदेव पासवान र स्वतन्त्रबाट अजादुल हक अन्सारी, किसुन अहिर, चन्द्रकिशोर प्रसाद, नीरराज गिरी, प्रमोद जयसवाल, लवड मियाँ अन्सारी र शेखरबहादुर सिंह चुनावी मैदानमा छन् ।

२०७४ सालको निर्वाचनमा क्षेत्र नं ३ (क)बाट जसपाका अब्दुल रहिम (मन्जुर) अन्सारी विजयी भएका थिए । उनी हालै एमालेमा प्रवेश गरेर उम्मेदवार भएका हुन् । यो क्षेत्रबाट उम्मेदवार रहेका शिवकुमार साह जसपामा थिए । टिकट नपाएपछि उनी नेपाल सुशासन पार्टीबाट उम्मेदवार भएका हुन् । यसैगरी, एमाले प्रवेश गरेका नीरराज गिरीले पनि टिकट नपाएपछि स्वतन्त्र भएका हुन् ।

यो क्षेत्रको (ख)बाट १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारूढ गठबन्धनबाट नेकाका जनार्दनसिंह क्षत्री, नेकपा (एस)का प्रह्लाद गिरी चुनावी मैदानमा छन् । यसैगरी, एमाले–जसपा गठबन्धनबाट जसपाकी मधु गुप्ता, राप्रपाका सुजीतकुमार त्रिपाठी, नेपाल सुशासन पार्टीका गौरीशङ्कर साह तेली, जनमत पार्टीका अब्दुल्लाह मियाँ र स्वतन्त्रमा जीतेन्द्र सहनी, डाडु तेली, प्रभु साह, रामबाबूप्रसाद यादव, विजयकुमार रौनियार, शम्भु ठाकुर र हरिनारायणप्रसाद चौहान छन् ।

यो क्षेत्रबाट २०७४ सालमा जसपाका प्रह्लाद गिरी विजयी भएका थिए । गिरी भर्खरै एमालेमा प्रवेश गरेका थिए तर टिकट नपाएपछि उनी सत्तारूढ गठबन्धनको नेकपा (एस)बाट उम्मेदवार बनेका हुन् । नेकाका उम्मेदवार जनार्दनसिंह क्षत्री यसअघि गिरीसँग झिनो मतले पराजित भएका थिए । यो क्ष्Fेत्रबाट उम्मेदवार भएकी मधु गुप्ता निलम्बित सांसद रौनियारकी छोरी हुन् । क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा दाबी गरेकी गुप्ता जसपा–एमाले गठबन्धन भएपछि प्रदेशसभा उम्मेदवार बनेकी हुन् ।

यसैगरी, नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिएका गौरीशङ्कर साह तेली यसअघि जसपामा थिए र टिकट नपाएपछि उनी नेपाल सुशासन पार्टीबाट चुनाव लडेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here