- विश्वराज अधिकारी
जातिविहीन समाज
अमेरिकी समाज जातिविहीन समाज हो । रङ्गको आधारमा केवल काला र गोरागरी अमेरिकी समाज दुई भागमा विभाजित छ तर जातिको आधारमा विभाजित छैन । हुनत अहिले रङ्गको आधारमा एउटा अर्को विभाजन थपिएको छ । त्यो खेरौ (ब्राउन) अमेरिकन हो । एशिया महादेशबाट अमेरिका आएका र अमेरिकामा बसोवास गर्नेहरूलाई ब्राउन भन्ने गरिन्छ ।
रङ्गको आधारमा अमेरिकी समाज विभाजित भए तापनि जातिको आधारमा विभाजित छैन । उच्च जाति, तल्लो जाति भन्ने छैन । छुवाछूत भन्ने पटक्कै छैन । महिलाले आफ्नो इच्छा अनुसारको कुनै पनि पुरुष र पुरुषले आफ्नो इच्छा अनुसारको कुनै पनि महिलासँग विवाह गर्न पूर्ण स्वतन्त्रता छ । विवाह गर्दा दक्षिण एशियामा जस्तो आफ्नो जाति भित्रकै महिला वा पुरुषसँग विवाह गर्नुपर्ने कुनै पनि किसिमको पारिवारिक वा सामाजिक बाध्यता हुँदैन । परिवारले पनि आफ्ना सन्तानलाई फलानो पुरुष वा महिलासँग विवाह गर भनी दबाब दिंदैन, बाध्य पार्दैन । १८–२० वर्ष उमेर पुगेपछि सन्तानहरू आफ्ना आमाबाबुका घर छाडेर जाने र स्वतन्त्र भएर बस्ने हुनाले आफ्नो विवाहका लागि निर्णय गर्न उनीहरू पूर्ण स्वतन्त्र हुन्छन् । युवाहरूले स्वयं आफ्नो लागि पत्नी वा पति खोज्ने कार्य गर्दछन् । र त्यसरी पत्नी वा पति खोज्ने कार्यलाई ‘डेटिङ’ भन्ने गरिन्छ । डेटिङ गरेर पति वा पत्नी खोज्नु युवाहरूको दायित्वभित्र पर्छ ।
अमेरिकी समाज जातिविहीन भएकोले जातिको आधारमा समाजभित्र कुनै पनि व्यक्तिलाई कुनै पनि किसिमले विभेद गरिएको पाइँदैन । एउटी अमेरिकी युवतीले अन्य देशको युवकसँग एवं एउटा अमेरिकी युवकले अन्य देशकी युवतीसँग विवाह गर्नु अमेरिकामा सामान्य कुरा हो । आफ्नो समाजभित्र जोसँग पनि विवाह गर्न स्वतन्त्र भएझैं विदेशीहरूसँग विवाह गर्न पनि अमरिकी स्वतन्त्र छन् । यो कारणले पनि अमेरिकी समाजलाई ‘खुला समाज’ वा ‘स्वतन्त्र समाज’ भन्ने गरिन्छ । कुनै एकल वा सीमित घटनालाई छाडेर कुरा गर्ने हो भने ‘अन्ध राष्ट्रवाद’ भावनाको वशीभूत भएर अमेरिकीहरूले हामी विदेशीसँग विवाह गर्दैनौं, केवल स्वदेशीसँग मात्र गर्छौ भनेको सुनिंदैन । बरु यसरी भनेको युरोपका केही देशहरूमा सुनिएको छ । आफ्नै देशभित्रका व्यक्तिसँग अर्थात् देशवासीसँगै विवाह गर्नुपर्छ र समान जाति र धर्मका व्यक्तिसँग विवाह गर्नुपर्छ भन्ने भावना दक्षिण एशियामा चर्को समस्याको रूपमा देखिएको छ ।
उच्च जाति, तल्लो जाति, शारीरिकश्रम गर्ने जाति, बौद्धिक कार्य गर्ने जाति, छूत जाति, अछूत जाति, फोहर कार्य गर्ने जातिजस्ता जातीय भावना राष्ट्रको आर्थिक एवं सामाजिक विकासका लागि घातक हुन्छ भन्ने कुरा अमेरिकी समाजले राम्ररी बुझेको छ । यो कारणले गर्दा पनि जस्तोसुकै कार्य गर्दा पनि कार्य गर्ने व्यक्तिले पूर्ण स्वाभिमानका सुम्पिएको कार्य गर्दछ । काम दिने व्यक्तिले पनि कामको आधारमा कामदारलाई कुनै पनि किसिमले हेप्ने कार्य गर्दैन ।
अमेरिकालाई विश्वको नै सर्वाधिक धनी राष्ट्र हुन अमेरिकाको जातिविहीन समाजले विशेष मदत पु¥याएको छ ।