प्रस, वीरगंज, २७ असोज/
पावरहाउस चोकदेखि पूर्वपट्टि रहेको तराई हस्पिटलमा पाठेघरको शल्यक्रिया गराएकी एकजना महिलाको ज्यान जोखिममा परेको समाचार छ ।
पाठेघरको शल्यक्रिया गर्ने क्रममा अस्पतालकी चिकित्सक डा तरुन्नुम खातुनले मूत्रथैली काटिदिएकीले सो महिलाको ज्यान जोखिममा परेको बताइएको छ ।
महिलाका आफन्तजनले घटनापछि अस्पतालमा विवाद गरेका थिए ।
बुधवार राति आफन्तले अस्पतालमा विवाद गरेपछि प्रहरीले साम्य गरेको थियो । वीरगंज महानगर–१४ पिपरा निवासी रामबालक पण्डितकी ४३ वर्षीया पत्नी सीमा देवीको पाठेघरको शल्यक्रिया गर्ने क्रममा डा खातुनको टीमले उनको पिसाब नली काटेको आफन्तजनको आरोप छ । महिलालाई थप उपचारको लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल पु¥याइएको छ ।
सीमा देवीलाई पाठेघरको शल्यक्रियाको लागि तराई अस्पतालमा मङ्गलवार दिउँसो १० बजे भर्ना गरिएको र त्यसको साढे नौ घण्टापछि शल्यक्रिया गरिएको थियो । शल्यक्रिया भएको १८ घण्टापछि पनि सीमा देवीलाई पिसाब नभएपछि उनको मूत्रथैली काटिएको रहस्योद्घाटन भएको
हो ।
यसबारेमा अस्पतालका डा जमीनले सीमा देवीको मिर्गौलाको आकार घटबढ भइरहेकाले अविलम्ब काठमाडौं लैजान सुझाव दिएको बताए । उनलाई काठमाडौं लगिएको छिमेकी कमसुलले बताए ।
यसबारे डा खातुनले माइक्रोस्कोपबाट चेकजाँच गर्दा समस्या देखिएपछि काठमाडौं लैजान सुझाव दिएको बताइन् ।
सोही रिपोर्ट वीरगंजका एकजना सर्जनले हेरेपछि सीमादेवीको शल्यक्रिया गरिएको पाठेघरको नली पिसाबकै नलीमा बाँधिएकोले समस्या भएको बताएको सीमाका छोरा कृष्णमुरारी प्रजापतिले बताए ।
छोरा प्रजापतिले अस्पतालका तीन/चारजना चिकित्सकले शल्यक्रियाको क्रममा गलती गरेको स्वीकारेको दाबी गरेका छन् ।
अस्पतालका मार्केटिङ र प्रशासनिक शाखाका कर्मचारी दिलीपराउत कुर्मीले शल्यक्रियाको बेलामा पिसाबको नली बाँधिएको बताए । उनले पिसाबको नलीको बनावट अलि गा¥हो खालको रहेकोले शल्यक्रिया गर्न पनि धेरै समय लागेको भन्दै अस्पतालको लापरवाहीबारे ढाकछोप गर्न खोजे । उनले एक/दुईवटा मामिलामा यस प्रकारको समस्या देखा परिरहेको प्रतिक्रिया दिंदै घटना सामान्य रहेको बताए ।