प्रस, परवानीपुर, २७ असोज/

पाँचौं संस्करणको प्रधानमन्त्री कपको लागि हरेक प्रदेशको जिल्ला तहमा उत्कृष्ट खेलाडी चयनको प्रक्रिया शुरू भएको छ । कात्तिक १२ देखि २५ सम्म काठमाडौंमा हुने प्रम कपको लागि अहिले मधेस प्रदेशका आठ जिल्लामा पनि खेलाडी छनोटको काम भइरहेको बताइएको छ ।

मधेस प्रदेशका खेलाडी छनोट समितिका संयोजक मुर्तुजा हवारीका अनुसार असोज २७ देखि २८ गतेसम्म जिल्लाबाट १४ जना स्वायडमा र वैकल्पिक चारजना गरी कुल १८ जना खेलाडी छनोट गरिने र असोज ३० गतेपछि मधेस प्रदेशको टीम छनोटको लागि खेलहरू खेलाइनेछन् । उनले पर्सामा यसपालि ३२ जना उत्कृष्ट खेलाडी छनोट क्याम्पमा सहभागी भएको र उत्कृष्ट १८ जना छनोट गरिने बताए ।

पर्साबाट हासिम अन्सारी, सुरज पटेल, सैफुल्ला अन्सारी, सन्तोष कार्की, नसरुद्दीन अन्सारी, सोनु शर्मा, समसाद मन्सुरी, रञ्जीत कुमार टीममा पर्ने सम्भावना देखिएको छ । स्थानीय, प्रदेश र केन्द्र सरकारको उदासीनताका कारण पछिल्लो समय मधेस प्रदेशमा राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा कमी आएको बताइएको छ ।

मधेस प्रदेशमा टर विकेट(अन्तर्राष्ट्रियस्तरको माटोको विकेट) नभएको कारण यहाँका खेलाडीलाई काठमाडौं र पोखरामा खेल्न समस्या हुने गरेको छ । साथै तीन तहका सरकार खेलाडीहरूको सेवासुविधा र स्वास्थ्यको लागि खासै गम्भीर नभएकाले क्रिकेटप्रति खेलाडीहरूको आकर्षण घट्दै गएको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here