श्रीसिया नदी प्रदूषणमुक्त गर्ने कुरा बोलीमा मात्र सीमित भएको छ । करीब तीन दशकदेखि श्रीसिया नदी प्रदूषणको शिकार हुँदै आएको हो । यो नदी बाराबाट शुरू हुने र पर्सा हुँदै छिमेकी भारतको रक्सौल भएर बग्दै गएको छ । कुनै बेला यो नदीको पानी स्वच्छ थियो र यससँग जोडिएका गाउँबस्तीका मानिसहरूको दैनिक कार्य नित्य स्नान, पूजापाठ, लुगा धुने, पानी पिउने, खेत सिंचाइ गर्नेदेखि पशुहरूले पनि यस नदीको पानीबाट आफ्नो आवश्यकता पूरा गर्दथे । अहिले नदी बग्ने मात्र गरेको छ र यस आसपासका उद्योगहरूबाट निस्कने फोहर वस्तु विसर्जन गर्नेबाहेक आममानिसहरूको कुनै पनि कार्य हुने गरेको छैन । सिमरादेखि वीरगंजसम्मका उद्योगहरूले श्रीसिया प्रदूषित गरेको कुरामा दुईमत छैन । यसो त उद्योगहरू सञ्चालन गर्दा वातावरण प्रदूषणको मापदण्ड तोकिएको छ र नदीसँग जोडिएका उद्योगहरूले आफ्नो उद्योगबाट निस्कने फोहर पानी प्रशोधन गरी नदीमा फाल्ने लिखित सम्झौता गर्दै आएका छन् । उनीहरूलाई उद्योग सञ्चालनका लागि स्वीकृति दिने निकायले पनि प्रदूषणको यो मापदण्ड पूरा भए नभएको स्थलगत निरीक्षण गरेर वातावरण प्रदूषण नहुने स्वीकृति प्रदान गर्दै आएका छन् ।
उद्योगहरूमध्ये सूर्य नेपालले मात्र आफ्नो उद्योग परिसरमा पानी प्रशोधन कार्य गर्दै आएको छ । यस उद्योगले प्रशोधित पानी पिउनेबाहेक उद्योगका अन्य प्रयोजनमा खर्चिन्छ । बाँकी उद्योगहरूमध्ये दुई दशकअघि नारायणी लेदर मिलले पहिलोचोटि पानी प्रशोधनको प्रयास गरेको थियो । तीनवटा उद्योगको फोहर पानी मिलमा जडित पानी प्रशोधन केन्द्रमा सञ्चित गर्ने र प्रशोधन गरेर श्रीसिया नदीमा फाल्ने गरिन्थ्यो । तर यो कार्य पनि एकाध वर्षभन्दा बढी टिकाउ भएन । अन्य उद्योगहरूले फोहर पानी सीधै श्रीसिया नदीमा विसर्जन गर्ने गरेकाले नारायणी लेदर मिलले धनराशि खर्चेर पानी प्रशोधन गरी नदीमा फाल्ने झन्झटलाई निरन्तरता दिएन र अहिले त्यहाँको पानी प्रशोधन केन्द्र १८ वर्षदेखि प्रयोगविहीन भएको छ र अब त्यसमा झाडीहरू उम्रेर सञ्चालन गर्न सक्ने अवस्थामैं छैन । श्रीसिया नदी छिमेकी भारत जाने हुँदा एडिबीको सहयोगमा वीरगंज महानगरका घरहरूमा रहेका शौचालयको पानी भूमिगत नालामार्फत श्रीसिया नदीमा विसर्जन गर्दा अन्तर्राष्ट्रिय कानून अनुसार पानी प्रशोधन गर्नुपर्ने बाध्यकारी अवस्था भएकोले वीरगंज–१ छपकैयामा पानी प्रशोधन केन्द्र निर्माण गरिएको थियो । तर सो पानी प्रशोधन केन्द्र पनि बढी क्षमताको भएकोले अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । महानगरमा रहेका घरहरूका शौचालयबाट निस्कने फोहर पानी केन्द्रलाई आवश्यकभन्दा एकदमै न्यून भएकोले वर्षात्को बखत आउने बाढीबाहेक पानी प्रशोधन केन्द्र सञ्चालनमा आउनै सकेको छैन । यस्तो प्राविधिक त्रुटिपूर्ण निर्माण गर्ने विरुद्ध पनि कारबाही हुनुपर्ने हो ।
श्रीसिया नदीको पानी अहिलेको अवस्थामा प्रयोग गर्न सकिने कल्पना पनि गर्न सकिंदैन । सो नदी प्रदूषित भएको कारण आसपासका बस्तीहरू पनि प्रभावित भएका छन् । गर्मीयाममा हावा चल्दा प्रदूषणले घरमा बसी नसक्नुहुन्छ । यत्रो विघ्न प्रदूषित भएको श्रीसिया नदीलाई स्वच्छ बनाउने कार्य गफमा मात्र सीमित छ । ज्ञापन, धर्ना दिने, प्रदर्शन गर्ने, रिपोर्ट बनाउने, प्रतिवेदन बुझाउने जस्ता कार्यहरू मात्र हुँदै आएका छन् । तर श्रीसिया नदीको प्रदूषणलाई सदाको लागि कसरी बिदा गर्ने भन्ने विषयमा कसैले ठोस कदम भने चाल्न सकेको छैन, जसले गर्दा नदी प्रदूषणयुक्त नै छ ।