नेपालमा यसै त राजनीति गतिशील थिएन, अहिले गति लिए पनि उल्टो दिशातिर लागेको छ । अहिले नेपालमा निर्वाचनको रन्को चढेको छ । राजनीतिक खेलाडीहरू आज उम्मेदवारी भर्दैछन् । यस बेला उनीहरूले आफ्नोबाहेक अरूको सुर्ता लिने कुरा पनि आएन । सुर्ता यस कुराको कि देशमा जताततै डेंगु रोगले आक्रान्त पारेको छ । धेरै मानिसको मृत्यु पनि भइसकेको छ । तर देशमा चुनाव लागेको छ । चुनाव खासमा ती व्यक्तिहरूलाई लागेको छ, जो देशको स्वास्थ्यसँग पनि सरोकार राख्दछन् । देशमा अहिले पानी परिरहेको छ, सडकहरूको अवस्था दुर्दशापूर्ण छ, चाडबाडको मध्यमा मानिसको आवागमन हदसम्म बाक्लिएको छ । यसो हुँदा चारैतिर आउने–जाने क्रम बढेको छ । नतीजा सामुन्ने छ, ठाउँ–ठाउँमा पहिरो गएको छ, बाढी आएको छ । सवारी दुर्घटनाहरू भइरहेका छन्, मानिस मरिरहेका छन्, तर देशमा निर्वाचनको चहलपहल बढेको छ, देशलाई प्रशासनिक दिशा दिने व्यक्तिलाई चुनाव रोग लागेको छ । चुनाव रोग लाग्ने तिनै हुन्, जसले सडक बनाउने योजना पास गर्छन्, देशको भौगोलिक अवस्था अनुसार सवारी साधन मगाउने नीति बनाउँछन् ।

देश चलाउने नेताहरूले हो । अन्य देशमा नेताहरू फेरिइरहन्छन् । एउटा जान्छ, अर्को आउँछ । हाम्रो देशमा भने शीर्षमा बसेका नेताहरू कहिले जाँदैनन्, कालले लगेबाहेक । माथिका जाँदैनन्, त्यसैले तलका कहिले माथि पुग्न सक्दैनन् । यसले तलकामा असन्तोष उम्रन्छ । उनीहरू भ्यागुताजस्तै यताबाट उता र उताबाट यता गर्दै माथि पुग्ने दाउ खोज्छन् । शीर्षमा पुग्न खोज्छन्, तर कुनै जुक्ति चल्दैन । बढीमा रिसाउँछन्, बिरालोझैं खामो चिथोर्छन् । कारण शीर्षहरूले जसै भेउ पाउँछन् उनीहरूको हैकम हल्का हुन थाल्यो, तत्काल गठबन्धन बनाउँछन् । भन्नका लागि गठबन्धन पार्टीलाई बलियो बनाउनका लागि हो । वस्तुतः उनीहरू आफ्नो शीर्ष स्थान जोगाउन गठबन्धन गर्छन् । शीर्षमा बस्नेहरू योग्यता, काम वा व्यक्तित्वको बलमा शीर्षमा बसेका होइनन्, कालताली परिरहन्छ । बालकृष्ण समको नियमित आकस्मिकताजस्तै । यसै गठबन्धनले गर्दा देशमा सयौं राजनीतिक पार्टी भए पनि मृुख्य दुई पार्टीजस्तो देखिएको छ । एउटा गठबन्धन नं १ र अर्को गठबन्धन नं २ । गठबन्धन त झन्डै समान विचार, समान कार्यशैलीबीच हुने कुरा हो, यहाँ विपरीत विचार र विपरीत कार्यशैलीबीच गठबन्धन भएको छ । कुनै बेला तराई–मधेसको जनतालाई पाकेको आम भन्ने नेताको पार्टीसँग मधेसको लडाइँ लड्न तम्सिएको पार्टीले गठबन्धन गरेको छ । टाउको मूल्य तोक्ने र टाउको जोगाउनेबीच गठबन्धन भएको छ । राजनैतिक नैतिकको यस्तो ह्रास विश्वमा विरलै देख्न पाइन्छ ।

यस हिसाबले शीर्ष नेताहरूको जीत पक्का भएको मान्नुपर्छ, यदि नेपाली मतदातामा कुनै दैवी चमत्कारले सद्बुद्धि पलाएन भने । किनकि नेपालीहरू बलेको आगो ताप्न विश्वास गर्छन् । यी अहिले पनि बलिरहेका दाउरा हुन् । तर यस गठबन्धनले पार्टीहरूलाई बन्धनहीन बनाउने खतरालाई कसैले देखेजस्तो छैन । कहिले कुन छापमा, कहिले अर्कै छापमा मोहर हान्दाहान्दा कार्यकर्ताले आफ्नो मूल छाप कुन हो  बिर्सन बेर छैन । राजनीति वर्णशङ्कर बनाइँदै छ । मानौं नेपालका राजनीतिक दलहरू प्रजातन्त्र होइन, वंशवाद र व्यक्तिवादद्वारा पोषित छन् । व्यक्ति पार्टी भएको छ, पार्टी त तिनका खेतालाहरूको समूह हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here