प्रस, वीरगंज, २२ असोज/
सत्ता गठबन्धनले पर्सामा केही सिटमा उम्मेदवार टुङ्गो लगाएको छ भने केहीमा अबेर रातिसम्म टुङ्गो लगाउने कसरतमा जुटेको छ । सत्ता गठबन्धनबाट बाहिरिएर जसपाले नेकपा एमालेसँग तालमेल गरेपछि सत्ता गठबन्धनमा छिरेको लोसपाले पनि पर्साको चार प्रतिनिधि सभा र ८ प्रदेशसभा क्षेत्रमा उम्मेदवार टुङ्गो लगाउन अप्ठ्यारो परेको र निरन्तर छलफल भइरहेको सत्ता गठबन्धनका प्रमुख घटक नेपाली काङ्ग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले बताए ।
उनका अनुसार प्रतिनिधिसभातर्फ पर्साको चारवटा निर्वाचन क्षेत्रमा तीन वटा काङ्ग्रेस र एउटा लोसपालाई दिने छलफल भइरहेको छ । त्यसैगरी ८ वटा प्रदेशसभामा चारवटा काङ्ग्रेस, दुईवटा लोसपा र दुईवटा माओवादी केन्द्रलाई दिने छलफल भइरहेको छ ।
प्रतिनिधिसभातर्फ पर्सा २ मा अजयकुमार चौरसिया, ३ मा सुरेन्द्रकुमार चौरसिया, ४ मा रमेश रिजालको टिकट लगभग पक्का भइसकेको बताए । पर्सा १ मा लोसपाका निवर्तमान सङ्घीय सांसद लक्ष्मणलाल कर्णलाई टिकट दिने सहमति भएको छ । त्यसैगरी प्रदेशसभातर्फ लोसपाले पर्सा १ (ख) र २ (ख), माओवादी केन्द्रले १ (क) र ४ (ख) लिने लगभग पक्का भएको छ । काङ्ग्रेसले २ (क), ३ (क),(ख) र ४ (क) पाउने पक्का भएको छ । लोसपाका ओमप्रकाश सर्राफले सत्ता गठबन्धनबाट पर्सा १ (ख), निवर्तमान प्रदेशसांसद रमेश कुर्मीले २ (ख), माओवादी केन्द्रका रहबर अन्सारीले १ (क), जसपाबाट माओवादी प्रवेश गरेका वीरेन्द्र यादवले ४ (ख) बाट टिकट पाउने पक्का भइसकेको चर्चा छ ।
नेपाली काङ्ग्रेसबाट ३ (ख)बाट नेका पर्सा जिल्ला सभापति जनार्दनसिंह क्षत्री र ४ (क)बाट निवर्तमान प्रदेश सांसद शङ्कर चौधरीले टिकट पाउने पक्का भइसकेको छ । २ (क) मा निवर्तमान प्रदेश सांसद राजेश्वरसाह तेली र बहुदरमाई गापाका पूर्व अध्यक्ष नितेन्द्र साहतेलीमध्ये एकजनाले टिकट पाउने चर्चा छ भने ३ (क) मा काङ्ग्रेसबाट उम्मेदवार टुङ्गो लगाउन बाँकी छ ।
पर्सामा रोचक प्रतिस्पर्धा हुने सम्भावना
पर्सामा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा रोचक प्रतिस्पर्धा हुने अडकलबाजी गर्न थालिएको छ । प्रतिनिधिसभातर्फ सबै उम्मेदवार हेबिवेट छन् ।
पर्सा १ बाट एमाले–जसपाका प्रदिप यादवको सत्ता गठबन्धनबाट लक्ष्मणलाल कर्णसँग प्रतिस्पर्धा हुने देखिन्छ भने २ मा जसपाका सुरेन्द्रप्रसाद कुर्मी र नेकाका अजयकुमार चौरसिया, ३ मा एमालेका राजकुमार गुप्तासँग नेकाका सुरेन्द्र चौधरी, ४ मा एमालेका जालिम मियाँ र काङ्ग्रेसका रमेश रिजालबीच कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।