चिरञ्जीवी सापकोटा, ठोरी, १५ असोज/
विजयादशमीको पावन अवसरमा ठोरी गाउँपालिका–२ इलाका प्रहरी कार्यालय अगाडिको फूटबल मैदानमा वनशक्ति युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको दशैंकप नकाउट फूटबल प्रतियोगिताको दोस्रो दिनको क्वाटरफाइनल खेलमा तमुब्वायज युवा क्लब र आयोजक वनशक्ति युवा क्लब ए विजयी भएका छन् ।
आजको पहिलो क्वाटरफाइनल खेलमा तमु ब्वायज युवा क्लब ठोरी–१ ले समाज जागरण युवा क्लब ठोरी–३ लाई ५–० फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । तमु ब्वायज युवा क्लबले आज जितेसँगै सेमिफाइनलमा आयोजक वनशक्ति युवा क्लब बीसँगको मुकाबिला पक्का भएको छ । तमु ब्वायजलाई सेमिफाइनलसम्म पु¥याउन जर्सी नम्बर १३ का विनोद शाही, जर्सी नम्बर १० का अपिल भट्टराई, जर्सी नम्बर ७ का सतिस थापामगर, जर्सी नम्बर ९ का समीर थापामगर र जर्सी नम्बर ८ का मन्दिप थापाले समान एकएक गोल गरेका थिए ।आजको पहिलो क्वाटर फाइनल खेलको म्यान अफ द म्याच तमु व्बायज युवा क्लबका जर्सी नम्बर १० का अपिल भट्टराई घोषित भए ।
आजै भएको आयोजक वनशक्ति युवा क्लब ए ठोरी २ र सनराइज युवा क्लब ठोरी ३ रामनगर बीचको दोस्रो तथा अन्तिम क्वाटरफाइनल खेलमा आयोजक वनशक्ति युवा क्लब ए ठोरी २ ले सनराइज युवा क्लब ठोरी ३ लाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा थ्रीस्टार युवा क्लबसँग भेट पक्का गरेको छ । वनशक्ति युवा क्लबलाई सेमिफाइनलमा पु¥याउन जर्सी नम्बर १० का राज तामाङले २ गोल र जर्सी नम्बर ११ का मन्दिप तामाङले एक गोल गरे भने सनराइज युवा क्लबका जर्सी नम्बर २ का सङ्गम लामाले सान्त्वना गोल गरेका थिए । आजको दोस्रो खेलको म्यान अफ द म्याच वनशक्ति युवा क्लबका जर्सी नम्बर १० का राज तामाङ घोषित भए ।
भोलि (फूलपातीको दिन) कुनै खेल हुने छैन भने पर्सि महाष्टमीको दिन दुवै सेमिफाइनल खेल हुनेछन् । १७ गते सोमवार हुने पहिलो सेमिफाइनल खेल आयोजक वनशक्ति युवा क्लब बी ठोरी २ र तमु ब्वायज युवा क्लब ठोरी १ बीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल थ्रीस्टार युवा क्लब ठोरी १ र आयोजक वनशक्ति युवा क्लब ए ठोरी २ बीच हुने आयोजक समितिका कोषाध्यक्ष विशाल क्षत्रीले जानकारी दिए ।
१६ ओटा क्लबको सहभागिता रहेको फाइनल खेल असोज २१ गते हुनेछ भने विजेतालाई नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ तथा उपविजेतालाई नगद रु ३० हजार, शिल्ड, मेडल एवं प्रमाणपत्र प्रदान गरिने क्षत्रीले जानकारी दिए ।