प्रस, वीरगंज, १५ असोज/
पर्सा क्षेत्र नं. १ मा प्रतिनिधिसभाको प्रत्यक्ष चुनाव लड्न नेपाली काङ्ग्रेसका नेता अजयकुमार द्विवेदी प्रयासरत रहेका छन् ।
केही दिनदेखि टिकटकै लागि काठमाडौं बसाइँमा रहेका द्विवेदीले आगामी चुनावमा जुन पनि पार्टीबाट चुनाव लड्न प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतीक दैनिकसँग शनिवार साँझ फोन सम्पर्कमा उनले आगामी मङ्सिर ४ गते हुने चुनावमा जसरी पनि चुनाव लड्ने मनःस्थितिमा रहेको जानकारी दिए ।
“मेरो सबभन्दा पहिलो रोजाइ नेपाली काङ्ग्रेस नै हो, काङ्ग्रेसले टिकट दियो भने काङ्ग्रेसबाट लड्छु, न दिए अन्य विकल्पबारे पार्टीका साथीहरूसँग छलफल भइरहेको छ”–उनले भने ।
उनले नेकपा एमाले, जसपा र स्वतन्त्रबाट पनि चुनाव लड्न साथीहरूको सुझाव आइरहेको अवस्थामा भोलिको दिनमा जे पनि हुन सक्ने धारणा व्यक्त गरे । अहिले नेपाली काङ्ग्रेस नेतृत्वको सत्ता गठबन्धन टुट्ने मोडमा रहेको बताउँदै यदि गठबन्धन रहेन र पार्टीले मलाई नै एकचोटि टिकट दियो भने चुनाव लड्न उत्सुक रहेको बताए ।
पर्सा क्षेत्र नं. १ बाट उद्योगपति एवं संविधानसभा सदस्य अनिल रूँगटालाई टिकट पाए भने के गर्ने प्रश्नमा उनले भने–“रूँगटाजी, समानुपातिकमा गइसक्नु भएको छ । त्यस कारणले पार्टीको नेता भनेको म नै हो, मेरो नाम पनि सिफारिश भएको छ त्यसकारण पार्टीले मलाई नै टिकट दिन्छ भन्ने कुरामा म विश्वस्त छु ।”
केही दिनभित्र द्विवेदी नेकपा एमालेमा प्रवेश गरेर एमाले पार्टीको उम्मेदवार बनी चुनाव लड्ने चर्चा छ ।