प्रस, वीरगंज, १४ असोज/
पर्साको पकहामैनपुर गाउँपालिका– ४ का अध्यक्ष ढेरी यादवले खरीद गरेको ग्याँस तथा चुल्हो विगत दुई वर्षदेखि वडा कार्यालयमैं लुकाएर राखेको स्थानीयहरूले आरोप लगाएका छन् ।
आर्थिक वर्ष २०७७/७८ मा रु १९ लाख तथा २०७८/८९ मा रु १५ लाख रुपैयाँको ग्याँस तथा चुल्हो खरीद गरी वितरण गर्ने काम छुटाए पनि वडाध्यक्ष यादवले थोरै मात्रामा ग्याँस तथा चुल्हो खरीद गरेको देखिन्छ ।
खरीद गरिएका ग्याँस तथा चुल्हो दुई वर्षदेखि वडा कार्यालयमा थन्काएर राखेको तर विरतरण नगरेको गाउँलेहरूको आरोप छ । स्थानीयहरूले पटक–पटक वडादेखि गापाको कार्यालयमा पुगी ग्याँस र चुल्हो वितरण गर्न पटक–पटक आग्रह गरे पनि वडाध्यक्ष यादवले नटेरेको आरोप लगाएका छन् ।
स्थानीय चुनावलाई लक्षित गरी खरीद गरिएका ग्याँस र चुल्हो अहिले बिगँ्रदै गइरहेको उनीहरूको आरोप छ । लक्षित समूहलाई मात्र बाँड्नुपर्ने नियम भएपनि वडा कार्यालयले सबै घरमा पुग्नेगरी ग्याँस र चुल्हो खरीद गर्ने कर्मचारीहरूले बताएका छन् ।
गत वर्ष विनियोजित गरेको रकमभन्दा बढी ग्याँसको मूल्य बढेको कारण आवश्यकता अनुसार ग्याँस खरीद गर्न नसकेकोले चालू आवमा थप रकम विनियोजित गरी ग्याँस र चुल्हो खरीद गरी वितरण गर्ने कर्मचारीहरूले दाबी गरेका छन् । वडाध्यक्ष यादव पुनः निर्वाचित भएका हुन् । उनको हैकमबाजीका कारण ग्याँस र चुल्हो वितरण नभएको गाउँलेले बताए । बढी दिन गोदाममा ग्याँस र चुल्होलाई थन्काएर राख्दा बिग्रन सम्भावना रहेकोले तत्काल वितरण गर्नुपर्ने गाउँलेहरूले बताए ।