• राजेश मिश्र

 “डाइन भतर कटनो कवन गुन सिखली

झिझिया पर बानवा चलइलस रे…

हमनी से भइल बा कवन गलतिया

हम के नजरिया लगवलस रे…”

हाँस्दै, खेल्दै र झिझिया गीत गाउँदै युवतीहरूको समूह गाउँमा डुलिरहेको थियो । झिझियाको गीत गुञ्जनसँगै बीचबीचमा मेलापात जानेबारे पनि प्रसङ्ग चलिरहन्थ्यो । माटोको घैंटोमा असीमित छिद्र थियो । सोहीभित्र दियो जलिरहेको थियो । घैंटोको माथिबाट ढकनाले छोपिएको थियो । युवतीहरूले आलोपालो गरी झिझिया शिरमा राख्थे । कसैले छिद्र गन्ती ग¥यो भने शिरमा झिझिया बोकेकी युवतीको मृत्यु हुने सामाजिक मनोविज्ञान पाइन्छ । त्यस कारण युवतीहरू झिझिया निरन्तर हल्लाइरहन्छन् ।

युवतीहरूको समूहबाट एक्कासि आक्रोशित स्वर गुञ्जित भयो, “कवन पादना पथल चलइलख
रे !” (कसले ढुङ्गाले हिर्कायो रे !) भन्दै युवतीहरूबीच खैलाबैला मच्चियो । धन्न झिझिया फुटेको थिएन । शरारती तŒवहरूमाथि युवतीहरू आक्रोशित भए । झिझियामाथि ढुङ्गा प्रहार गर्ने तŒवहरूलाई भाँतीभाँतीका शाप मिश्रित शब्दवर्षा भइरहेको थियोे । कसले ढुङ्गाले हिर्कायो ? को हो ? कसको छोरा हो ? उसको पहिचान जान्ने उद्देश्यले झिझिया गीतको उत्सुकतामा केहीबेर विराम लाग्यो ।

धेरैबेरपछि आक्रोशबाट सामान्य भएका युवतीहरू पुनः झिझिया गीत गाउँदै र नाच्दै रमाउन थाले । गीत गाउँदै घरघर र द्वारद्वार जान थाले ।

 “घरे–घरे घूमी हमनी खेलिने झिझियावा

दियारा के देले छलकवलस रे…

ओझावा से कहेम हम सुन सब बतिया

कोइन तुरी मारी के बेलवलस रे…”

अहिले युवतीहरू पूर्णरूपेण सजग थिए । झिझिया युवतीहरूको सुरक्षा घेरामा अघि बढिरहेको थियो । केही युवतीहरूको आँखा सम्भावित हर्कतमाथि केन्द्रित थियो । केही वयस्कजनले ‘म छु नि’ भन्दै युवतीहरूलाई हौसला दिंदै थिए । चार/पाँचजनाको वयस्क समूहमध्ये एकाधजना जिस्काउने प्रकृतिका थिए । एकजनाले जिस्काउने पारामा ‘एक, दुई, तीन…’ जोडजोडले उच्चारण गर्दै घैंटोको छिद्र गन्ती गरेझैं अभिनय गर्न थाले । युवतीहरूलाई साँच्चिकै छिद्र गन्ती गरेझैं लाग्यो र बेस्सरी झिझिया हल्लाउँदै अघि बढ्न थाले । कसैले ख्यालख्यालमा पनि गन्ती गर्न थाल्यो भने युवतीहरूलाई साँच्चिकै छिद्र गन्ती गरेको हो कि भन्ने लाग्छ र डराउँछन् । त्यस कारण तीव्र वेगमा झिझिया हल्लाउने गर्दछन् । यसरी दशहराको प्रत्येक रात झिझियाको गीत गुञ्जनसँगै हाँसो र ठट्टा पनि हुने गर्दछ ।

झिझिया

दशहराको पावन पर्वसँगै परापूर्वकालदेखि मनाउँदै आइरहेको लोकसंस्कृति हो– ‘झिझिया’ । झिझिया मधेस प्रदेशको महŒवपूर्ण लोकसंस्कृति अन्तर्गत पर्दछ । मधेस प्रदेशका प्रत्येक जिल्लामा झिझिया उत्साहपूर्वक मनाइन्छ । यसका साथै झिझिया भारतको बिहार तथा उत्तरप्रदेश राज्यमा पनि मनाइने लोकसंस्कृति हो । स्थान अनुसार रीतिथितिमा अलिअलि भिन्नता पाइन्छ । युवतीहरू उत्साहपूर्वक झिझिया खेल्दै र गीत गाउँदै घरघर जान्छन्् । झिझिया गाउने युवतीहरूको समूहलाई गाउँवासीले गच्छे अनुसार नगद वा अन्नपात कोसेली दिने चलन छ ।

दशहराको दोस्रो दिन कामविशेषले गाउँको भ्रमण गरेर वीरगंज फर्किंदै गर्दा गोधूलि भइसकेको थियो । एकाधवटा गाउँमा ससाना नानीहरूले असीमित छिद्र भएको माटोको घैंटो शिरमा बोकी झिझिया गीत गाइरहेको दृश्य देखेर विगत स्मरण भयो । मोबाइलको ब्याट्री सकेर बन्द भएकोले तस्वीर खिंच्न सकिनँ । म बाल्यकालमा विलीन भएँ । उहिले घटस्थापनादेखि दशमीसम्म गाउँदेहातमा झिझिया हेर्न पाइन्थ्यो । वर्तमान परिप्रेक्ष्यमा विभिन्न कारणले झिझिया दुर्लभ संस्कृतिमा विलय हुन थालेको छ ।

मूल्याङ्कन गर्दा पुरातन संस्कृति विलीन हुन लागेको आभाष हुन्छ । बाल्यकालताका फुपू र दिदीबहिनीहरू दशहराअगावैदेखि झिझियाबारे चर्चा गर्थे । घटस्थापनाको एक दिनअगावै झिझियाको लागि चाहिने माटोको घैंटो, दियो र तेल आदिको प्रबन्ध गरिन्थ्यो । घटस्थापना भइसकेपछि रातिको प्रतीक्षामा दिदी–बहिनी उत्साहित रहन्थे ।

गाँउहरूमा महिलाहरूको समूहमा शिरमा असीमित छिद्र भएको माटोको घैंटोभित्र एउटा बलिरहेको दियो राखेर ढकनाले छोपिन्थ्यो । झिझिया लिएर घरघर घुम्दै, नृत्य गर्दै, गाली मिश्रित लोकगीत गाउँदै डुलिरहेको दृश्य अहिले लुप्त प्रायः भइसकेको छ । कथङ्कदाचित् ढुङ्गा वा गुलेलीले हानेर घैंटोमा हिर्काउने जस्ता हर्कत गर्ने युवाहरूको पनि कमी थिएन । विना कुनै वाद्ययन्त्रको झिझिया गीत कति कर्णप्रिय लाग्छ भन्ने कुरा बयान गर्न कठिन छ ।

दुर्गापूजाको अवसरमा हुने यस लोकनृत्यमा महिलाहरूको सहभागितामा हुन्छ । नृत्यको दौरान महिलाहरूले ‘झिझिया’ लिएर सखी–सहेलीको झुन्डमा नृत्य गर्छन् । यस नृत्यमा केटीहरूले एकसाथ ताली बजाउँदै तथा बिस्तारै हिंड्दै गीत गाउने यो लोकपरम्परा अत्यन्तै अद्भुत र आकर्षक लाग्छ ।

दशहराको समयमा तन्त्रमन्त्र, सिद्धि, जादूटोना आदिको पनि बोलबाला रहन्छ । यस समय बोक्सी (तन्त्रमन्त्रले मानिसलाई कुभलो गर्ने महिला)ले पनि मन्त्र साधना गर्ने जस्ता सामाजिक मनोविज्ञान पाइन्छ । हुनत आजको वैज्ञानिक परिवेशमा बोक्सी वा जादूटोना जस्ता भ्रम कुनै पनि दृष्टिकोणले मान्य हुनुहुँदैन । कुनै समय थियो, जतिबेला समाजमा जादूटोना र ओझागुनी (झाँक्री)को प्रकोप उच्च थियो । जस्तो माहोल थियो, सोही अनुरूप सामाजिक मनोविज्ञान
थियो । 

जादूटोनाको प्रभावबाट मुक्तिका लागि दशहराको दश दिनसम्म गाली गीत गाउँदै बोक्सीलाई तर्साउने चलन विद्यमान छ । यसका साथै ब्रह्मबाबासँग विनती गरिन्छ । ब्रह्मस्थानमा महिलाहरूले शिरमा ‘झिझिया’ राखेर गीत गाउँदै नृत्य गर्छन् । झिझिया खेल्दै युुवतीहरूले बोक्सीलाई गाली गर्दै आफ्ना भाइबन्धुकोे सुस्वास्थय र दीर्घायुको कामना गर्छन् । भनिन्छ कि नृत्य गरिरहेको बेला बोक्सीले झिझियाको छिद्र गिन्ती गरिहाल्यो भने उसको मन्त्रको प्रभावले नृत्य गर्ने युवतीको मृत्यु हुन सक्छ । त्यस कारण युवतीहरूले झिझियालाई निरन्तर हल्लाइरहन्छन् । स्थिर राख्दैनन् । सधैं घुमाइरहन्छन् कि कसैले छिद्र गिन्ती गर्न नसकोस् । बोक्सीमाथि गाली गीत गाइरहन्छन् कि कुनै पनि बोक्सी झिझियानजीक नआओस् ।

ओझेलमा लोकसंस्कृति

विजयादशमीको दिन झिझियालाई विसर्जन गरिन्छ । लुप्त भइरहेको झिझिया गीतको संरक्षणको आवश्यकता छ । यद्यपि कथङ्कदाचित् झिझिया स्टेज कार्यक्रमको रूपमा सीमित हुँदै गइरहेको छ । गाउँदेहातमा आज पनि झिझिया गीतको अस्तित्व पुरनियाहरूमा सीमित छ । यसको संयोजन गरिएन भने बिस्तारै अस्तित्वलोप हुने निश्चित छ । गाउँदेहातमा जसले यस संस्कृतिलाई संरक्षण गरिरहेका छन्, त्यो प्रसंशायोग्य छ ।

झिझिया एक पारम्परिक लोकनृत्य हो । जुन अहिलेका पुस्ताले बिर्सिंदै गइरहेका छन् । थाहा हुनु त परै जाओस्, आजको पुस्तालाई ‘झिझिया’ के हो भन्नेबारे पनि अपवादबाहेक थाहा नहोला । केही पुरनियाहरू होलान्, जसको स्मृतिमा अहिले पनि उहिलेको दृश्य अङ्कित होला । वर्तमान सेरोफेरोमा मोबाइल र इन्टरनेटमाथिको लिप्तताले लोकपरम्परा र संस्कृति लोपोन्मुख हुन थालेको छन् । झिझिया पनि यसबाट अछूतो छैन । आधुनिकताको असर झिझियामाथि परेको छ ।

स्थानीय सरकार सञ्चालन ऐनले लोकसंस्कृति संरक्षण गर्ने अधिकार पालिकाहरूलाई दिएको छ । खोजीनिती गर्ने हो भने लोकसंस्कृति संरक्षणको नाममा पैसा खर्च भइरहेको छैन भन्ने होइन । तर त्यो केवल संस्कृति संरक्षणको घोडा चढी बेरुजू रकम फछ्र्योट गर्ने उपायको रूपमा प्रयोग भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here