- सञ्जय साह मित्र
चाडपर्व दुई किसिमका छन् समाजमा । पहिलो शास्त्रीय र दोस्रो लोकपर्व । यी दुईमा कुन पुरानो हो भन्ने कुरामा मिहिन विचार गर्ने हो भने लोकपर्व नै पुरानो हुनुपर्ने सम्भावना बढी छ । सोझो बुझाइमा यो स्पष्ट हुन्छ कि पहिले मानिस पढेलेखेका थिएनन् । मानिसले लेख्न–पढ्न जानेपछि आफ्नो कुरा लिपिबद्ध गर्दै गएका हुन् । लेखाइ हुँदा नै कुनै कुरो स्थायी हुन पुगेको हो । वास्तवमा कतिपय कुरा अद्यपर्यन्त लिखित नभए पनि दैनिक व्यवहारमा रहेका छन् र तिनको अस्तित्व तथा महŒव पनि उत्तिकै छ । अहिले पनि यस्ता अनेक देवदेवी छन् जसलाई लोकदेवदेवी भनिन्छ र शास्त्रीय देवदेवीको पूजा पनि भइरहेको छ । शास्त्रीय देवदेवीको पूजा शास्त्रमा तोकिएको विधिविधान बमोजिम हुन्छ । शास्त्रमा लेखिएबमोजिम पूजाकर्म गरिन्छ ।
यदि चाडपर्वको चलनबारे हेर्ने हो भने कुनै पनि चाडपर्व कहिलेदेखि मनाउन थालियो भन्ने निश्चित छैन । कुनै पनि कर्म संस्कृतिको रूपमा मान्य हुन वर्षौं लागेको हुनुपर्छ । हाम्रो संस्कृतिमा समाविष्ट चाडपर्वहरूको प्रकृति विचार गर्ने हो भने एकै किसिमको वा एकै प्रकृतिको रहेको पाइन्न । कुनै चाडपर्व वा संस्कृतिमा निकै धेरै बन्धन रहेका छन् भने कुनैमा निकै खुलापन पाइन्छ । र चाडपर्वलाई पनि धार्मिक दृष्टिकोणले हेर्ने हो भने हाम्रा चाडपर्वमा सर्वत्र देवीदेवताको अस्तित्व स्वीकार गरिएको पाइन्छ । अझै यसलाई गहिरिएर विचार गर्ने हो भने हरेक चाडपर्वमा विशिष्ट देवीदेवताको पूजा हुन्छ । चाडपर्वहरू देवीदेवतासित सम्बन्धित भएजस्तै देवीदेवता पनि विशिष्ट चाडपर्वसित अन्तर्सम्बन्धित हुन्छन् । चाडपर्वको मूल्य र मान्यतामा पनि भिन्नता आउँछ । समयको अन्तराल तथा भूगोलको पृथकताले मुख्यगरी चाडपर्वको प्रकृति र मान्यतामा फरक ल्याउने रहेछ । दशैंको उद्भव र उत्पत्तिसम्बन्धी दुई किसिमका मान्यता प्रचलनमा रहेका छन् । दशैंमा दुर्गा भवानीको मूल पूजा गरिन्छ र दुर्गा भवानीले शुम्भ–निशुम्भजस्ता दैत्यलाई मारेको शास्त्रीय तर्क पाइन्छ । अर्को मान्यता राम–रावण युद्धसित पनि जोडिएको छ । हाम्रो समाजले मूलतः दुर्गा भवानीसित सम्बन्धित शास्त्रीय तर्कलाई आधार बनाएर पर्व मानेको देखिन्छ भने मुख्यगरी भारतका कतिपय स्थानमा विजयादशमीको दिन रावणको प्रतिमाको बध गर्ने चलन रहेको छ । यी दुई किसिमका मान्यताहरूमध्ये जुन मान्यता जहाँ बढी मानिन्छ, दशैं त्यसै अनुरूप हुने गर्दछ । फेरि लोकजीवनमा मनाइने दशैंको स्वरूप निकै फरक हुन्छ । लोकजीवनमा दशैंले छुट्टै प्रभाव पारेको हुन्छ । यद्यपि लोकदशैंको रङ भने बिस्तारै फिका पर्दै गएको छ ।
दशैं पनि दुई किसिमको हुने हाम्रो समाजको मान्यता छ । वर्षमा दुईपटक दशैं (चैते दशैं र शारदीय दशैं) मनाइन्छ । अहिले चैते दशैं मान्नेहरू बढिरहेका छन् । यसो भन्नुको अर्थ यो पनि हो कि चैतमा पनि दशैं हुन्छ । चैतमा पनि अब विधिविधान अनुसार धेरै ठाउँमा घटस्थापना गरेर नै दशैं मान्ने–मनाउने गरिएको पाइन्छ । यो चलन पनि दिनानुदिन बढिरहेको देखिन्छ । र पहिलेभन्दा असोजको दशैंलाई मान्नेहरू बढिरहेका छन् । एक हिसाबले अहिलेको दशैंले राष्ट्रिय स्वरूप लिइसकेको छ । कुनै दिन यस्तो पनि आउला कि चैतको दशैं र असोजको दशैं एक समान सबैले मान्लान् तर असोजको तुलनामा चैतको दशैं केही सानो यस अर्थमा पनि देखिन्छ कि असोजमा जति सहभागिता, भव्यता तथा अर्थतन्त्रमा हस्तक्षेप देखिन्न । यसै सन्दर्भले सम्भवतः दुई दशैंमध्ये असोजको दशैलाई बडादशैं भनिएको हुनुपर्छ । वा, दुई दशैंमध्ये पहिले कुन आरम्भ भएको हो भन्ने कुरालाई आधार मानेर असोजमा पहिले आरम्भ भएकोले यसलाई बडादशैं होला ? दुवै दशैंबीच केही महीनाको अन्तराल रहेको र एउटा दशैं गर्मीबाट जाडोतिर र अर्को दशैं जाडोबाट गर्मीतिर सङ्क्रमण गर्दै गरेको मौसममा हुने भएको पनि हो । अर्थात् ठूलो भव्यतासाथ मनाइने भएकोले असोजको दशैंलाई बडादशैं भनिएको हुनुपर्छ ।
दशैंको उत्पत्तिको विषयमा मतैक्य नहुनुले पनि यस कुरातर्फ सङ्केत गर्दछ कि सम्भवतः दशैं निकै प्राचीन पर्व हो । यसलाई मान्नेहरू विभिन्न कारणले बसाइँ सर्दै गए र कालान्तरमा यसको स्वरूपमा केही भिन्नता आउँदै गयो । मानिसको हजारौं वर्षको सांस्कृतिक यात्राको क्रममा पृथकता आउँदै गयो । यसरी घरीघरी ठाउँ सर्दै जाँदा र सामलको उपलब्धता–ह्रासले आफूसित जे जस्तो सामग्री छ तथा जे उपलब्ध हुन्छ, त्यसै स्थानीय–दोषको आधारमा यसले अनेकता पाउँदै गएको हुनुपर्दछ ।
अनुकरणमा पनि सिर्जनात्मकता हुन सक्छ । हरेक वर्ष उही मानिसले उही कामको अरूबाट वा स्वानुकरण गर्दा पनि केही भिन्नता आएको हुन्छ । यो भिन्नता जानेर वा नजानी भएको हुन सक्छ । फेरि अनुकरण गर्नेले पनि अर्को वर्ष अलिकति बिर्सेर वा अलिकति आफ्नो परिस्थिति अनुसार परिवर्तन गरेको हुन सक्छ । जबसम्म लिखित विधान हुँदैन, यस प्रकारको परिवर्तन नियमित भइरहन्छ । यसले गर्दा चाडपर्वको स्वरूपमा भिन्नता आउनु स्वाभाविक मान्न सकिन्छ । बडादशैंको उद्भव र प्रसारमा यो हुनुपर्छ । जहाँबाट दशैं मान्न शुरू गरियो, त्यति बेला दशैं मान्ने समुदाय सानो थियो होला र बिस्तारै बढ्दै गएको हुनुपर्छ । मानिस आफैंमा यायावर प्रवृत्तिको प्राणी हो । मानिस जहाँ पुग्दछ त्यहाँ उसले आफ्नो संस्कृति पनि लिएर जान्छ । अमेरिकामा समेत छठ पर्व हुनु यसको दृष्टान्त हो । दशैंको विस्तार पनि शास्त्रीय रूप धारण गरिनुभन्दा पहिलेदेखि नै मान्न थालिएको हो । सम्भवतः पछि यसको अभिलेखन भएको हो । यसकारण दशैंको लोक रूप र शास्त्रीय रूपमा केही भिन्नता देखिन्छ । सजिलै बुझिन सक्ने एउटा उदाहरण लिउँ । दशैंमा ग्रामदेवी भगवतीलाई पाठी बलि दिइन्छ भने दुर्गा मन्दिरमा बोको बलि दिइन्छ । दुवै चलन छ । यसरी मान्यताहरू हुर्किंदै जाँदा काल र स्थानले विशेष प्रभाव पारी फरक हुनु स्वाभाविक हो ।
अहिले केही दुई दशकमा दशैंको विस्तार भएको छ । अहिले मधेसी समुदायमा पनि धेरैको घरमा जमरा राखिन थालिएको छ । पहिले गाउँमा मुख्यगरी पण्डितजीको घरमा जमरा राखिन्थ्यो र सर्वसाधारण दशैंमा माईब्रह्ममा गएर पूजा गर्दथे । यसरी पूजा गर्नेको सङ्ख्या निकै कम हुन्थ्यो । शायद नै कोही व्रत बस्दथे । तर आजभोलि व्रत बस्ने महिला वा पुरुषको सङ्ख्यामा निकै वृद्धि भएको छ । सोझै नवरात्र सहेको वा नवरात्र गरेको भन्नेहरू धेरै छन् । यसरी नवरात्र गर्दा घटस्थापनादेखि नवमीसम्म अधिकांशले फलाहार गर्दछन् । अन्न र नून बार्दछन् । कतिपय चाहिं दिनमा एकचोटि मात्र खान्छन् र कतिपय हरेक दिन बिहान र बेलुका पूजा गरेपछि फलफूल खान्छन् । पहिलेदेखि नै यस पर्वलाई साधनाको पर्वको रूपमा मानिंदै आएको छ । आजभोजि तन्त्र साधना गर्नेहरूको सङ्ख्या निकै कम भएको छ तर दशैंको विस्तार निकै भएको छ । औपचारिक मेला लगाउने प्रचलन पनि धेरै बढेको छ । जहाँ मेला लगाउने काम हुन्छ, त्यो समाजमा दशैं अवधिभरि विचित्रको धार्मिक वातावरण हुन पुग्दछ । एक सय वर्षभन्दा बढी समयदेखि लगातार दुर्गा मेला लाग्दै आएको रौतहटको मत्सरी गाउँको दशैं धार्मिक तथा आध्यात्मिक दृष्टिकोणले निकै चर्चित रहेको छ ।
दशैंमा जहाँ सामूहिक दुर्गामेला लगाउने चलन छ त्यहाँको समाज दशैं अवधिभरि एक किसिमले परिवर्तन भएको अनुभूत हुन्छ । नवमी नआउन्जेल जुन गाउँमा दुर्गामेला लाग्दछ, त्यहाँ अधिकांश घरमा मासु पुग्दैन । कतिपय गाउँमा त औपचारिकरूपमैं माछामासु बेच्न रोक लगाएको पाइन्छ । यस्तो रोकले केही वर्ष निरन्तरता पाएपछि स्वतः संस्कृति बन्न पुग्दछ । अहिलेको दशैं अनेक दृष्टिकोणले हाम्रो समाजको अभिन्न अङ्ग बन्न पुगेको छ ।