प्रस, वीरगंज, ११ असोज/

वीरगंज महानगरपालिकाको कार्यालयले चालू आव २०७८/७९ को दुई महीनामा १२ करोड चार लाख ४७ हजार राजस्व सङ्कलन गरेको छ ।

वीरगंज महानगरको राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालू आवको साउन १ देखि असोज १० गतेसम्म महानगरपालिकाले १२ करोड चार लाख ४७ हजार विभिन्न शीर्षकमा राजस्व सङ्कलन गरेको बताए । यो रकम गत वर्षको सोही अवधिभन्दा लगभग पौने तीन करोड बढी रहेको उनले जानकारी गराएका छन् ।

आव २०७८/७९ मा साउन १ देखि असोज १० गतेसम्म नौ करोड ३६ लाख नौ हजार राजस्व सङ्कलन भएको थियो । उनले यस आवमा महानगरपालिकाले सम्पत्तिकर घटाएको र छ महीनाको अवधिमा राजस्व बुझाउनेहरूलाई छुट दिने योजना ल्याए पनि राजस्वमा वृद्धि भएको बताए ।

महानगरले यसअघि १० लाखसम्मको सम्पत्ति भएकासँग रु दुई सय, २० लाखसम्मका लागि रु पाँच सय लिने गरेकामा यसपटक २० लाखसम्म रु तीन सय राजस्व कायम भएको र सोही अनुरूप अन्य वर्गका करदाताहरूको पनि वर्गीकरण गरिएको बताए । उनले अहिलेको कर गरीबलक्षित रहेको जानकारी गराए । थोरै सम्पत्ति हुनेहरूलाई करको दायरा थोरै गरिएको र उनीहरूमध्ये ठूला करदाताहरूलाई कम मात्र छुट भएको बताए । महानगरले पुस मसान्तसम्म सम्पत्तिकर, व्यवसायकर बुझाउनेलाई छुटको व्यवस्था गरेको बताएका छन् ।

महानगरले साउन १ देखि असोज १० गतेसम्म सम्पत्तिकरबाट चार करोड १५ लाख ३६ हजार, भूमिकरबाट २८ लाख ६८ हजार, घरबहालकरबाट एक करोड ४६ लाख १४ हजार, साना सवारीकरबाट सात लाख ८९ हजार, विज्ञापनकरबाट १७ लाख ८८ हजार, व्यवसाय रजिस्टे«शन दस्तुरबाट ६८ लाख ५७ हजार, सरकारी सम्पत्ति बहालबाट ६८ लाख ३७ हजार, अन्य सेवा शुल्कबाट ९५ लाख ८६ हजार, नक्शापासबाट ६७ लाख ५३ हजार, सिफारिश दस्तुरबाट ३६ लाख ३४ हजार, व्यक्तिगत घटना दर्ताबाट आठ लाख ६४ हजार, नाता प्रमाणितबाट तीन लाख १६ हजार राजस्व सङ्कलन भएको बताए ।

राजस्व महाशाखा प्रमुख कर्णले महानगरपालिकाले एक हजार दस्तुरको कर वडा कार्यालयमा बुझाउन सकिने व्यवस्था गरिएको बताए । यसैगरी, महानगरपालिकाले ईबैंकिङमार्फत राजस्व बुझाउने व्यवस्था पनि गरिरहेको बताएका छन् । उनले यस कार्यको परीक्षण भइरहेको र अविलम्ब यो सेवा उपलब्ध गराउने बताए । महानगरमा तिर्ने करका लागि अब कार्यालय धाउनुपर्दैन, उनले भने ।

यसैगरी, राजस्व बुझाउन आउनेहरूका लागि वातानुकूलित कक्ष तयार गरिएको जसमा करदाताहरूलाई बस्ने ठाउँ र निश्शुल्क वाइफाईको व्यवस्था गरिएको बताए ।

मेनरोडका ६४ जनाले मात्र महानगरमा नक्शा बुझाए

वीरगंज महानगरपालिकाले मेनरोडमा रहेका घरधनीहरूलाई नक्शापास भए/नभएकोबारे सूचित गर्न यही असोज मसान्तसम्म समय दिएको छ । असोज १० गतेसम्म ६४ जनाले मात्र नक्शा बुझाइसकेका छन् ।

वीरगंज महानगरको नक्शा महाशाखाकी पूनम श्रेष्ठले अहिलेसम्म ६४ जनाले नक्शा बुझाएको बताइन् । उनले गण्डकदेखि शङ्कराचार्य द्वारसम्म मेनरोडमा ९३६ जना घरधनी रहेको र त्यसमध्ये ६४ जनाले मात्र नक्शा बुझाएको र अरूको लागि अहिले समय भएको बताइन् । उनले महानगरपालिकाले मेनरोडका घरहरूको के–कसरी नक्शापास भएको छ र ककसले नक्शापास गरे/नगरेकोबारे अद्यावधिक गर्नका लागि र सोही अनुसार कारबाई प्रक्रिया अगाडि बढाउने अभिप्रायले मेनरोडमा घर बनाएकाहरूसँग नक्शा माग गरिएको बताइन् ।

महानगरपालिकाबाट नक्शापास नगराएका र नक्शापास गराएकाहरूले पनि सो बमोजिमको संरचना बनाए/नबनाएकोबारे अद्यावधिक गर्ने र त्यसपछि गैरकानूनी तरीकाले बनेका घरहरू भत्काउने कार्य शुरू गरिने महानगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here