नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसका बासिन्दा राष्ट्रका पहरेदार हुन् भनेका छन् । मधेस आन्दोलनभन्दा पहिले एमालेको बलियो जनाधार रहेको मधेसमा पछिल्लो केही समय एमालेविरुद्ध माहोल बन्योे । त्यति बेला एमाले मात्रै नभएर पुराना ठूला दल नेपाली काङ्ग्रेसको पनि हबिगत उस्तै थियो । काङ्ग्रेस केही पछि नै आफ्नो लयमा फर्किन सक्यो । एमाले भने आफ्नै नेताहरूको बोलीका कारण लयमा आउन सकेन । तत्कालीन एमाले नेता झलनाथ खनाल, माधव नेपाल, केपी शर्मा ओलीलगायतका नेताहरूको बोली विचारलाई विभिन्न पक्षले उकेरा लगाउँदै झन् विवादास्पद बनाइदिए । त्यसलाई सुधार्नका लागि पछिल्लोपटक आफ्नो नेतृत्वमा सरकार बनेको बेला ओलीले महŒवपूर्ण पहल गरेका थिए । उक्त समयमा मधेसका नेता, कार्यकर्ता र नागरिक स्तरमा पनि उनले राम्रो सम्बन्ध स्थापित गरे ।

ओली प्रधानमन्त्री हुँदा एमालेका नेताहरूको भन्दा मधेस केन्द्रित दल तत्कालीन राजपा, मजफोका नेताहरूको सहज पहुँच थियो । फलस्वरूप आज मधेसमा नेकपा एमालेप्रति आकर्षण बढेको देखिन्छ । मधेस केन्द्रित दलका नाम कमाएका र शीर्ष तहमा रहेका नेताहरू नै एमालेमा प्रवेश गरिरहेका छन् । दलका पदाधिकारी, पूर्वमन्त्री, निवर्तमान सांसद तथा पूर्वजनप्रतिनिधि, नागरिक समाजका अगुवाहरूसमेत एमालेमा प्रवेशको लर्को चलेको छ । भन्नलाई जे पनि सकिएला, तर यथार्थमा सत्य स्वीकार्नुपर्छ । वर्तमान जसपा र लोसपाका मात्रै नभएर मधेस आन्दोलनसँग जोडिएका मधेसवादी चिन्तनका समर्पित व्यक्तित्व अमृता अग्रहरि जस्ताहरू पनि एमाले प्रवेश गरिसकेका छन् । प्रवेश गर्नुका पछाडि विभिन्न स्वार्थ हुन सक्लान् । राष्ट्रिय स्वार्थ, सामाजिक स्वार्थ, समूहगत तथा व्यक्तिगत स्वार्थमध्ये कुनै एक वा एकभन्दा बढी पनि हुन सक्छन् । तर प्रवेश चाहिं प्रवेश नै हो । यही अवस्था रहेमा यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नजीता एमालेले मधेसमा सुधार्न सक्छ । तर पनि प्रत्यक्ष अर्थात् पहिलो निर्वाचित हुने कोटामा उसलाई गा¥हो छ । प्रत्यक्ष भनेको अङ्कगणितको खेल हो । २०७४ सालको तीनै तह चुनावमा एमाले र माओवादी गठबन्धनले गर्दा नेपाली काङ्ग्रेसलगायतका दलका उम्मेदवार धेरै ठाउँमा झिनो मतले हारेका थिए । यसपालि त्यही सिको गर्दै नेपाली काङ्ग्रेसको अगुवाइमा पाँच दलीय गठबन्धन बनिसकेको छ ।

दल प्रवेशको निरन्तरता देखेर एमाले अध्यक्ष ओली रौंसिएका छन् । त्यसैले त उनी १८ दिनमा दोस्रोपटक जनकपुर आए । उनको अभिव्यक्ति पनि मधेसप्रति यथार्थपरक छ । वास्तवमा मधेसका बासिन्दा राष्ट्रका पहरेदार हुन् । हिजो सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिनुभन्दा पहिलेदेखि आजसम्म देशको सीमाको रक्षा यहाँका नागरिकले गरिरहेका छन् । राजा, महाराजाहरूको बुझाइ पनि सेना वा सुरक्षाकर्मीभन्दा नागरिक पहरेदारी नै मतबूत हुन्छ भन्ने थियो । त्यसैले राजा महेन्द्रको पालामा कैंयन सीमावर्ती क्षेत्रहरूमा वन मासेर भएपनि बस्तीहरू बसालिए । त्रिवेणी– सुस्ता, ठोरीलगायतका बस्तीहरू उदाहरण हुन् । त्यसअघिदेखि नै देशको सीमाको रक्षा गर्दै आएका यहाँका रैथाने मधेसीले धेरै दुःख–कष्ट सहेका छन् । यस क्रममा कैंयनले ज्यानसमेत गुमाए । तर यस मुलुकमा शासकहरूले नागरिकको योगदानलाई बुझ्न नसक्दा मूल्याङ्कन हुन सकेको छैन । त्यसैले अझै उपेक्षित छ । सत्ताबाट झर्दा मात्रै होइन, सत्तामा छँदा पनि सबै दलले मधेसको मर्म बुझ्न सकोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here