प्रस, जनकपुरधाम, ८ असोज/
राष्ट्र र राष्ट्रियताको मुख्य पहरेदार तराई–मधेसका नागरिक हुन् भन्दै नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले वास्तविक मधेसीलाई अल्पमतमा पार्ने दुश्प्रयास राज्य पक्षबाट भइरहेको आरोप लगाएका छन् । मधेस प्रदेशको राजधानी जिल्ला धनुषाको विदेह नगरपालिका तीनकौरिया चोकमा शनिवार दल प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले सरकारलाई आरोप लगाएका हुन् ।
मधेसका कुनै पनि नेपाली नागरिकका सन्तान र नेपालमा जन्मिएका अभिभावकविहीन जोसुकैले पनि नेपाली नागरिकता पाउनुपर्छ भन्ने एमालेको अडान रहेको स्पष्ट पार्दै उनले नेपाली छोरासँग भावनात्मकरूपमा साँचो विवाह गर्ने विदेशी चेलीले नागरिकताको लागि कुनै चिन्ता लिनु नपर्ने बताए ।
नेकपा एमालेले गरेको जनमुखी काम, सरकार सञ्चालनको शैली एवं राष्ट्रप्रेमको भावको कारण तराई–मधेसमा एमाले प्रवेशको लहर चलेको अध्यक्ष ओलीले दाबी गरे ।
एमाले अध्यक्ष ओलीले एमाले सरकारको पालामा तराई–मधेस लक्षित विकास निर्माणको काम भएको दाबी गर्दै मधेसको उत्थानको खाका एमालेसँग मात्रै भएको दाबी गरे । सोही कारण मधेसमा एमाले प्रवेशको लहर चलेको उनको भनाइ छ ।
निवर्तमान प्रधानमन्त्री ओलीले भने,हामीले काम मात्रै ग¥यौं । हाम्रो काम देखेर तराई–मधेससहित पूर्व मेचीदेखि पश्चिम महाकालीसस्म एमाले प्रवेशको लहर चलेको छ ।”
मधेस आन्दोलनको बेला एमालेविरुद्ध केही तŒवले भ्रम फैलाएर एमालेलाई निषेध गर्न खोजेको भन्दै अध्यक्ष ओलीले अब त्यो भ्रमको पर्दा मधेसी जनताले नै च्यातेर फ्याँकिसकेको बताए ।
ओलीले निर्वाचनपश्चात् एमालेको सरकार बने पाँच वर्षभित्र नागरिकतासम्बन्धी र सुकुमबासीका हरेक समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । मन्तव्यको क्रममा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरकारले धाँधलीको तयारी गरिरहेको आरोप लगाए ।
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशङ्कर अरगरिया नेकपा एमालेमा प्रवेश गरेका छन् । अरगरियासँगै निवर्तमान सांसद अमृता अग्रहरि, कैलुदेवी विश्वकर्मा, जसपाकी निवर्तमान प्रदेशसभा सदस्य डा रीना यादवलगायत नेताहरूको टोलीलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत तथा सम्मान गरेका थिए । सो अवसरमा अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नेहरू अलपत्र नपार्ने आश्वासन दिए ।
१८ दिनमा नै दोस्रोपटक जनकपुर आइपुगेका ओली जनकपुरबाट रेल चढेर धनुषाको विदेह नगरपालिका तीनकौरिया पुगेका थिए ।
ओलीलाई जनकपुरमा कालो झन्डा देखाउने प्रयास भएको थियो । तर प्रहरीले सफल हुन दिएन । जनकपुर विमानस्थलबाट जनकपुर–जयनगर रेल चढ्न जाने क्रममा उनलाई जसपा र एकीकृत समाजवादीका कार्यकर्ताले कालो झन्डा देखाउने प्रयास गरेका थिए ।
जनकपुर विमानस्थलबाट ओली गाडीमा अगाडि बढेपछि नजीकै सडकमा कालो झन्डा लिएका युवा देखिएका थिए । तर प्रहरीले उनीहरूलाई तुरुन्तै नियन्त्रणमा लिएको थियो । यस क्रममा १२ जनालाई नियन्त्रणमा लिएर साँझपख मुक्त गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । यसअघि भदौ २७ गते ओली जनकपुरमा आएका थिए ।