दोहा, ८ असोज/एएफपी
फ्रान्सको टोटल इनर्जीजले शनिवार कतारको प्राकृतिक ग्याँस उत्पादन विस्तारमा ठूलो लगानी गर्नेगरी हस्ताक्षर गरेको छ । यो लगानी इन्धनमा रूसको विकल्पको रूपमा नयाँ ऊर्जा स्रोतहरूको लागि युरोपको खोजीको क्रममा आएको छ ।
कतारका ऊर्जामन्त्री साद शेरिदा अल–काबीले टोटल इनर्जीका प्रमुख कार्यकारी अधिकृत प्याट्रिक पोयानसँग सम्झौता भएको घोषणा गरेका हुन् ।
काबीले भने, “कुल ऊर्जामा नर्थ फिल्ड साउथ परियोजनाको ९.३ प्रतिशत हुनेछ, जसको लागि २५ प्रतिशत विदेशी ऊर्जा फर्महरूको लागि आरक्षित गरिनेछ ।”
कतारको सरकारी समाचार संस्था क्युएनएले भनेको छ, “कतार इनर्जीले नर्थ फिल्ड साउथको विकासका लागि साझेदारको रूपमा टोटल इनर्जीको चयनको घोषणा गरेको छ । नयाँ साझेदारहरूको घोषणा पछिको चरणमा गरिनेछ ।”
काबीले भने, “फ्रान्सेली विशाल ऊर्जा कम्पनीले नर्थ फिल्ड साउथबाट ग्याँस निकाल्नका लागि लगानीमा पनि मदत गर्नेछ । फ्रान्सेली कम्पनीले कतारको ग्याँस विस्तारमा उन्नत रणनीतिक भूमिका निर्वाह गर्नेछ ।”
गत जूनमा टोटल इनर्जीले विशाल ‘नर्थ फिल्ड इस्ट’ परियोजनामा भाग लिन दुई अर्ब डलरको सम्झौता गरेको थियो । यसले कतारलाई सन् २०२७ सम्ममा ६० प्रतिशतभन्दा बढी प्राकृतिक ग्याँसको उत्पादन बढाउन मदत गर्नेछ ।
युरोपेली राष्ट्रहरूले रूसी तेल र ग्याँसको विकल्प खोज्न कोशिश गरिरहेका बेला नर्थ फिल्डको एलएनजी सन् २०२६ देखि काम गर्न थाल्ने अपेक्षा गरिएको छ ।
संयुक्त राज्य अमेरिका र अस्ट्रेलियासँगै कतार प्राकृतिक ग्याँस (एनएलजी) उत्पादकमध्ये उत्पादनका हिसाबले विश्वको शीर्ष स्थानमा रहेको मुलुक एक हो ।
सरकारी स्वामित्वको कतार इनर्जीका अनुसार नर्थ फिल्डले विश्वको ज्ञात प्राकृतिक ग्याँस भण्डारको करीब १० प्रतिशत हिस्सा ओगटेको छ ।
यी भण्डारहरू समुद्रमुनि इरानी भूभागमा फैलिएका छन्, जहाँ तेहरानले आफ्नो दक्षिण पार्स ग्याँस क्षेत्रको दोहन गर्ने प्रयासलाई अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले बाधा पु¥याएको छ । दक्षिण कोरिया, जापान, चीन, कतारका एलएनजीका लागि मुख्य बजार बनेका छन् तर गत वर्ष युरोपमा ऊर्जा सङ्कट उत्पन्न भएपछि खाडी राष्ट्रले बेलायतलाई थप आपूर्तिका लागि सहयोग गरेको छ । साथै यसले जर्मनीसँग सहयोग सम्झौताको पनि घोषणा गरेको छ । रासस