- विश्वराज अधिकारी
१ नम्बरको देश
अमेरिका नम्बरको देश हो भन्ने यथार्थ धेरैलाई थाहा नभएको हुन सक्छ । अमेरिकामा हरेक कुराको नम्बर हुन्छ । कारको नम्बर, मोटर साइकलको नम्बर, चालक अनुमतिपत्र नम्बर, बीमा पोलिसी नम्बर, भवन वा घरको नम्बर, ढोकामा लगाइएको ताला खुल्ने कोड नम्बर । यी नम्बरहरू त साधारण कुरा भए र यस्तो व्यवस्था प्रायः हरेक देशमा आजभोलि देख्न पाइन्छ । तर अमेरिकामा अन्य विभिन्न कुराको पनि नम्बर हुन्छ । जस्तै– मूल सडक वा राजमार्ग (Highway) को नम्बर, कुनै क्षेत्र (जस्तै जिल्ला) को नम्बर, आदि ।
अमेरिकामा राजमार्गहरू प्रायः शहर वा बस्तीभित्र पसेर होइन, तिनको छेउबाट जाने गर्दछन् । त्यसकारण कुनै बस्ती वा शहरभित्र पस्दा राजमार्ग वा मूल सडक छोडेर मात्र कुनै बस्तीमा पस्नुपर्दछ । यसरी राजमार्गबाट निस्केर कुनै बस्तीमा पस्न निकास मार्ग (Exit lane) बनाइएको हुन्छ । त्यसरी, राजमार्ग छाडेर, निकास मार्ग भएर निर्दिष्ट बस्तीमा पस्न सकिन्छ । कुन बस्तीमा पस्ने हो वा यो बस्तीमा पस्न यति नम्बरको निकास (Exit) प्रयोग गर्नुपर्छ भनी हरेक राजमार्गका विभिन्न स्थानमा निकास नम्बर लेखिएको हुन्छ । अर्थात् हिंडिरहनुभएको राजमार्गबाट, यति नम्बरको निकासबाट निस्किनुभयो भने यो शहर वा यो शहरको यो सडक पुगिन्छ भनेर प्रत्येक राजमार्गहरूमा विभिन्न निकास नम्बर लेखिएको हुन्छ । यातायात व्यवस्थामा नम्बरको प्रयोग गरेर आवागमन अति सजिलो पारिएको हुन्छ । यो सरलताले गर्दा यात्रीले कसैलाई सोधि राख्नुपर्दैन । आफूसँग भएको नक्शाले नै आवश्यक सम्पूर्ण विवरण उपलब्ध गराउन सक्छ । अहिले त झन् आवागमन अझ सरल पार्न जिपीयस (GPS–Global Positioning Syst.) प्रणाली प्रयोग हुन थालेको छ । यो प्रणाली प्रयोग गर्दा मोटरमा यात्रा गर्दा कुन स्थानबाट हिंडेको हो र कुन स्थान पुग्ने हो, दुवैको भौतिक ठेगान त्यसको व्यवस्थामा हालेपछि त्यो जिपीयसले नै ध्वनि (भनेर) र नक्शाद्वारा निर्देशित गरेर गन्तव्यमा पु¥याइदिन्छ ।
व्यवहार वा अभिलेखलाई सजिलो पार्न विभिन्न कुरालाई नम्बरबद्ध पारिएको त हुन्छ नै, प्रत्येक व्यक्ति पनि नम्बरबद्ध पारिएको हुन्छ र त्यसलाई सामाजिक सुरक्षा नम्बर (Social Security Number) भन्ने गरिन्छ । कुनै पनि व्यक्तिको सामाजिक सुरक्षा नम्बरद्वारा नै उसका विभिन्न गतिविधिको अभिलेख राख्न सकिन्छ र राख्ने गरिन्छ । यदि कुनै व्यक्तिले कुनै किसिमको अपराध गरेको छ, कुनै सजाय पाएको छ, कुनै समयमा दिवालिया भएको थियो, उसको आर्थिक लेनदेन र ऋणको अवस्था कस्तो छजस्ता कुराहरू त्यस व्यक्तिको सामाजिक सुरक्षा नम्बरद्वारा ज्ञात हुन आउँछ । यसरी सामाजिक सुरक्षा नम्बरद्वारा कुनै व्यक्ति कतिको पत्यारिलो छ भन्ने कुरा उसको पृष्ठभूमिको अध्ययनबाट ज्ञात हुन्छ । र अर्कोतिर सामाजिक सुरक्षा नम्बरले व्यक्तिको पृष्ठभूमि थाहा पाउन सहयोग गर्छ । कतिपय सङ्गठनहरूले व्यक्तिको सामाजिक सुरक्षा नम्बर प्रयोग गरेर त्यस व्यक्तिको पृष्ठभूमि थाहा पाउन सक्छ र सोही आधारमा उक्त व्यक्तिलाई जागीर दिने वा नदिने भन्ने कुराको निर्णय गर्न सक्छ । यसरी हरेक क्षेत्रमा नम्बरको प्रयोगले व्यवहारलाई त सजिलो पारेको छ नै, साथै बेइमानी, जालसाजी, चोरी, नियन्त्रण गर्न पनि ज्यादै सजिलो भएको छ ।