प्रस, वीरगंज, ६ असोज/
ज्येष्ठ नागरिक सङ्घ, पर्साको आयोजना तथा वीरगंज महानगरपालिकाको प्रायोजनमा २१ सेप्टेम्बरमा मनाइने विश्व अल्जाइमर दिवस मनाइएको छ ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका मनोचिकित्सक डा अनुपकृष्ण गुप्ताले औषधिभन्दा पनि खानपानमा सतर्कता अपनाएको खण्डमा अल्जाइमरबाट उन्मुक्ति पाइने बताए । उनले रोग लागेकाहरूले खानपानमा विशेष ध्यान दिएको खण्डमा रोग निको हुन सक्ने र नलागेकाहरूले पनि खानपानमा ध्यान दिए रोग लाग्ने सम्भावना न्यून हुने बताए ।
डा गुप्ताले मधुमेहरोगी र ७० वर्ष उमेर पुगेकाहरूमा यो रोग लाग्ने सम्भावना बढी हुने गरेको भन्दै औषधिभन्दा पनि खानपानमा विशेष ध्यान दिन उनले सुझाव दिए ।
डा गुप्ताले आजभोलि घरको खानाभन्दा बाहिरको खाना खाने प्रचलन बढेकाले यो रोगलाई निम्तो दिने काम भइरहेको भन्दै घरको खानामा विशेष ध्यान दिन आग्रह गरे । उनले अल्जाइमर भएकाहरूले माछामासु, सागपात र गेंडागुडी खाँदा फाइदा पुग्ने बताए ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले ज्येष्ठ नागरिक सङ्घ, पर्साले ज्येष्ठ नागरिकहरूको स्वास्थ्यप्रति विशेष चासो राख्दै कार्यक्रम आयोजना गर्ने गरेको र कार्यक्रममा पोषणयुक्त खानाको व्यवस्था गरेकोमा आफू प्रभावित भएको बताए । उनले अल्जाइमर रोगबाट उन्मुक्ति हुनको लागि चिकित्सकले दिएको सुझावलाई अनुसरण गर्न आग्रह गरे ।
‘डिमेन्सिया बुझौं, अल्जाइमर बुझौं र लक्षण देखिएपछि सतर्कता अपनाऔं’ यस वर्षको नारा रहेको छ ।
कार्यक्रममा डा रामऔतार खेतानले अल्जाइमर रोगबारे प्रकाश पारेका थिए ।
वीरगंज महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले ज्येष्ठ नागरिक सङ्घ, पर्साले गरेको कार्यक्रमको प्रशंसा गरे । उनले यो उमेर समूहका मानिसहरू सहभागी गराएर ज्येष्ठ नागरिक सङ्घले निरन्तररूपमा कार्यक्रम आयोजना गरेकामा खुशी व्यक्त गर्दै महानगरबाट हुने सहयोगलाई निरन्तरता दिने बताए ।
ज्येष्ठ नागरिक सङ्घ, पर्साका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले चिकित्सकसँग अल्जाइमर रोगबारे जिज्ञासा राखेका थिए ।
कार्यक्रममा प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलगायतको सहभागिता थियो ।