धर्मेन्द्र चौरसिया, पोखरिया, २ असोज/
लोकाचारको पर्वभन्दा हिन्दू कर्मकाण्ड पद्धतिमा व्याख्या गरिएको अनुष्ठानको रूपमा मनाइने ‘खर जिउतीया’ आइतवार मनाइएको छ ।
सन्तानको सुख, समृद्धि र रक्षाको कामनासाथ परलोकका मातृहरूलाई स्मरण गर्दै मनाइने जिउतीया मातृहरूको आत्माको शान्ति र सम्मानमा महिलाहरूद्वारा मनाइने पर्व हो ।
कुलभित्र परलोक भएका मातृ (महिला) पूर्वजहरूको सम्झनामा लोकविधिद्वारा मनाइने जिउतीयालाई ‘जीवित पुत्रिका व्रत’ पनि भनिन्छ । हिन्दू पद्धतिमा पितृपक्षमा सो¥ह श्राद्ध चलिरहेको बेला मधेसी र थारू महिलाले विशेष विधिसाथ यो पर्व हरेक वर्ष आश्विन महीनाको शुक्ल पक्षको सप्तमीमा शुरू गरी अष्टमी तिथिका दिन निर्जला उपवास बस्छन् ।
व्रतालुले यस पर्वमा पहिलो दिन जलाशयमा स्नान गरी झिङ्गनी (तरोई)को पातमा पिना र तेल चढाइ भगवान् सूर्यलाई अघ्र्य दिएर व्रतको सङ्कल्प लिन्छन् । व्रतालुले व्रतारम्भका लागि नुहाउने बेला मातृहरूलाई तेल चढाउने गर्छन्, जसमध्ये थोरै बाँकी राखी आफ्ना नानीबाबुलाई लगाइदिने चलन छ । पितृपक्षमा पुरुषद्वारा पितृ तर्पणका विधि पालना गरिराखेको समयमा सप्तमी र अष्टमीका दिन महिलाहरूले मातृहरूलाई सम्झिंदै यो व्रत गर्ने गरेको मान्यता चलिआएको छ ।
लोकबोलीमा ‘जिउतीया’भनिने यस व्रतलाई शास्त्रीय मान्यतामा ‘षोडस मातृका श्राद्ध’ भनिन्छ । जिउतीया गर्ने महिलाले सन्तानको अकाल मृत्युउपर विजयी पाउने लोकविश्वास छ । उपवास बसेको दिन व्रतालु महिलाले ‘खर (सिनका)समेत नटोक्ने भएकोले यसलाई ‘खर जिउतीया’ भनिन्छ । जिउतीयालाई मधेसी र थारू समुदायमा धेरै पवित्र व्रतका रूपमा लिइने गरिन्छ ।
सप्तमी तिथिमा रातको अन्तिम पहरमा अष्टमीको सूर्योदयअगाडि झिसमिसेमैं स्नान गरी महिलाहरूले पूजाआजा गर्ने चलन छ । आइतवार बिहान उपवास शुरू गर्ने बेला व्रतालुले दही, चिउरा, पुरी र सख्खर आदि चोखो परिकार चढाइ पूजाआजा गरी प्रसाद खाएपछि व्रत बस्छन् । यस बेलाको चढाइएको सामग्रीलाई ‘सरगही’ भनिन्छ । त्यो प्रसाद आफ्ना सन्तानलाई समेत खुवाउने चलन छ । ‘सरगही’ खाएर दीर्घजीवी भइन्छ भन्ने मान्यता छ ।
गाउँघरमा सप्तमीको रातको अन्तिम पहरमा सरगही खाएपछि बालबालिकाहरू झिसमिसेमैं घरबाहिर निस्किएर सामूहिकरूपमा रमाउने गरेका छन् । ‘मधेसी महिलाले स्नान गरेर गम्हदी चामल (कोसाभित्रै फल्ने धान)को भात, दही, चिउरा र पुरीलगायत साŒिवक परिकार खाने गर्छन् भने मांसाहारीहरू र विशेषगरी थारू समुदायका महिलाले माछा, मडुवा (कोदो)को रोटी र कर्मीको सागलगायतका परिकार खाने गर्छन् ।