- उमाशङ्कर द्विवेदी
भूरिश्रवाले पनि तत्काल अर्को धनुष लिएर तीनवटा बाण हानेर सात्यकिलाई घाइते पारिदिए र एउटा अर्को भल्ल हानेर उनको धनुषलाई पनि काटिदिए । अब त सात्यकिको क्रोधको सीमा नै रहेन, उनले एउटा प्रचण्ड वेगवान् शक्ति भूरिश्रवाको छातीमाथि हाने । त्यस शक्तिको प्रहारले उनको अङ्ग प्रत्यङ्गलाई च्यातिदियो तथा भूरिश्रवा प्राणहीन भएर रथबाट तल खसे । उनलाई मरेको हेरेर महारथी अश्वत्थामाले बडो वेगको साथ सात्यकिमाथि हमला गरेर उनीमाथि बाणहरूको झरी लगाइदिए । यो हेरेर महारथी घटोत्कच घोर गर्जना गर्दै अश्वत्थामामाथि जाइ लागेर रथको धुराको समान स्थूल बाणको वृष्टि गर्न थाले । उनले बज्र तथा अशनिको समान देदीप्यमान बाण, क्षुरप्र, अद्र्धचन्द्र, नाराच, शिदिमुख, बाराहकर्ण, नालीक, र विकर्ण आदि अस्त्रहरूको झरी लगाइदिए । यो हेरेर अश्वत्थामाले दिव्यास्त्रहरूबाट अभिमन्त्रित गरिएका बाण हानेर त्यस घोर अस्त्रवृष्टिलाई शान्त पारिदिए । अनि राक्षसमाथि बाणको वर्षा आरम्भ गरे । अनि त घटोत्कच र अश्वत्थामाबीच भयङ्कर युद्ध हुन थाल्यो । त्यति बेला रात्रिको अन्धकार गाढा भइसकेको थियो । घटोत्कचले अश्वत्थामाको छाती ताकेर दशवटा बाण हाने, त्यसको चोटबाट अश्वत्थामाको शरीर काम्यो तथा उनी मूर्छित भएर रथको ध्वजाको सहारा लिएर रथमाथि थुचुक्क बसे । अलिकबेरपछि होश खुल्यो अनि उनले यमदण्डको समान एउटा भयङ्कर बाण घटोत्कचमाथि हाने । त्यो बाण घटोत्कचको छातीलाई छेडेर पृथ्वीभित्र छि¥यो तथा घटोत्कच मूर्छित भई रथको बैठकमा खसे । घटोत्कचलाई बेहोश भएको हेरेर सारथि तत्कालै रथलाई लिएर रणभूमिबाट बाहिर गयो ।
सञ्जय भन्छन्– भीमसेन युद्ध गर्दै द्रोणाचार्यको रथतिर बढिरहेका थिए कि दुर्योधनले उनलाई बाणविध पारिदिए । यो हेरेर भीमसेनले पनि दुर्योधनमाथि दशवटा बाण हानेर उनलाई घाइते पारे । भीमसेनले दशवटा बाण हानेर दुर्योधनको धनुष र ध्वजा काटिदिए । त्यसपछि नब्बेवटा बाण हानेर दुर्योधनलाई सिकिस्त घाइते पारिदिए । चोट खाएर दुर्योधन रिसले मुर्मुरिएर अर्को धनुष लिई आफ्ना तीक्खर बाणबाट भीमसेनलाई अत्यन्त पीडित पारे । भीमसेनले अर्को धनुष हातमा लिए तर दुर्योधनले त्यस धनुषलाई पनि काटिदिए । यसै प्रकार भीमसेनको तेसं्रो, चौथो र पाँचौं धनुष पनि काटियो । भीमसेनले हातमा जुन जुन धनुष लिन्थे, ती धनुषहरूलाई दुर्योधनले तत्कालै काटिदिन्थे । यो हेरेर भीमसेनले दुर्योधनमाथि एउटा भयङ्कर शक्ति प्रहार गरे तर त्यसलाई पनि दुर्योधनले बाण हानेर तीन टुक्रा पारिदिए । यसपछि भीमसेनले हातमा अत्यन्त भयानक गदा हातमा लिएर बडो वेगले घुमाइ दुर्योधनको रथमाथि हाने । त्यस गदाले तपाईंको पुत्रको घोडा र सारथिलाई मारी रथलाई नष्ट पारिदियो । दुर्योधन भीमसेनको भयले पहिला नै भागेर नन्दकको रथमाथि गई बसेका थिए । त्यति बेला भीमसेनले कौरवहरूको तिरस्कार गर्दै बडो जोडले सिंहनाद गरिरहेका थिए र तपाईंको सैनिकमा हाहाकार मच्चिएको थियो ।
अर्कोतिर द्रोणाचार्यको सामना गर्ने इच्छाले सहदेव अगि बढिरहेका थिए, उनलाई कर्णले रोके । सहदेवले कर्णलाई पनि नौवटा बाणले घाइते पारी अझै दशवटा बाण हाने । अनि कर्णले एक सयवटा बाण हानेर साटो फेरे तथा सहदेवको धनुषलाई काटिदिए । माद्रीनन्दनले अर्को धनुष लिई पुनः कर्णमाथि बीसवटा बाण हाने । कर्णले उनको घोडालाई मारी उनको सारथिलाई पनि यमलोक पठाइदिए । रथहीन भइसकेपछि सहदेवले ढाल–तरबार हातमा लिए । तर कर्णले तत्कालै तीखो बाण हानेर त्यसलाई पनि टुक्रा–टुक्रा पारिदिए । अनि क्रोधित भएर सहदेवले एउटा भयङ्कर गदा कर्णको रथमाथि हाने, तर कर्णले बाण हानेर त्यस गदालाई पनि काटिदिए । यो हेरेर सहदेवले शक्ति प्रहार गरे, तर कर्णले त्यसलाई पनि काटेर खसाले । अब सहदेव रथबाट तल हाम्फालेर रथको पाङ्ग्रा हातमा उचाली कर्णको रथमाथि हाने । त्यस चक्रलाई अनायास आफूतिर आइरहेको हेरेर सूतपुत्र कर्णले हजारौं बाण हानेर त्यसको पनि टुक्रा–टुक्रा पारिदिए । अनि माद्रीनन्दन सहदेवले ईषदण्ड, धुरा, मरेका हात्तीहरूको अङ्ग तथा मरेका घोडा तथा मानिसहरूको लाश उचालीउचाली कर्णमाथि हान्न थाले तर कर्णले ती सबैलाई बाण हानेर खसालिदिए । अनि त सहदेव आफूलाई शस्त्रहीन ठानेर युद्धलाई त्यागी हिंडिहाले । कर्ण उनको पछि लागेर हाँस्दै भने– बाबु, आजदेखि तँ आफूभन्दा ठूलाबडा रथीहरूसित नभिड्नु है ।
यस प्रकारले सहदेवलाई गिज्याएर कर्ण पाण्डव र पाञ्चालहरूको सेनातर्फ लागे । त्यति बेला सहदेव मृत्युको निकट पुगिसकेका थिए, कर्णले चाहेको भए उनलाइ मार्न सक्थे तर कुन्तीसित गरेको वाचालाई सम्झेर कर्णले सहदेवको वध गरेनन् । सहदेवले निन्याउरो मुख लगाए । उनी कर्णको बाणबाट पीडित त छँदै थिए, कर्णको वाग्बाणबाट पनि सहदेव निकै व्यथित थिए । त्यसैले उनलाई जीवनबाट वैराग्यझैं भइसकेको थियो । उनी बडो तीव्रताको साथ गएर पाञ्चाल राजकुमार जनमेजयको रथमाथि बसे । क्रमशः…