प्रस, वीरगंज, ३० भदौ/
बाराको सिमरामा जारी दोस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप–२०७९ मा बिहीवार छवटा खेल सम्पन्न भए ।
सिमरा भेट्रान क्लबको आयोजनामा सिमरा रङ्गशालामा जारी प्रतियोगिताको दोस्रो दिन आज पहिलो खेलमा सिमरा भेट्रान ‘ए’लाई शून्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै वीरगंज युथ भेट्रान विजयी भयो । खेलको दोस्रो मध्यान्तरमा सिमरा भेट्रान ‘ए’का पूर्ण लामाले आत्मघाती गोल गरेका थिए । पहिलो खेलमा वीरगंजका ऋतु शाक्य ‘म्यान अफ दी म्याच’ घोषित भए ।
दोस्रो खेलमा भुटनदेवी भेट्रान हेटौंडा विजयी भयो । भेट्रान सिटी वीरगंजलाई एकका विरुद्ध तीन गोलअन्तरले पराजित गर्दै हेटौंडा विजयी भएको हो ।
तेस्रो खेलमा वीरगंज सिटी भेट्रान विजयी भयो । कालभैरब भेट्रानलाई एकका विरुद्ध दुई गोलअन्तरले पराजित गर्दै वीरगंज विजयी भएको हो ।
चौथो खेलमा चितवन भेट्रानलाई एकका विरुद्ध दुई गोलअन्तरले पराजित गर्दै कोलकाता भेट्रान विजयी भयो ।
पाँचौं खेलमा अभिषेक चर्च नवलपुरलाई शून्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै मोरङ भेट्रान विजयी भएको थियो ।
छैटौं तथा अन्तिम खेलमा डेभिल्स भेलिसेन्ट भेट्रान पोखरालाई शून्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै दार्जिलिङ भेट्रान भारत विजयी भएको थियो ।
प्रतियोगिता अन्तर्गत भोलि शुक्रवार क्वार्टरफाइनल खेल हुने आयोजक क्लबका अध्यक्ष राजकपूर राउतले बताए । उनले भोलि क्वार्टरफाइनल अन्तर्गत चारवटा खेल हुने बताए । पहिलो खेल बिहान ७ बजे सिमरा भेट्रान ‘बी’ र भुटनदेवी भेट्रानबीच, दोस्रो खेल बिहान ८ बजे वीरगंज भेट्रान सिटी र मोरङ भेट्रानबीच, तेस्रो दिउँसो ३ बजे चितवन भेट्रान र वीरगंज युथ एकेडेमी भेट्रानबीच र अन्तिम खेल दिउँसो ४ बजे कोलकाता भेट्रान भारत र दार्जिलिङ भेट्रान भारतबीच हुने अध्यक्ष राउतले बताए ।