प्रस, सेढवा, २५ भदौ/
नेपाल सरकारले लागू गरेको अनिवार्य स्वास्थ्य बीमा अभियान पाँच वर्ष बितिसक्दा पनि पर्सामा लागू हुन सकेको छैन ।
यस अभियानमा जिल्लाको चौधवटै स्थानीय तहका प्रत्येक वडामा स्वास्थ्य बीमा अभिकर्ता नियुक्त गरिए पनि कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।
बीमा कार्यक्रममा पाँचजना सदस्य भएका परिवारलाई वार्षिक दुई हजार पाँच सय रुपियाँ शुल्क तिरेबापत एक वर्षसम्मका लागि पचास हजार रुपियाँ सम्मको औषधि–उपचार खर्च सरकारले बेहोर्ने व्यवस्था छ । त्यस्तै यस स्वास्थ्य बीमामा ७० वर्ष उमेर कटेका जेष्ठ नागरिकको हकमा सरकारले निश्शुल्क बीमा गर्ने घोषणा गरेको थियो । तर पर्सामा जेष्ठ नागरिकहरूको बीमासमेत भएको छैन ।
स्थानीय सरकारले अन्य सामाजिक विकासको कार्य तीव्र गतिमा सञ्चालन गरे पनि यस कार्यक्रममा जनप्रतिनिधिहरूको खासै वास्ता देखिएको छैन ।
शुरूमा स्वास्थ्य बीमाका लागि प्रत्येक वडामा बीमा अभिकर्ता परिचालन गरिएको भएपनि अधिकांश बीमा अभिकर्ताहरूले काम छाडेका छन् ।
जीराभवानी गाउँपालिका–२ सेढवा निवासी मनिताकुमारीका अनुसार स्वास्थ्य बीमा आउनेको सङ्ख्या न्यून हुने गरेको छ ।अहिले बीमा शुल्क वार्षिक तीन हजार पाँच सय रुपियाँ रहेको र एक लाख मूल्य बराबरको औषधोपचार गर्ने व्यवस्था रहेको मनिताकुमारी बताउँछिन् ।
यता स्वास्थ्य बीमा गरेका ठोरी गाउँपालिका–५ का निवर्तमान वडाध्यक्ष रामबहादुर पाख्रिनले बीमा गरेपनि तोकिएको स्वास्थ्य संस्थामा सजिलै सेवा लिन गाह्रो रहेको बताएका छन् । नारायणी उपक्षेत्रीय अस्पतालमा सम्बन्धित रोगको चिकित्सकबाट सजिलै चेक जाँच गर्न सकिएपनि ल्याब टेस्ट गर्न तथा औषधि पसलमा औषधि लिन सास्ती भोग्नुपरेको गुनासो गरे । तर स्वास्थ्य बीमा गरेका केही सेवाग्राहीले भरतपुरमा सेवा लिन निकै सजिलो रहेको वडाध्यक्ष पाख्रिनले बताए ।
जीराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले यस कार्यक्रमका लागि खटाइएका बीमा अभिकर्ताहरू गाउँपालिका मातहत नभएकाले पालिकालाई कुनै जानकारी नभएको बताए । यो कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालयको बीमा शाखाले गरेको तर अहिले राष्ट्रिय बीमा बोर्डले सञ्चालन गरिरहेकोले पालिकाको यस कार्यक्रमसँग कुनै सरोकार नरहेको उनले बताए ।