प्रस, ठोरी, २३ भदौ/
ठोरी गाउँपालिकामा पशु हाट बजार सञ्चालनमा आएको छ । गापा उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले बिहीवार पशु हाटबजारको उद्घाटन गरेसँगै बजार सञ्चालनमा आएको हो ।
ठोरी गापा–४ विजयबस्ती पशु हाजबजार सञ्चालनमा आएको र साताको दुई दिन बजार लाग्ने बताइएको छ । पशु हाटबजार समितिका अध्यक्ष हरिप्रसाद सिलवालले बिहीवार र सोमवार दुई दिन पशु हाटबजार सञ्चालन हुने बताए । गापा उपाध्यक्ष रेग्मीले पशु हाटबजारले ठोरी र आसपास अन्य पालिकाका किसानहरूलाई पशुपालनतर्फ आकर्षित पार्ने दाबी गरिन् । उनले पशु हाटबजारबाट विजयबस्तीका जनता लाभान्वित हुने र बन्द व्यापारमा पनि टेवा पुग्ने बताइन् ।
बजार समितिका अध्यक्ष हीराबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष मानबहादुर थिङ, नेकपा एमाले ठोरी गापा अध्यक्ष खगेन्द्र श्रेष्ठ, पशु क्वारेन्टाइन कार्यालय वीरगंजका प्रमुख डा. हरेरामप्रसाद यादव, डा. पुष्पेन्द्र साह, डा. दिनेशकुमार तिवारी, जीराभवानी गापाका पशु शाखा प्रमुख छत्रबहादुर साह, इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक श्यामकृष्ण श्रेष्ठ, सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट सुवर्णपुरका सशस्त्र प्रहरी निरीक्षक दीपक नापितको सहभागिता थियो ।
यसअघि पर्सा जिल्लाको जगरनाथपुर गापामा पहिलो पशु हाटबजार सञ्चालनमा आएको थियो । कार्यक्रमको सहजीकरण गोपी श्रेष्ठले गरेका थिए ।