देखाउने र खाने, हात्तीको दुई किसिमको दाँत हुन्छ । जसले यो सामान्य कुरा बुझ्दैन, उसले हात्तीको स्वभावलाई बुझ्न सक्दैन । वास्तविकता बुझ्न नसके ठोकर लाग्छ, धोखा खाइन्छ, दुर्घटना हुन्छ । हाम्रो मुलुकका राजनीतिक दलहरूको शैली हात्तीको दाँतजस्तै छ । त्यसलाई स्थानीय नेता, कार्यकर्ताहरूले बुझ्न सकेका छैनन् । त्यसैले उनीहरू पटकपटक धोखा खाइरहेका छन् । यति बेला राजनीतिक दलहरूलाई उम्मेदवार छनोट गर्ने चटारो छ । दलहरूले आसन्न प्रतिनिधि सभा र प्रदेशसभाका लागि उम्मेदवार छनोट गरी विकल्प सहित सिफारिश गर्ने जिम्मेवारी प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय एकाइ र प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय एकाइलाई सुम्पेको छ । केन्द्रीय पार्टीले अन्तर्पार्टी निर्देशन जारी गरेर अधिकार प्रत्यायोजन गरेपछि स्थानीय पार्टी एकाइहरू भुईंमा न भाँडामा भएका छन् । टिकटको लागि अहिले स्थानीयस्तरमा गुट–उपगुट चलेको छ । आफूले चाहेको नाम सिफारिश गराउन जुनसुकै हतकण्डा अपनाउन उनीहरू तयार छन् । कतिपय एकाइले एकल नाम छनोट गरेका छन् भने कतिपयले एउटा पदका लागि दर्जनौं नाम सङ्कलन गरेका छन् । केन्द्रीय पदाधिकारीको एकल नाम उम्मेदवारको रूपमा सिफारिश गरी पठाउने एकाइहरू पनि धेरै देखिएका छन् ।
को कहाँबाट चुनाव लड्ने वा नलड्ने कुरा केन्द्रीय स्तरमा एक किसिमले पहिले नै तय भइसकेको हुन्छ । पार्टी हाँक्ने नेतृत्वले निर्वाचन क्षेत्रबारे केही बुझेका हुँदैनन् भनी ठान्नु मूर्खता हो । पाँच वर्ष अघि चुनाव जितेर गाउँ बिर्सेका नेताहरूलाई कार्यकर्ताबीच आउन कुनै न कुनै बहाना चाहियो । उम्मेदवार चयनका निम्ति छलफल गर्ने बहानामा स्थानीय नेता, कार्यकर्तासँग उठ–बस, घुलमिल हुन पाइन्छ, तब मात्रै भोलि टिकट वितरण भइसकेपछि कार्यकर्ताको साथ मतदाताको घरदैलोमा जान सहज हुन्छ । यसको अर्को पक्ष पनि छ, उम्मेदवार चयन गर्ने अधिकार स्थानीय एकाइलाई दिंदा उनीहरू उपल्लो नेतृत्वलाई गुनासो गर्ने आपसी खिचातानीमा व्यस्त हुनेछन् । अन्ततः केही नलागेपछि उपल्लो तहलाई अधिकार सुम्पुवा गरिदिनेछन् । विगत देखि वर्तमानसम्म त्यही हुँदै आएको छ ।
विकल्पसहित उम्मेदवारको नाम पठाउँदा केन्द्रीय नेतृत्वले चाहेको व्यक्ति त्यसमा अवश्य नै पर्छ । अन्तिम वरीयतामा पठाए पनि टिकत उसैले पाउने हो । एकल नाम पठाउँ भने पार्टी निर्देशनविपरीत ठहर्ने हुँदा त्यसमा प्रदेश वा केन्द्रले नाम थप्न सक्छ । यसो हुँदा त्यहाँ केन्द्रले चाहेको उम्मेदवार प्रवेश गर्ने बाटो खुल्छ । हरेक पार्टीको उम्मेदवारको मनोनयन व्यावहारिकरूपले केन्द्रीय अध्यक्षमा निहित छ । अध्यक्ष भन्दा अरू पदाधिकारी पनि प्रभावशाली रहेको पार्टीमा पदाधिकारीबीच केही विचार विमर्शसम्म हुन सक्ला । केन्द्रीय सदस्यहरूले त टिकटबारे अरूको लागि मुख खोल्न पनि सक्दैनन्, किनभने उनीहरूलाई आफ्नै टिकट धान्न धौधौ परिराखेको हुन्छ । यसर्थ स्थानीय तहलाई उम्मेदवार चयनका निम्ति दिइएको अधिकार हात्तीको देखाउने दाँत मात्रै हो । यसलाई अधिकांशले बुझेका छैनन् । नेपाली काङ्ग्रेसका अमरेश कुमारको नाम स्थानीय एकाइले सिफारिश गरेन तर उनले नै टिकट पाउने प्रबल सम्भावना छ । पर्सामा भर्खर एमाले प्रवेश गरेका प्रह्लाद गिरीको नाम पनि स्थानीय एकाइले सिफारिश गरेको छैन । सम्भवतः भोलि उनकै नाममा टिकट आउन सक्छ । जबसम्म यो तथ्य स्थानीय कार्यकर्ताले बुझ्दैनन् तबसम्म नेतृत्वले खेलिरहने छ ।