अहिले नेपालमा दुईवटा कुराले चर्चा पाइरहेको छ । भर्खरै मधुमास बिताएका स्थानीय जनप्रतिनिधिहरूको कार्यकालको सय दिनको उपलब्धि र आउँदो मङ्सिरमा हुने प्रदेश र सङ्घको निर्वाचन । पहिलो चरणमा त जनप्रतिनिधिहरूको उपलब्धि उनीहरूले बताउनुभन्दा जनता आफैंले देखे–भोगेको छ । तर दोस्रो चरणको कुरा भने भविष्यको गर्भमा छ । यद्यपि त्यसबारे पनि मोटामोटी लख काट्न नसकिने होइन, तर पनि नेपाली मतदाता कुन बेला कुन कोल्टे फेर्छ भन्न गा¥हो छ । कहिले राजनीतिक दलहरूको विश्लेषणविपरीत प्रतिक्रिया दिइरहेको हुन्छ भने कहिले सर्वथा अनुकूल । तर यसपालि राजनीतिक दलहरू गठबन्धन बनाएर चुनाव लडिरहेका छन्, यस कारण होइन कि विपक्षी नेकपा एमालेलाई पराजित बनाउनु छ, अपितु सत्तामा बस्दाबस्दा श्रीहीन, आलोचित र पत्रु साबित भइसकेका दलका नेताहरूले फेरि चुनाव जित्नु छ । संसारमा सबै पार्टी अल्पमतमा परेपछि सरकार बनाउन गठबन्धन गरेको सुनिए–देखिएको भए पनि चुनाव नै जित्नका लागि गठबन्धन भने नेपालबाहेक अन्यत्र हुने गरेको बिरलै देखिन्छ । हुनत यो अभ्यास दलहरूले स्थानीय चुनावमा गरिसकेका छन् र एमालेविरुद्ध गठबन्धन सफल पनि भइसकेको छ ।

नेपालमा बग्रेल्ती राजनीतिक दलहरू छन् । ती सबै छुट्टाछुट्टै सिद्धान्तबाट प्रेरित भएर, अलग–अलग कार्यनीतिका लागि खोलिएका होइनन् । राजनीतिलाई धमिलो बनाउने मात्र उनीहरूको एक मात्र लक्ष्य हो । किनकि पानी धमिलो छ भने माछा मार्न सजिलो हुन्छ । राजनीति धमिलिएको छ भने सत्तामा पुग्न सजिलो हुन्छ । र भनिरहनुपर्दैन, जब एउटा सानो मुलुकमा सय बढी राजनीतिक दलहरू हुन्छन् भने तिनको उद्देश्य राजनीतिलाई धमिलो पार्नुबाहेक अरू केही हुन पनि सक्दैन । अहिले विश्वमा चलेको राजनीतिक सिद्धान्त अनुसार यहाँ बढीमा दुई धारका राजनीतिक दलहरू हुनुपर्ने हो–प्रजातान्त्रिक र साम्यवादी । सFम्यवादी दलहरू नै यहाँ दर्जनौं छन् । मौका पाए चौका हान्ने दाउमा एउटै सिद्धान्त मान्नेहरूको अलगअलग दल बनेको हो । हिजोआज राजनीति, सिद्धान्तभन्दा आर्थिक नीतिका आधारमा चलेको छ । विकसित मुलुकहरूमा त यही देखिएको छ । यसर्थ देशमा उदारवादी अर्थव्यवस्था मान्ने प्रजातान्त्रिक पार्टी र राज्य नियन्त्रित अर्थतन्त्र मान्ने साम्यवादी पार्टीबीच मात्र सत्ता सङ्घर्ष चल्नुपर्ने हो । राजशाहीको धङधङी मेटिइ नसकेको हुँदा एउटासम्म त्यस अन्तर्गतको पार्टी स्वीकार्य हुन सक्छ । तर होइन, दर्जनौं साम्यवादी, कैयौं दर्जन प्रजातान्त्रिक र राजावादी पनि दुईभन्दा बढी हुनु राजनीति धमिल्याउने प्रयास नै त हो नि !

आजको विश्वमा मुख्य सङ्घर्ष नै साम्यवाद र प्रजातन्त्रबीच रहेको छ । तर आश्चर्यको देश नेपाल मात्र छ, जहाँ प्रजातान्त्रिक र साम्यवादी मिलेर चुनावी गठबन्धन बनाउँछन्, त्यो पनि अर्को वामपन्थी पार्टीविरुद्ध । यो राजनीतिक सिद्धान्त र नैतिकताविपरीत हो । दलहरूले एक्लाएक्लै चुनाव लडेर बहुमत प्राप्त नभएको अवस्थामा, सरकार बनाउनका लागि मात्र गठबन्धन हुनुलाई स्वाभाविक र जायज मान्न सकिन्छ । तर जहाँ भ्रष्टाचार सदाचार बनेको छ, देशभन्दा व्यक्ति ठूलो बन्दछ,  संविधानभन्दा कानून र कानूनभन्दा परिपत्रले महŒव पाउँछ, त्यहाँ यस्ता कुरालाई चिर्न, सही राजनीतिक स्पर्धा कायम गराउन मतदातामा नै सुझबुझ र राजनीतिक चेत हुनु आवश्यक छ । आउँदो चुनावमा नेपाली मतदाताले त्यो विवेक देखाउला ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here