मस्को, १८ भदौ/एपी
शीतयुद्ध अन्त्य गर्न र सोभियत सङ्घको विघटनलाई गति दिन कठोर सुधारको पहल गरेका पूर्व सोभियत नेता मिखाइल गोर्बाचोभलाई श्रद्धाञ्जलि दिन शनिवार हजारौंको सङ्ख्यामा शोकसन्तप्त मानिसहरू लामबद्ध भएका छन् ।
क्रेमलिनले राजकीय अन्त्येष्टिको घोषणा गर्न अस्वीकार गर्नु गोर्बाचोभको विरासतको बारेमा उसको बेचैनीलाई प्रतिविम्बित गरेको छ । गोर्बाचोभलाई कट्टर साम्यवादी शासनको विकल्पमा उभ्याएकोमा विश्व समुदायको मिश्रित प्रतिक्रिया रहने गरेको छ । कम्युनिस्ट समाजवादी धारले उनलाई सोभियत सङ्घ विघटनको दोषी मान्ने गरेको छ भने अमेरिकालगायतका देशले प्रशंसा गर्ने गरेका छन् ।
सोभियत सङ्घको पतन र त्यसपछिको आर्थिक मन्दीको लागि सोभियत सङ्घमा धेरैले उनको आलोचना गर्ने गरेका छन् । उनको कदमले रूसी जनतालाई गरीबीमा डुबाएको बुझाइ रूसीहरूको रहेको छ ।
गत बिहीवार पुटिनले मस्कोको एक अस्पतालमा गोर्बाचोभको कफिनमा निजीरूपमा पुष्पगुच्छा अर्पण गर्दै गोर्बाचोभको अन्तिम बिदाइ गरेका थिए । क्रेमलिनले राष्ट्रपतिको व्यस्तताले उनी अन्त्येष्टि कार्यक्रममा सहभागी हुन नसक्ने बताएको छ ।
पुटिन कुन खास काममा व्यस्त रहेको भनी सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शनिवार पत्रकारहरूसँग भने, “राष्ट्रपति पुटिनले शृङ्खलाबद्ध बैठकहरू, अन्तर्राष्ट्रिय फोन कलहरू गर्नेछन् र अर्को हप्ता रूसको सुदूरपूर्वमा एक व्यापार मञ्चको लागि तयारीको कार्यक्रम छ ।”
९१ वर्षको उमेरमा मङ्गलवार निधन भएका गोर्बाचोभलाई उनकी पत्नी रायसाको छेउमा रहेको मस्कोको नोभोडेभिची चिहानमा अन्त्येष्टि गरिनेछ । उनलाई हाउस अफ द युनियन्सको पिलर हलमा बिदाइ समारोहपछि अन्त्येष्टि गरिनेछ । रासस