प्रस, वीरगंज, ११ भदौ/

पर्साका १४ वटा स्थानीय पालिकामध्ये सबैभन्दा बढी मिटरब्याजी वीरगंज महानगरमा फेला परेको समाचार प्राप्त भएको छ ।

नेपाल सरकारले केही दिनअघि देशभरिमा रहेका मिटरब्याजीविरुद्ध पीडितहरूलाई जिल्ला प्रशासन कार्यालयमा उजूरी दिन सार्वजनिक सूचना आह्वान गरेपछि पर्सामा ८२ वटा उजूरी  परेको छ । सोमध्ये वीरगंज महानगरका ३७ जना मिटरब्याजीविरुद्ध उजूरी दर्ता भएको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ ।

त्यस्तै, पर्साका १३ वटा पालिकामध्ये पोखरिया र बहुदरमाई नगरपालिकामा चार/चार जना, विन्ध्यवासिनी, कालिकामाई, धोबिनी गाउँपालिका तीन/तीन जना, छिपहरमाई, बाराका फेटा, परवानीपुर गापामा दुई/दुई जना, पटेर्वासुगौली, पकाहामैनपुर, सखुवाप्रसौनी, जीराभवानी, ठोरी गाउँपालिकामा एक/एक जना मिटरब्याजीविरुद्ध उजूरी परेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

पर्सामा धेरै मिटरब्याजी भएपनि  प्रचारप्रसारको अभावमा पीडितहरूले उजूरी दिन नसकेको सप्रजिअ पौडेलको भनाइ छ । पर्साका अन्य पालिकाहरू जिल्ला सदरमुकामबाट टाढा रहेको तथा पीडितहरू समाजमा दबिएका व्यक्तिहरू भएकोले उनीहरूसमक्ष सूचना नपुगेकोले उजूरीको सङ्ख्यामा कमी आएको उनको भनाइ थियो । उजूरीबारे छानबीनको लागि सबै निवेदन प्रमाणसहित जिल्ला प्रहरी कार्यालय, पर्सामा पठाएको सप्रजिअ पौडेलले बताए । नेपाल सरकारले उजूरी दिने अन्तिम म्याद भदौ ५ गते तोेकेको र समयभित्र परेका सबै उजूरी भदौ ८ गते जिल्ला प्रहरी कार्यालय, पर्सामा पठाएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here