प्रस, जनकपुरधाम, ९ भदौ/
आन्दोलनरक्त सुकुमबासी तथा चुरे वन संरक्षण अभियानले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबूराउत गद्दीको पुतला दहन गरेको छ ।
बिहीवार दिउँसो जनकपुरधामस्थित मिल्स एरियाको मुख्य सडकमा प्रदर्शनकारीहरूले मुख्यमन्त्री गद्दीको पुतला जलाएका हुन् । मुख्यमन्त्री कार्यालय अगाडि पुतला दहन गर्न गइरहेको ठूलो समूहलाई प्रहरीले रोकेपछि सुकुमबासी तथा चुरे वन संरक्षणका अभियानकर्मीहरूबीच घम्साघम्सी भएको थियो । दिउँसो करीब दुई घण्टासम्म मिल्स एरियाको स्थिति तनावग्रस्त बनेको थियो ।
प्रदर्शनकारीहरूले मुख्यमन्त्रीविरुद्ध नाराबाजी गर्दै पुतला दहन गरेका थिए । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १४ जना प्रदर्शनकारी घाइते भएको आन्दोलनरत पक्ष्Fको भनाइ छ । विगत लामो समयदेखि जनकपुरधाममा सुकुमबासी तथा चुरे वन संरक्षण अभियानले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएको छ । सिराहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वनको जग्गा फिर्ता लिनुपर्ने, सक्कली सुकुमबासीलाई अविलम्ब जग्गा उपलब्ध गराउनुपर्ने, नक्कली सुकुमबासीलाई वनको जग्गा वितरण गर्ने कार्य रोक्नुपर्नेलगायतका माग राखेर अभियानले प्रदेश राजधानी केन्द्रित आन्दोलन गर्दै आएको छ ।
जायज माग राखेर शान्तिपूर्ण प्रदर्शन गर्दा मधेस सरकारले प्रहरी परिचालन गरी दमन गरेको सुकुमबासी तथा चुरे वन संरक्षण अभियानका संयोजक सुनील यादवले बताए । उनले १५० जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको बताउँदै सोको विरोध गरे ।
प्रदर्शनमा महिलाहरूको उल्लेखनीय सहभागिता थियो ।
प्रदर्शनकारीमाथि प्रहरीले दमन नगरेको जिकिर गर्दै जिल्ला प्रहरी कार्यालय, धनुषाले अप्रिय घटना हुनबाट रोक्नका लागि प्रहरी तैनाथ गरिएको र सो क्रममा नियन्त्रणमा लिएकाहरूलाई मुक्त गरिसकेको जनाएको छ ।