प्रस, वीरगंज, ९ भदौ/
पर्सागढी नगरपालिका–२ मा विद्यमान भूमिसम्बन्धी समस्या समाधान गर्न नापनक्शाको काम भदौ १५ गतेदेखि अघि बढाउने सहमति भएको छ ।
राष्ट्रिय भूमि आयोग, पर्साका अध्यक्ष तबरेज अहमदसहितको पदाधिकारी र कर्मचारीहरूको संयुक्त टोलीले बिहीवार स्थलगत अनुगमन गर्दैै नापनक्शाको काम अघि बढाउने आश्वासन दिएका हुन् । पर्सागढी–२ कटानी, शान्तिटोल र वडा नं १ को जमुनाटोलमा वर्षाैंदेखि बसोबास गर्दै आएका स्थानीयको नाममा जग्गाको लालपुर्जा छैन ।
विसं २०३५ सालतिर जङ्गल पँmडानी गरेर त्यहाँ बस्ती बसेको थियो । आयोग गठन हुने, फाराम भर्न लगाउने काम भने विगतदेखि नै हुँदै आएको छ । तर ती गाउँको भूमिसम्बन्धी समस्या समाधान हुन सकेको छैन । स्थानीय बालकृष्ण श्रेष्ठले विसं २०५८ सालमा तत्कालीन सुकुमबासी आयोगले ३६ जनालाई लालपुर्जा दिएको बताए । स्थानीय कार्यालयदेखि मन्त्रालयसम्म पटक–पटक धाउँदा पनि लालपुर्जा प्राप्त नभएको गुनासो उनको छ ।
आयोग पर्साका अध्यक्ष अहमदले यसअघिका आयोगले छोडेका अधूरा काम अघि बढाउन स्थलगत अनुगमन गरिएको बताए । भूमिसम्बन्धी समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेर पर्सागढी नगरपालिकाले लगत सङ्कलन गरिसकेको छ ।
एक हजार ६८३ जना भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीले फाराम भरेका छन् ।
पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले पालिकामा विद्यमान भूमिसम्बन्धी समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।
स्थलगत अनुगमनमा वडाध्यक्ष वीरेन्द्र महतो, मेन्टेनेन्स नापी शाखा, पर्साका प्रमुख नारायण श्रेष्ठ, भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका प्रमुख ऋषिकुमार दाहाल, भूमि आयोग पर्साका सदस्यहरूको सहभागिता थियो ।