प्रस, वीरगंज, ९ भदौ/
पर्सा जिल्लाका १४ वटै पालिकामा दिवाखाजा व्यवस्था सञ्चालन भएपनि अहिले यसमा अनियमितता भएको आरोप लागेको छ ।
सरकारले दिवाखाजाको लागि प्रतिविद्यार्थी रु १५ व्यवस्था गरेको र सोसँगै छ दिनको खाजा सूची पनि सार्वजनिक गरेको थियो ।
शिक्षा विभागले जारी गरेको खाजा सूची अनुसार पहिलो दिन आइतवार सेवई, दोस्रो दिन सोमवार अन्डा, तेस्रो दिन मङ्गलवार र बुधवार भुजा र चना, चौथो दिन बिहीवार हलुवा र छैटौं दिन शुक्रवार अन्डा खुवाउनुपर्नेछ । तर महानगरका कतिपय विद्यालयमा रु १० को बिस्कुट खाजास्वरूप दिइन्छ ।
त्यसैगरी, ग्रामीण क्षेत्रमा तोके अनुसारको मापदण्डमा खाजा खुवाउने नगरेको गुनासो छ ।
प्रतिदिन विद्यार्थी हाजिरीको दरले खाजा खर्च दिनुपर्नेमा त्यसमा पनि अनियमितता भएको स्रोतले जनाएको छ । थोरै सङ्ख्यामा विद्यार्थी नआएमा गणना नगरिने र शुक्रवारको दिन प्रायःजसो सामुदायिक विद्यालयहरूले खाजा नखुवाउने गरेको गुनासो छ । कतिपय सामुदायिक विद्यालयका प्रअहरूले खाजा भत्ताको ८० प्रतिशत अनियमितता गर्ने गरेको आरोप छ ।
सूची अनुसारको खाजा नखुवाउने, खुवाएको खाजा पनि कमसल हुने गरेको बताइन्छ ।
कतिपय विद्यार्थीले खाजाको नाममा चामल, नून, बेसार राखेर उमालेको जाउलो र हलुवा मात्र दिने गरेको बालबालिकाहरूले गुनासो गरेका छन् । स्थानीय पालिकाले यसको अनुगमन गर्नुपर्नेमा नगरेका कारण अनियमितता बढेको बताइन्छ । प्रअहरूले खाजा खर्च आफ्नो खल्तीमा राख्ने गरेको शिक्ष्Fकहरूको गुनासो छ । केही मात्र प्रअहरूले खाजामा पारदर्शिता अपनाएका छन् । अधिकांशले भने अनियमितता गरिरहेको बताइन्छ ।