- श्रीमन्नारायण
दक्षिणी छिमेकी भारत स्वतन्त्रताको ७६औं वर्षमा प्रवेश गरेको छ । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारत विगत साढे सात दशकमा विभिन्न आरोह–अवरोहको सामना गर्दै अहिले विश्वकै महाशक्ति राष्ट्र बन्ने अवस्थामा पुगेको छ । भारतले आर्थिक, सांस्कृतिक, विज्ञान, अन्तरिक्ष तथा सूचना प्रविधिको क्षेत्रमा प्राप्त गरेको उपलब्धिले उसलाई निकै तीव्र गतिमा विश्वमञ्चमा एक प्रमुख शक्तिको रूपमा स्थापित गरेको छ । जी–७, ब्रिक्स, इन्डो प्यासिफिक, क्वाड, आशियान र बिमस्टेक जस्ता क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागी हुने एक्लो हैसियत बनाएको भारत वर्तमान अवस्थामा अमेरिका, रूस, चीन, ब्रिटेन, जर्मनी र फ्रान्सलाई समेत आफ्नै शर्त अनुसार मित्रता कायम राख्न बाध्य गरेको छ । आधुनिक भारतको यो कुशल एवं सफल परराष्ट्रनीतिको सङ्केत हो । नेपालको दक्षिणी छिमेकी राष्ट्र भएको तथा हामी दुई देश एउटै सनातन धर्म एवं संस्कृतिको साझा वाहक भएका कारण कतिपय मामिलामा हामी अभिन्न पनि छौं । नेपाल र भारत दक्षिण एशियाका दुई यस्ता मित्रराष्ट्र हुन्, जसलाई भूगोल र इतिहासले पनि सँगसँगै गाँसिदिएको छ । खुला सिमाना, धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्धले हामीबीचको मित्रतालाई निरन्तररूपमा सुदृढ बनाउँदै लगेको छ ।
नेपाल र भारतबीचको भौगोलिक सन्निकटता, आर्थिक अन्तरसम्बन्ध राज्यस्तरमा मात्रै सीमित नभई जनस्तरमा समेत गहिरो र फराकिलो रहेको छ । नेपाल र भारतको सम्बन्धलाई परिभाषित गर्नु सहज र सरल छैन । सरकारहरूको आफ्नै समस्या, परिस्थितिजन्य बाध्यता हुन सक्छ तर नयाँ दिल्ली र काठमाडौंले निर्धारण गरेको सम्बन्धभन्दा निकै गहिरो र व्यापक यी दुई देशका जनताबीचको सम्बन्ध रहेको छ । त्रेतायुगमा अवधका राजकुमार रामको विवाह मिथिलाकी राजकुमारी सीतासित भएको थियो । सीताराम प्रत्येक हिन्दूका निम्ति आस्था, विश्वास र मुक्तिको शब्द बन्न गएको छ । त्रेतायुगमा १४ हजार वर्षअघि स्थापित यो सांस्कृतिक सम्बन्ध नेपालको राजपरिवारदेखि लिएर सर्वसाधारणसम्म कायम रहेको छ । राजनीतिक कारणले पूर्वाग्रही मानसिकता राखेकाहरूले यसमा पनि व्यवधान खडा गर्ने प्रयास गर्दै आएका छन् । तर तिनको कुत्सित मानसिकता सफल नहुने निश्चित छ । यस वैवाहिक सम्बन्धले कायम गरेको आत्मियता, मित्रता र सहयोगको भावनाको विश्लेषण सम्भव छैन । नेपाल–भारत सम्बन्ध कागजको टुक्राबाट नभई जनभावनाबाट बनेको हो, यो सम्बन्ध कुनै शासकद्वारा अथवा राजनीतिक दलद्वारा नभई जनस्तरबाट स्थापित रहेको छ र निरन्तररूपमा सुदृढ एवं विकसित हुँदै गएको छ । यसको गहिराइ र व्यापकताको विश्लेषण सम्भव छैन । भारतका स्वतन्त्रता आन्दोलनमा नेपालीहरूले र नेपालको प्रत्येक राजनीतिक परिवर्तनमा भारत र भारतीयहरूको सहयोग यसैको उदाहरण हो ।
नेपालका प्रथम शहीद शुक्रराज शास्त्रीका बुबा माधवराज जोशीले आफ्नो मित्र भारतका पञ्जाबी मास्टर गुरुदयाल बिएलाई भदौ महीनामा काठमाडौंको डाँडा कटाउँदा नेपालमा प्रजातन्त्रको स्थापनार्थ शहीद हुने पहिलो भारतीय थिए । त्यति बेला नेपालमा चन्द्र शम्शेरको शासन थियो । मास्टर गुरुदयाल नेपालमा शिक्षकको रूपमा सेवा दिइरहेका थिए । १९९० माघ १० गतेका दिन पचली भैरवमा शहीद भएका शुक्रराज शास्त्री पनि महात्मा गाँधी, पण्डित जवारहलाल नेहरू र नेताजी सुभाषचन्द्र बोसबाट प्रभावित थिए ।
२६ जनवरी १९४७ मा कोलकाताको खालसा कलेजमा नेपाली काङ्ग्रेस (तत्कालीन अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस)को स्थापना भएको थियो । यसको घोषणापत्रमा भारत र नेपालको स्वतन्त्रताको लागि समानरूपमा लड्ने प्रतिबद्धता यस पार्टीका नेता एवं सदस्यहरूले व्यक्त गरेका थिए । सन् १८५७ को सिपाही विद्रोहलाई कुल्चिन राणा प्रधानमन्त्री जङ्गबहादुरले अङ्ग्रेज शासकलाई गोर्खाली सहयोगको मदत गरेका थिए, जबकि नेपालका जनता भने भारतका जनता र विद्रोही आन्दोलनकारीहरूको पक्षमा थिए । भारतको स्वाधीनता आन्दोलनमा शान्तिप्रिय नेपाली जनता महात्मा गाँधीको अपीलमा अहिंसक आन्दोलनमा सहयोग गरिरहेका थिए भने नेपालका कतिपय युवाहरू नेताजी सुभाषचन्द्र बोसको नेतृत्वको आजाद हिन्द फौजमा सहभागी भई आन्दोलनमा सामेल थिए । नेताजी सुभाषचन्द्र बोसका सहायक पञ्जाब भाक्सुमा जन्मेका मेजर पूर्ण सिंहले नै २००७ सालमा नेपालको जनमुक्ति सेनाको कमान सम्हालेका थिए । विपी कोइराला स्वयंले आफ्नो पहिलो कविता इसं. १९३० मा हिन्दी भाषामा मुम्बईमा लेखेका थिए, जसको शीर्षक थियो ‘स्वतन्त्र भारतको जय’ । नेपाल कम्युनिस्ट पार्टीको जन्म पनि भारतमैं भएको थियो । बनारसमा जन्मेका विपी कोइराला, रामनगरमा जन्मेका कृष्णप्रसाद भट्टराई र सहरसामा जन्मेका गिरिजाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भए ।
नेपालमा राणाविरोधी आन्दोलनमा सप्तरीको कुशहाघाटमा शहादत दिने डा कुलदीप पनि भारतीय नै थिए । जनआन्दोलन–२ मा बिहार सीतामढीका मोहम्मद जहाँगिरले बानेश्वर काठमाडौंमा शहादत दिएका थिए । भारतको स्वाधीनता आन्दोलनताका भारतका आन्दोलनकारीहरू अङ्ग्रेजहरूको व्यापक दमन, अत्याचार एवं गिरफ्तारीबाट बच्न सीमावर्ती नेपालको तराई क्ष्Fेत्रमा पनि लुकेर बस्दथे । सप्तरीको हनुमाननगर जेलमा जयप्रकाश नारायणजस्ता नेतालाई पनि पक्राउ गरेर राखिएको थियो । स्थानीय जनताले जेल फुटाइ तिनलाई मुक्त गराएका थिए । पश्चिमी तराईमा अवध नवाबका महारानी बेगम हजरत महल पनि अङ्ग्रेजको आतङ्कबाट बच्न महीनौं कपिलवस्तुमा समय बिताएकी थिइन् । स्व विपी कोइराला र मनमोहन अधिकारी त भारतको स्वाधीनता आन्दोलननमा पक्राउ पनि परेका थिए । बिहारको राजधानी पटनामा स्व विपी कोइरालाको स्मारक हुनु यसैको सङ्केत हो । नेपाली काङ्ग्रेसले राणाशासनको विरोधमा सशस्त्र सङ्घर्षको उद्घोष पनि रौतहटको सीमावर्ती भारतीय बजार बैरगनिया सम्मेलनबाट गरेका थिए ।
जहानियाँ राणा शासनको अन्त्यको निम्ति तत्कालीन राजा त्रिभुवनले काठमाडौंस्थित भारतीय राजदूतावासमा शरण लिएका थिए र विशेष वायुयानमार्फत नयाँ दिल्ली पुगेका थिए । भारतका तत्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको पहलमा राणा, नेपाली काङ्ग्रेस र राजा त्रिभुवनबीच सम्झौता भई नेपालमा प्रजातन्त्रको स्थापना भएको हो ।
भारत स्वतन्त्र भएपछि मात्रै नेपाल र भारतबीच स्वतन्त्र र सार्वभौम दौत्य सम्बन्ध स्थापित भयो र प्रथमपटक सुरजित सिंह मजिठिया राजदूतको रूपमा नेपाल आए, जबकि नेपालको तर्फबाट सम्भवतः सिंहशम्शेर राणा भारतका राजदूत नियुक्त भए । सन् १९५० को ३१ जुलाईमा नेपाल र भारतबीच भएको शान्ति एवं मैत्री सन्धिमा सर्वप्रथम दुवै देशलाई समानरूपले स्वतन्त्र, अखण्ड र पूर्ण सार्वभौम सत्ता सम्पन्न देशको रूपमा दर्जा दिइयो ।
विसं २०१७ पुस १ गते राजा महेन्द्रले संसदीय बहुदलीय व्यवस्थालाई अन्त्य गरी देशमा निर्दलीय शासन लागू गर्दा र नेपालको प्रजातन्त्रवादीहरूलाई जेलमा राख्दा सर्वप्रथम भारतले नै त्यसको विरोध गरेको थियो । नेपालका प्रजातन्त्रवादीहरू पुनः भारतमैं निर्वासनमा रहन बाध्य भए । डेढदेखि दुई दशकसम्म नेपाली नेताहरूले भारतमा शरण लिनुप¥यो । विसं २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा पनि भारतका तत्कालीन नेताहरू चन्द्रशेखर, सुब्रमण्यम स्वामी, एमजे अकबर, एम फारुकी, हरकिसन सिंह सुरजितहरू काठमाडौंमा आएर राजतन्त्रविरोधी सम्बोधन गरी नेपालका प्रजातन्त्रवादीहरूलाई आन्दोलनको निम्ति उत्प्रेरित मात्रै गरेनन्, अपितु आन्दोलनमा भारतको पूर्ण सहयोगको वाचा पनि गरे । आन्दोलन सफल पनि रह्यो । फेरि विसं २०५९ सालमा राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिंदा भारतले माओवादी र सात दललाई एउटै थलोमा ल्याइ १२ बुँदे सम्झौता गरी आन्दोलननको निम्ति उत्प्रेरित ग¥यो । आखिर नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना पनि भयो । नेपाल र भारतबीच द्विपक्षीय आर्थिक सम्बन्धको थालनी सन् १९५० को शान्ति तथा मैत्री सम्बन्धदेखि भएको हो । खासगरी त्रिभुवन राजमार्ग, केन्द्रीय टेलिग्रFम सेवा, वीर अस्पताल आदि पूर्वाधारहरू आज पनि दुई पक्षीय सम्बन्धका प्रतीकका रूपमा रहेका छन् । केही वर्षअघि मात्रै उद्घाटन गरिएको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरको निर्माण पनि भारतकै आर्थिक सहयोगबाट भएको हो ।
भारतले नेपालका विभिन्न क्षेत्रमा गरेको सहयोगमा सडकतर्फ पूर्व–पश्चिम महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ, सुनौली–पोखरा राजमार्ग तथा काठमाडौं दक्षिणकाली, काठमाडौं–बालाजु, काठमाडौं–त्रिशूली, काठमाडौं–गोदावरी मार्ग हुन् । भारत सरकारको आर्थिक सहयोगमा डेढ हजार किलोमिटर लामो, हुलाकी सडकको निर्माण कार्य जारी छ भने तराईका अधिकांश जिल्ला सदरमुकामलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने सडकको निर्माण पनि भारत सरकारकै सहयोगमा भएको छ अथवा भइरहेको छ । जलविद्युत्तर्फ देवीघाट, गण्डक, त्रिशूली, टनकपुरलाई लिन सकिन्छ भने माथिल्लो कर्णाली तथा अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माण कार्य पनि भारत सरकारकै सहयोगमा हुने भएको छ । दुवै परियोजना नौ/नौ सय मेगावाटका छन् । भारतबाट बिजुलीको अभाव भइरहेको कारण विगत केही वर्षदेखि लोडसेडिङ बन्द छ तर अब नेपालले भारतमा बिजुली निर्यात गरिरहेको छ । भारतसित भएको विद्युत् विकास तथा विद्युत् व्यापार निर्यातले नेपालको अर्थतन्त्रलाई मदत पु¥याउनेछ । ऊर्जा निर्यात हाम्रो आयको एउटा प्रमुख स्रोत बन्दै गएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, जनकपुर, सिमरा र भैरहवा विमानस्थलको निर्माण पनि भारत सरकारकै सहयोगमा भएको छ । त्यसैगरी, सञ्चार क्षेत्रमा पूर्व–पश्चिम अप्टिकल फाइबर नेटवर्क, गोश्वारा हुलाक काठमाडौं, वैदेशिक हुलाक कार्यालय भवन, झापा, वीरगंज, विराटनगर तथा जनकपुरधाममा टेलिफोन एक्सचेन्ज भवनको निर्माणमा पनि भारतले सहयोग गरेको हो ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग कोहलपुर र महेन्द्रनगर सडक अन्तर्गत २२ वटा पुललगायत अन्य क्षेत्रमा दर्जनौं पुलको निर्माण र नदीको तटबन्ध निर्माणमा पनि भारतले सहयोग गरेको छ । स्वास्थ्य विज्ञान क्ष्Fेत्रमा विपी कोइराला अथवा अनेकौं जिल्लामा अस्पताल भवनको निर्माण, शैक्षिक पूर्वाधार निर्माण क्षेत्रमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको विज्ञान भवन पुस्तकालय, छात्रावास, कर्मचारी भवन, त्रिचन्द्र कलेजको विज्ञान भवन, विराटनगरलगायत देशका विभिन्न भागमा सयकडौं विद्यालय भवनको निर्माणमा सहयोग गरेको छ । यसका अतिरिक्त ग्रामीण विद्युतीकरण, वीरगंजको सुक्खा बन्दरगाहलाई रेलसँग जोड्ने काम पेट्रोलियम पदार्थको सहज आपूर्तिको लागि अमलेखगंजसम्म पाइपलाइनको निर्माण, सूचना प्रविधिको विकासमा सहयोग, गोरखा रेजिमेन्टमार्फत हजारौं युवालाई जागीर, भारत सरकारले नेपालका करीब सबै जिल्लामा विकास निर्माणका कार्यक्रममा सहयोग गरेको छ । भारत सरकारले अहिलेसम्म आठ हजार करोडभन्दा बढी रुपैयाँको लगानी नेपालको विकास निर्माण कार्यमा गरेको छ । पाँच सयभन्दा बढी परियोजना पूरा भएका छन् अथवा सञ्चालनमा छन् । हालका दिनमा पनि विभिन्न जिल्लामा अस्पताल भवनको निर्माण, सडक तथा पुलको निर्माण, एम्बुलेन्स तथा स्कूल बसको उपहार स्वरूप प्रदान, विभिन्न तहका छात्रछात्राहरूलाई निश्शुल्क छात्रवृत्तिमा भारतको स्तरीय क्याम्पस र विश्वविद्यालयमा अध्ययनको अवसर प्रदान, सीमा जाँच चौकीहरूको निर्माण, रेलमार्ग पूर्वाधारको निर्माण, तराईका १५ वटा जिल्लामा २० भन्दा बढी सडकको निर्माण कार्य सबै तराई क्ष्Fेत्र र राजधानीलाई जोड्ने २६ किलोमिटर दूरीको काठमाडौं–हेटौंडा सडकको निर्माणमा पनि भारतले सहयोग गरेको छ । भारतले गरेका सबै सहयोगको उल्लेख गर्नु सम्भव पनि छैन । मित्रताको मापदण्ड लेनदेन मात्रै हुन सक्दैन तथापि दक्षिणी छिमेकी भारतले नेपालमा गरेको सहयोग मित्रता स्वरूपको उपहार हो । कोभिड–१९ को सङ्कटमा पनि भारतले गरेको सहयोग बिर्सिन सकिंदैन । भारतले स्वतन्त्रताको ७५औं वर्षलाई आजादीका अमृत महोत्सवको रूपमा निकै धूमधाम र उत्साहका साथ विभिन्न कार्यक्रमको आयोजना गरी वर्षभरि नै मनाएको छ । नेपाल–भारत सम्बन्ध अमर रहोस् ।