प्रस, वीरगंज, २६ साउन/
तिलावे पुलको उद्घाटन यही साउन २८ गते हुने भएको छ । हुलाकी सडक कार्यालयका सूचना अधिकारी दुर्गा मण्डलले भौतिक पूर्वाधारमन्त्री इस्तिहाक राइनले साउन २८ गते शनिवारका दिन पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।
उनले पुलको काम ८० प्रतिशत सम्पन्न भएको र उद्घाटनपछि दुई चक्के सवारी साधन मात्र गुड्न दिने बताए । पुल पूर्णरूपमा सञ्चालन कात्तिकदेखि हुने उनले जानकारी गराए । पुल निर्माणको ठेक्का २०७२ सालमा पप्पु र लुम्बिनी जेभीले सात करोड ११ लाखमा सकार गरेको थियो । पछिल्लो समयमा पप्पुले सो पुल निर्माणबाट हात झिकेको र लुम्बिनीले मात्र पुल निर्माणको कार्य गर्दै आएको थियो ।
अहिलेसम्म यो पुल निर्माणको लागि चारपटक म्याद थप भएको सूचना अधिकारी मण्डलले बताए । वर्तमान सरकारले सबै अधूरो ठेक्काको काम चालू आवको मसान्तसम्म अर्थात् असार मसान्तमा सम्पन्न गर्नुपर्ने गरी म्याद थप गरेको छ ।