जीतलाल श्रेष्ठ, निजगढ, २६ साउन/
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत निजगढ सडकखण्डमा जडान गरिएका सबै सिसिटिभी क्यामरा बन्द अवस्थामा छन् ।
इलाका प्रहरी कार्यालय, निजगढका प्रमुख एवं प्रहरी निरीक्षक सञ्जीव ओलीसँग बिग्रिएका क्यामराबारे चासो राख्दा वर्षा लागेपछि बिग्रन शुरू भएका क्यामराहरू केही साताअघिसम्म दुई/तीन वटा चले पनि त्यसयता सबै पूर्णरूपमा बिग्रिएका छन् ।
राजमार्गमा हुने गतिविधि तथा दुर्घटना हेरेर सुरक्षा टोलीलाई अनुसन्धानमा मदत पुगोस् भनेर राजमार्ग आसपासका पोलहरूमा जडान गरिएका १६ वटा क्यामरा तीन सातायतादेखि कुनै पनि नचलेको इप्रका, निजगढका प्रनि ओलीले बताए ।
सिसिटिभी क्यामरा जडित क्षेत्रको राजमार्गका गतिविधि प्रहरी कार्यालयको कन्ट्रोल रूमबाट नियाल्दै शङ्कास्पद गतिविधि भए तुरुन्तै प्रहरी परिचालन गर्न सहज हुने गरेको भएपनि वर्षा लागेपछि धमाधम क्यामरा बिग्रँदा अहिले राजमार्ग र आसपासका क्षेत्रमा सुरक्षा चुनौती बढेको प्रनि ओलीले बताए । बिग्रिएका क्यामराहरूको मर्मतसम्भार गरी सञ्चालनमा ल्याइदिनका लागि जानकारीका साथ इप्रका, निजगढले निजगढ नगरपालिकालाई एक साताअघि पत्राचार गरिसकेको भएपनि अहिलेसम्म मर्मतसम्भारका काम अघि बढ्न नसकेको प्रनि ओलीले जानकारी दिए ।
क्यामराले काम गर्न छोडेपछि निजगढका राजमार्ग, सडक, घरआँगन, कार्यालय परिसरमा राखिएका मोटरसाइकल चोरीका घटना बढिरहेको छ । गत असार ७ गते निजगढ नपा–९ तेस्रो लाइनका गोविन्द खरेल र वडा नं ७ लिचीटोलका जानुका सिग्देलको घरबाट दिउँसै चोर समूह पसी करीब ३३ लाख बराबरको गरगहना र रकम चोरी भएको निजगढ प्रहरीमा पीडितहरूको निवेदन परेको छ । यस घटनामा प्रहरीले अहिलेसम्म संलग्नहरूको सुइँकोसम्म पाउन सकेको छैन ।
सिसिटिभी क्यामरा सञ्चालन हँुदा चोरी गरी राजमार्ग भएर लगिएका मोटरसाइकललगायत अन्य घटनामा प्रहरीले सफलता पाएको प्रनि ओलीले बताए । अहिले प्रहरीलाई निकै समस्या छ । राजमार्ग आसपासमा चोरीका घटना हुने बित्तिकै पीडितहरू प्रहरी कार्यालयमा सिसिटिभीको फुटेज हेर्न आग्रह गर्छन् र हेर्न खोज्छन् । बिग्रिएको बताउँदा झट्ट विश्वास गर्दैनन् । प्रहरी नै यस्ता घटनामा संलग्न रहेको भन्नेसम्मका प्रश्न तेस्र्याउने गरिएको पाइएको एकजना सुरक्षाकर्मीले बताए ।
निजगढ नपाको करीब रु २२ लाखको लागतमा १६ वटा सिसिटिभी क्यामरा राजमार्ग र आसपासका क्षेत्रलाई समेट्ने गरी जडान गरिएको थियो ।
प्रमुख प्रशासनिक अधिकृत विवादले निजगढ नपामा तालाबन्दीका कारण बिग्रिएका क्यामरा मर्मतसम्भारमा नपाको ध्यान जान सकेको छैन ।