मुलुकमा कुल जमीनको क्षेत्रफलमध्ये वनजङ्गलको क्षेत्र करीब ४६.०७ प्रतिशत छ । काष्ठ तथा बुट्यानलगायत प्राकृतिक स्रोतले ढाकेका सम्पूर्ण क्षेत्रलाई वनको क्षेत्र मानिन्छ । यो क्षेत्रको विस्तार बढ्दो क्रममा छ । आजभन्दा आठ वर्ष पहिले सन् २०१४ मा मुलुकको कुल क्षेत्रफलको ४४.७४ प्रतिशत क्ष्Fेत्र वनले ढाकेको थियो । हिमालमा हिउँले ढाक्ने क्षेत्र घटबढ भइरहन्छ । वन अन्तर्गत पर्ने यस क्षेत्रमा जलवायु परिवर्तनका कारण हरेक वर्ष हिउँको क्षेत्र घट्दो छ । मुख्य वनजङ्गल रहेको क्षेत्र चुरे तथा तराई हो । यहाँ दिन प्रतिदिन वन अतिक्रमण बढ्दो छ । आव २०६७ देखि २०७७ दश वर्षको अवधिमा ६६ हजार ४३४ हेक्टर वनक्षेत्र अतिक्रमण भयो । वन मन्त्रालयकै प्रतिवेदनलाई मान्ने हो भने विसं २०४८ देखि २०६७ सम्म १९ वर्षे अवधिमा तराईमा ३२ हजार हेक्टर वन घटेको देखिन्छ । तराईको वन वार्षिक ०.४४ प्रतिशतले घट्दो छ । तराई र सँगै जोडिएको चुरेक्षेत्रमा पनि व्यापक वनविनाश भएको देखिन्छ । विसं २०५२ देखि २०६७ सम्म १५ वर्षको अवधिमा चुरेमा ३८ हजार ५१ हेक्टर वनक्षेत्र घटेको छ । यो क्षेत्रमा वार्षिक ०.१८ प्रतिशतका दरले वन घटेको देखिन्छ । पहाडमा वनक्षेत्र घट्ने दर चुरे तथा तराईमा भन्दा कम
छ ।
वनक्षेत्र अतिक्रमण र वनविनाशमा केही फरक छ । हुनत सीमा अतिक्रमण पनि वनविनाश नै हो । अतिक्रमण भन्नाले वनको सिमाना मिच्नु हो । सिमाना नमिची वनक्षेत्रभित्रका रूख तथा बोटबिरुवा मास्ने कार्य अतिक्रमण नभई वनविनाश हो । तराई क्षेत्रमा वार्षिक ०.४४ प्रतिशत र चुरे क्षेत्रमा वार्षिक ०.१८ प्रतिशतको दरले वनको सीमा क्षेत्र खुम्चिंदै गइरहेको देखिन्छ । उसो हो भने वनको क्षेत्रफल घट्नुपर्नेमा किन बढ्दो देखियो त ? अलमलिएको यसैमा हो । वनको क्षेत्रफल वृद्धि भएको प्रतिवेदन आएपछि नीति निर्माणका तहमा बस्नेहरू ढुक्क छन् । तर वास्तविकता त्यसो होइन । राष्ट्रिय वन स्रोत सर्वेक्षण (एफआरए)ले वनको क्षेत्रफल निकाल्दा सामुदायिक वन, निजी वन, बगैंचा, खोला, नदी, ताल, तलैया एवं रूखबिरुवा भएको क्षेत्र तथा प्राकृतिक स्रोतले ढाकेको सम्पूर्ण क्षेत्रलाई समेट्छ । यसर्थ वनको क्षेत्रफल बढेको देखिएको हो । वास्तविक वनक्षेत्र भने घट्दो छ । आबादी क्षेत्रका नम्बरी निजी जमीनहरू बाँझै राखेर बन्जर बनाउने, निजी वन लगाउने प्रवृत्ति बढ्दो छ । अर्कोतर्फ विभिन्न बहानामा वनक्षेत्र अतिक्रमण गर्दै आबादीको सीमा बढाउने क्रम जारी छ ।
कतिपय स्थानमा वन र आबादीको सीमा छुट्टयाउन गा¥हो छ । ‘जहाँदेखि वन छ, त्यहींदेखि वनको क्षेत्र’ भन्नुपर्ने अवस्था छ । राजनीतिमा तरलता छाउँदा कुनै पनि बेला यस्तो स्थानको फाइदा उठाउँदै नयाँ बस्तीहरू स्थापना हुने गरेका छन् । बर्सेनि ८/१० मिटर सीमा च्याप्दै वन साँघुरा पार्नेहरू प्रायः वनक्षेत्रका चारैतर्फ निरन्तर लागिरहेकै छन् । यही अवस्था रहने हो भने वन एकदिन राष्ट्रिय इतिहासमा सीमित हुनेछ । वनक्षेत्रको अतिक्रमण रोक्ने नै हो भने वन र आबादीको स्थायी सीमारेखा जरुरी छ । त्यसको निम्ति वन र आबादीको सीमा डिमरकेशनमा सडक निर्माण गरिनुपर्छ । सडक पार गरेर जङ्गल अतिक्रमण गर्दा जो कसैले पनि थाहा पाउँने हुँदा नियन्त्रण गर्न सहज हुन्छ । सडक निर्माणले वनको सीमामा गस्ती गर्न त सघाउ पुग्छ नै यसले वन पर्यटनको पनि विकास हुन्छ । यसो हुँदा स्थानीय स्वरोजगार सहज हुने भएकोले वनप्रतिको निर्भरता न्यूनीकरण गर्न टेवा पुग्छ ।