प्रस, वीरगंज, २५ साउन/
पर्साको ग्रामीण क्षेत्रलाई सदरमुकाम वीरगंजसँग जोड्ने तिलावे नदीमा निर्माणाधीन पक्की पुल अहिले उद्घाटनको विषयलाई लिएर विवादमा तानिएको छ ।
ठेकेदार कम्पनी पप्पु/लुम्बिनी जेभीले २०७२ सालमा ठेक्का लिएर २०७५ भित्रमा कार्य सम्पन गर्नुपर्ने थियो । तर अहिले पुल निर्माणको कार्य ८० प्रतिशत मात्र भएको छ र उद्घाटनको कुरालाई लिएर विवाद भएको हो ।
ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्शनले केही दिन अगाडि आफ्नो अधिकारिक पेजमा पुलको उद्घाटन आज मिति साउन २५ गते बुधवार भौतिक पूर्वाधार मन्त्री इस्तिहाक राइनले गर्ने भनेर प्रचार गरेको थियो । तर आज पुलको उद्घाटन भने भएन ।
सात करोड रुपैयाँमा ठेक्का सकार गरेको पुल निर्माण तोकिएको समयमा निर्माण हुन नसकेर विवाद भएपछि पप्पु कन्स्ट्रक्शनले सो पुल निर्माण कार्यबाट हात झिकेर लुम्बिनी कन्स्ट्रक्शनको जिम्मा लगाएको थियो । अहिले चुनावको मिति तोकिएपछि पप्पुले राजनीतिक फाइदाका लागि पुलको उद्घाटन मितिसमेत तोकेर हल्ला पिटेको जानकारहरू बताउँछन् ।
सात वर्षमा पुलको निर्माण हुन नसकेको अवधिमा सो योजनाबाट हात झिकेको र अहिले चुनावका बेला प्रचारप्रसार गरेपछि पप्पु कन्स्ट्रक्शन पुनः विवादमा आएको हो ।
पुलको निर्माण कार्य हेर्ने हुलाकी कार्यालयका सूचना अधिकारी दुर्गा मण्डलले पुलको निर्माण कार्य अहिले २० प्रतिशत बाँकी रहेको बताए । उनले पुल निर्माण सम्पन्न भएको तर पुलको दुवैतर्फ सडकको साइड बेस कालोपत्र नभएको, दुवै साइड तटबन्धको कार्य बाँकी रहेको बताए ।
अहिले फेरि यो पुलको उद्घाटन मन्त्री राइनको हातबाट साउन २८ गते शनिवार गरिने भनेर पुनः प्रचार भइरहेको छ ।