• उमाशङ्कर द्विवेदी

तदन्तर पाण्डव र पाञ्चाल वीरहरूले कर्णको निन्दा गर्दै चारैतिरबाट एकसाथ त्यहाँ आइपुगे । कर्णमाथि उनीहरूको दृष्टि परेपछि उनीहरूले उच्च स्वरले गर्जना गर्दै भने– यो पाण्डवहरूको कट्टर शत्रु हो, महान् पापी हो । सम्पूर्ण अनर्थको जरो पनि यही नै हो । यसले दुर्योधनको हो मा हो मिसाइरहन्छ । यसलाई मारिहाल, यस्तो भन्दै सबै क्षत्रिय वीर कर्णको वध गर्नको लागि उनीमाथि जाइलागे र बाणको भारी वर्षा गर्न थाले । ती सबै वीरले आफूमाथि हमला गरिरहेको हेरेर महाबली कर्णले आफ्ना तीखा बाणहरू प्रहार गरेर पाण्डवसेनालाई अगि बढ्नबाट रोकिदिए । त्यति बेला हामीहरूले कर्णको अद्भुत पराक्रम हे¥यौं । महारथी कर्णले राजाहरूको बाणसमूहको निवारण गर्दै उनीहरूका रथ र घोडाहरूमाथि कर्ण नामक बाण प्रहार गरे । ती बाणहरूबाट तिनीहरू व्याकुल भएर यत्रतत्र भाग्न थाले । कर्णका सायकहरूबाट आहत भएर हात्ती, घोडा र रथीहरू मरिरहेका देखिन्थे ।

कर्णको त्यस फुर्तीलाई अर्जुनले सहन गर्न सकेनन् । उनले कर्णमाथि तीन सयवटा बाण हाने । अनि उनको देब्रे हातलाई एउटा बाणले छेडे । त्यसको कारणले कर्णको हातबाट उनको धनुष तल झ¥यो तर आधा निमेषमैं उनले अर्को धनुष पुनः उचालिहाले र अर्जुनलाई बाण समूहले ढाकिदिए । अर्जुनले हाँस्दाहाँस्दै ती बाणहरूको संहार गरिहाले । ती दुई आपस्तमा भिडेर परस्पर बाणहरूको वृष्टि गर्न थाले । यत्तिकैमा अर्जुनले कर्णको पराक्रम हेरेर बडो शीघ्रतापूर्वक उनको धनुषलाई बीचबाट काटिदिए । अनि चारवटा भल्ल हानेर उनका घोडाहरूलाई यमलोक पठाइदिए । त्यसपछि उनको सारथिलाई पनि गिडिदिए । तत्पश्चात् चारवटा बाण हानेर उनको शरीरलाई बिंधिदिए । ती बाणहरूबाट कर्णलाई बडो पीडा भयो र उनी अश्वहीन रथबाट हाम्फालेर कृपाचार्यको रथमाथि सवार भए । त्यति बेला उनका सर्वाङ्ग बाणबाट बिंधिएका थिए, यसबाट उनी कण्टकमय दुम्सीझैं देखिंदै थिए । कर्णलाई परास्त भएको हेरेर धनञ्जयको बाणबाट त्रसित भएका तपाईंका योद्धाहरू यत्रतत्र भागे ।

उनीहरूलाई भाग्दै गरेको हेरेर दुर्योधनले उनीहरूलाई फर्काउन थाले । उनले भने– शूरवीरहरू हो, तिमीहरू श्रेष्ठ क्षत्रिय हौ । हेर, म स्वयम् नै अर्जुनको वध गर्न गइरहेको छु । पाञ्चाल र सोमकहरूको साथ अर्जुनलाई स्वयम् नै मार्नेछु । यति भनेर क्रोधित भएका दुर्योधन सेनाको ठूलो डफ्फाको साथ अर्जुनतिर लागे । यो हेरेर कृपाचार्यले अश्वत्थामा छेउ गएर भने– आज यी राजा दुर्योधन अमर्षले भरिएका छन्, क्रोधले यिनको सुद्धि हराइसकेको छ । जसरी फट्याङ्ग्रा डढ्नको लागि दियोसम्म जान्छ, त्यसै प्रकार यिनी आफ्नो सर्वनाश गर्नको निम्ति अर्जुनसित लड्न गइरहेका छन् । हामीहरूकै सामु पार्थसित भिडेर यिनले आफ्नो प्राण गुमाउनुभन्दा पहिले नै यिनलाई तपाईंले गएर रोक्नुस् ।

आफ्नो मामाले यस्तो भनेपछि अश्वत्थामा दुर्योधनको छेउमा गएर भने–गान्धारीनन्दन, म तपाईंको हितैषी हँु । म जीवित छँदासम्म मेरो अवहेलना गरेर तपाईं एक्लैले युद्ध गर्नुहँुदैन । तपाईं अर्जुनलाई जित्ने विषयमा सन्देह नगर्नुहोस् । चुप लागेर उभिरहनुहोस् । म गएर अर्जुनलाई रोक्नेछु ।

दुर्योधनले भने– विप्रवर, आचार्यले त आफ्नो पुत्रको समान पाण्डवहरूको रक्षा गरिरहेका छन् र तपाईंले सदैव उनको तर्फबाट बेपरवाही देखाउनुहुन्छ । मलाई थाहा छैन के कति कारणले तपाईंको पराक्रम मन्द भइसकेको छ । शायद यो मेरो दुर्भाग्य हो वा तपाईंले धर्मराज तथा द्रौपदीको प्रिय गर्न चाहिरहनुभएको छ । अश्वत्थामा, ममाथि प्रसन्न भइहाल्नुहोस् र मेरा शत्रुहरूको नाश गर्नुहोस् । सोमकहरूलाई उनीहरूका अनुयायीका साथ मारिदिनुहोस् । यसपछि बाँकी रहेकाहरूको तपाईंको संरक्षणमा रहेर म स्वयंले मारिदिनेछु । पहिला पाञ्चालहरू, सोमकहरू र केकयहरूलाई रोक्नुहोस्, किनकि यिनीहरू अर्जुनबाट सुरक्षित भएर मेरो सेनाको संहार गर्दै गइरहेका छन् । पहिला वा पछि गर्नुहोस् तर यो काम तपाईं स्वमंले गर्नुपर्दछ । अतः पाञ्चालहरूलाई तपाईंले उनीहरूका सेवकहरूसहित मारिदिनुहोस् । तपाईंले यस जगत्लाई पाञ्चालरहित पार्न सक्नुहुन्छ, यस्तो सिद्ध पुरुषहरूले भनेका छन् । यो कुरा कहिल्यै पनि मिथ्या हुन सक्दैन । इन्द्रसहित सम्पूर्ण देउताले पनि तपाईंको बाणहरूको प्रहारलाई सहन गर्न सक्दैनन्, अनि पाण्डवहरूको त के कुरा ? वीरवर, हेर्नुहोस्, यो मेरो सेना अर्जुनको बाणबाट पीडित भएर भाग्दैछ । अतः शीघ्र नै जानुहोस्, विलम्ब नगर्नुहोस् ।  क्रमशः…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here