कोलम्बो, १९ साउन/एएनआई
श्रीलङ्काका दुर्ई नेतालाई देश छाड्न प्रतिबन्ध लगाइएको समयावधिको म्याद थप गरिएको छ । सर्वाेच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बसिल राजापाक्षेलाई प्रतिबन्ध लगाउने समयावधि थप्ने आदेश बुधवार दिएको हो । उनीहरूलाई आगामी अगस्त ११ सम्म देश छाड्न नपाउने आदेश दिइएको समाचारमा जनाइएको छ ।
पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि अन्य नेताहरूलाई देश छाड्न प्रतिबन्ध लगाइएको हो । गोटाबायालाई भने तत्कालीन सरकार र सेनाले नै देशबाट बाहिरिन सहयोग गरेका थिए । अदालतले यस अघि गत जुलाई २८ मा पनि अनुमतिविना देश नछाड्न दुवैजनालाई आदेश दिएको थियो ।
यसैबीच अपराध अनुसन्धान विभागले मङ्गलवार तीनजनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये एक जना १८ र एकजना २२ वर्षका रहेको खुलेको छ ।
श्रीलङ्कामा आर्थिक सङ्कटका कारण राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । आर्थिक सङ्कटका कारण शुरू भएको आन्दोलनका कारण राजनीतिक उथलपुथल भएको छ । सङ्कट समाधानका विभिन्न प्रयास भए पनि ठोस उपलब्धि भने हुन सकेको छैन । रासस