‘अभिमुखीकरण’को शब्दकोशीय अर्थ हुन्छ–सामूहिकरूपले रहेका शिक्षार्थीहरूलाई विशेषज्ञहरूद्वारा कुनै खास–खास विषयमा विशेष जानकारी दिने वा त्यसको प्राविधिक पक्षमा गरिने शिक्षण, प्रशिक्षण, तालीम । आज नेपालमा सङ्घीयता आएको छ । त्यसले अधिकारको व्यापक बाँडफाँड हुने गरेको छ । खासगरी आर्थिक क्षेत्रमा आज सबभन्दा तल्लो प्रशासनिक एकाइ गाउँपालिका पनि स्थानीय सरकार बनेको छ र नचिताएको अधिकार र बजेटसँग खेल्ने अवसर पाएको छ । यसको सोझो अर्थ हो, आफ्नो समस्याको आफ्नै धरातलमा पहिचान र त्यसको निराकरणका लागि स्वपरिचालन । यो एउटा यस्तो जिम्मेवारी हो, जसको समुचित अभ्यासले एउटा गाउँ शहर बन्न सक्छ, अन्यथा देशको समय, शक्ति र कोषको दुरुपयोग मात्र हुन्छ । यस अर्थमा नेपालको हालबहालको शासकीय संरचनाले जहाँ एकातिर विकास र प्रगतिको मुहानमा सरोकारवालालाई ल्याएर बसाइदिएको छ, त्यहीं मुहानको कुसमय र अविवेकपूर्ण उपयोगले समाजलाई तबाहीको चरममा पु¥याइदिन सक्छ ।
अभिमुखीकरणले ती जनप्रतिनिधि, जो रहर, प्रोत्साहन, राजनीतिक दलहरूको चुनावी रणनीतिका कारण मात्र चुनाव लडेका छन्, स्वयं के गर्नुपर्छ, कसरी गर्नुपर्छ भन्ने विषयमा अनभिज्ञ छन्, तिनलाई सही मार्गतिर डो¥याउँछ । मेरो अधिकार क्षेत्र यो हो, मैले यतिसम्म गर्ने कानूनी अधिकार छ, नैतिक र दायित्वबोधबाट गर्ने कामहरू यी–यी हुन् भन्ने कुराको संज्ञानले मानिसलाई पूर्णता दिन्छ । उसको लक्ष्य निर्दिष्ट गर्छ र काम गर्न प्रोत्साहित गर्छ । पालिकाहरूका सबै पदाधिकारीलगायत सदस्यहरूलाई चुनाव जितेलगत्तै, यस कारण अभिमुखीकरण आवश्यक देखिन्छ । बानी भनेको कुनै कमजोर ठाउँ खोजेर पहिले बिस्तारैबिस्तारै र पछि ह्वालह्वाल्ती बग्ने पानीजस्तै हो । मानिसको बानी नराम्रो कामतिर लहसियो भने समाजको कुभलो मात्र हुन्छ, राम्रोतिर मोडियो भने समाज धन्यधन्य हुन्छ । यसर्थ जनप्रतिनिधिहरूलाई ती पालिकास्तरका हुन्, प्रदेशस्तरका वा सङ्घस्तरका, निर्वाचनलगत्तै अधिकार क्षेत्र, नैतिक क्ष्Fेत्रका विषयमा अभिमुखीकरण गर्नु राज्यको दायित्व हो ।
स्थानीय तहको दायित्व आफ्नो गाउँठाउँको सर्वाङ्गीण विकास हो भने प्रदेश तहले समग्र पालिकाहरूको रेखदेख, आवश्यक निर्देशन, कामको आधारमा थप बजेट दिनुका साथै स्थानीय तहमा देखिएका जटिल कानूनी प्रावधानहरूको नियमन गर्नु हो । त्यस्तै सङ्घीय सरकारमा पनि जनप्रतिनिधिहरू नै रहने हुँदा उनीहरूको दायित्व देशको भूगोलभन्दा बाहिरसम्म फिंजिएको हुन्छ । उनीहरूका लागि अभिमुखीकरणको परिधि पनि त्यही रूपमा फराकिलो हुनुपर्छ । यद्यपि अभिमुखीकरण जनप्रतिनिधिका लागि मात्र होइन, राज्यको अधीन हुने सबै राजनीतिक, सामाजिक, आर्थिक क्ष्Fेत्रलगायत, सरकारइतर सार्वजनिक सङ्घ–संस्था, निजी उद्योग–व्यापार, पत्रकार, विद्यार्थी सबैका लागि आवश्यक छ । काम गर्ने क्रममा मानिस अवरोधहरूबाट विचलित हुन्छ र स्वयं इमानदार हुँदाहुँदै पनि अज्ञानतावश बाटो बिराइरहेको हुन्छ । अभिमुखीकरण र यसको निरन्तर पुनर्ताजगी कार्यक्रमहरूले पथभ्रष्टताको सम्भावना मेटिदिन्छ । मानिसलाई ऊर्जावान् र लक्ष्य निर्देशित बनाउँछ । यसरी जुन शक्तिले आज बेरुजू र भ्रष्टाचार बढाइरहेको छ, त्यसले नै भोलिको समाजको मुहार हँसिलो बनाउन सक्छ ।