• उमाशङ्कर द्विवेदी

ब्रह्मास्त्र प्रकट भएको देखेर युधिष्ठिरले पनि ब्रह्मास्त्र नै प्रकट गरेर त्यसलाई शान्त पारिदिए । अनि द्रोणाचार्यले धर्मराजलाई छाडेर क्रोधित भई वायव्यास्त्रले दु्रपद सेनाको संहार गर्न थाले । उनको भयले पाञ्चालदेशीय वीरहरू भाग्न थाले । यतिबेला नै अर्जुन र भीमसेन रथीहरूको ठूलो डफ्फा लिएर द्रोणचार्यतिर आए । अर्जुनले दक्षिणतर्फबाट तथा भीमसेनले उत्तरतर्फबाट द्रोणको सेनालाई घेरामा हाले, अनि दुवै भाइ उनीमाथि बाण वर्षा गर्न थाले । अनि त त्यहाँ केकय, सृञ्जय, पाञ्चाल, मत्स्य र सात्वत वीर पनि आइपुगे । अर्जुनले कौरव सेनाको संहार गर्न आरम्भ गरे । एक त निष्पट अँध्यारोको कारण केही पनि देखिइरहेको थिएन, अर्कोतिर सबैलाई निद्राले दिक्दार पारिरहेको थियो । त्यसैले तपाईंको वाहिनीको नराम्ररी विध्वंस हुन थाल्यो । त्यति बेला आचार्य द्रोण र तपाईंका पुत्रहरूले पाण्डव योद्धाहरूलाई रोक्न भरमग्दूर कोशिश गरे तर सफल हुन
सकेनन् ।

दुर्योधनले कर्णसित भने– मित्र, अब तपाईंले नै यस युद्धमा समस्त योद्धाहरूको रक्षा गर्नुहोस् । यिनीहरू केकय, पाञ्चाल, मत्स्य वीरहरूबाट नराम्ररी घेरामा परेका छन् । कर्णले भने– मित्र, धैर्य धारण गर्नुहोस् । म तपाईंसित साँचो प्रतिज्ञा गरिरहेको छु कि युद्धमा आज यदि इन्द्र पनि रक्षा गर्न आए भने म उनलाई पनि परास्त गरेर अर्जुनलाई मार्छु । म एक्लै  पाण्डव र पाञ्चाल वीरहरूको नाश गर्नेछु । पाण्डवहरूमा सबैभन्दा बलवान् छन्, अर्जुन । अतः उनीमाथि नै इन्द्रले दिएको शक्तिको प्रहार गर्नेछु । उनी मारिएपछि बाँकी चारै भाइ तपाईंको अधीन हुनेछन् अथवा भागेर वनमा लुक्नेछन् । कुरुराज, म बाँचुञ्जेल तपाईं कत्ति पनि विषाद नगर्नुहोस् । यहाँ भेला भएका पाञ्चाल, केकय तथा वृष्णिवंशीसहित उनीहरूलाई आफ्नो बाणबाट परास्त गरेर यो सम्पूर्ण पृथ्वी तपाईंको अधीन गरिदिनेछु ।

कर्णले यस्तो भनिरहँदा कृपाचार्यले हाँस्दै भने– बेस, बेसस कर्ण, तिमी बडो बहादुर छौ । यदि कुरा गर्ना मात्रले काम बन्ने भएको भए तिमीलाई पाएर कुरुराज सनाथ भइहाले । तिमी यिनीहरूसमक्ष ठूला–ठूला कुरा गरिरहेका छौ, तर कहिले तिम्रो पराक्रम नै देखा प¥यो, न कुनै फल नै पाइयो । सङ्ग्राममा पाण्डवहरूसित अनेकौंपटक मुठभेड भयो तर सर्वत्र तिम्रो हार नै भएको छ । कर्ण, सम्झना छ ? दुर्योधनलाई समातेर गन्धर्वहरू लिएर गइरहेका थिए । त्यति बेला सम्पूर्ण सेनाले युद्ध गरिरहेको थियो । तिमी एक्लै थियौ, जो सबभन्दा पहिले भागेका थियौ । विराटनगरमा पनि सम्पूर्ण कौरव एकत्रित भएका थिए, त्यहाँ सम्पूर्ण कौरव सेनालाई अर्जुन एक्लैले हराएका थिए । तिमी पनि आफ्ना भाइहरूका साथ परास्त भएका थियौ । एक्लै अर्जुनको सामना गर्न त तिम्रो शक्ति छैन अनि श्रीकृष्णसहित सम्पूर्ण पाण्डव सेनालाई जित्ने साहस कसरी गर्न सकिरहेका छौ ?  भाइ, चुप लागेर युद्ध गर, बढता कुरा न गर । न बोलेर पराक्रम प्रदर्शन गर्नु नै सत्पुरुषहरूको व्रत हो । जबसम्म अर्जुनका बाण तिमीमाथि ओइरिरहेका छैनन्, तबसम्म मात्र गर्जना गरिरहेका छौ, उनको बाणबाट घाइते भएपछि मात्र चेत्नेछौ । क्षत्रियहरू बाहुबलमा शूरो हुन्छन्, ब्राह्मण वाणीमा शूरो हुन्छन्, अर्जुन धनु–बाण हान्नमा शूरा छन् तर कर्ण त मनको लड्डू घ्यूसित खानमंै शूरा छन् । जसले आफ्नो पराक्रमबाट भगवान् शङ्करलाई प्रसन्न पारेको छ, ती अर्जुनलाई कसले पो मार्न सक्दछ ?

कृपाचार्यको कुरा सुनेर कर्णले रुष्ट भएर भने– वर्षाकालको मेघको समान शूरवीर सदैव गर्जना गरिरहन्छन् र पृथ्वीमा छरिएको बीउझैं शीघ्र फल पनि दिन्छन् । बाहुनबाजे, यदि मैले गर्जना गरें त तपाईंको के बिग्रियो ? हेर्नुहोला मेरो गर्जनाको फल, मैले कृष्ण र सात्यकिको साथ सम्पूर्ण पाण्डवको वध गरेर पृथ्वीको अकण्टक राज्य दुर्योधनलाई सुम्पिनेछु ।

कृपाचार्यले भने– सूतपुत्र, मलाई तिम्रो यो प्रलापमा अलिकति पनि विश्वास छैन । तिमी त श्रीकृष्ण, अर्जुन र धर्मराजलाई सधैं गाली गरिरहन्छौ तर विजय त्यसै पक्षको निश्चित छ, जहाँ युद्ध कुशल श्रीकृष्ण र अर्जुन छन् । यदि देउता, गन्धर्व, यक्ष, मानिस, सर्प, राक्षस पनि कवच धारण गरेर युद्ध गर्न आए भने पनि ती दुवैलाई जित्न सक्दैनन् । धर्मपुत्र युधिष्ठिर ब्राह्मणभक्त, सत्यवादी, जितेन्द्रिय, गुरु र देउताको सम्मान गर्ने, सदैव धर्मपरायण, अस्त्रविद्यामा विशेष कुशल, धैर्यवान् र कृतज्ञ छन् । उनका भाइहरू पनि बलवान् र अस्त्रविद्यामा पारङ्गत छन् । ती सबै बुद्धिमान्, धर्मात्मा र यशस्वी तथा उनका सम्बन्धी पनि इन्द्र समान पराक्रमी र उनीप्रति प्रेम भाव राख्नेछन् । अतः पाण्डवहरूको कहिले पनि नाश हुन सक्दैन । क्रमशः…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here