• बैधनाथ श्रमजीवी

हामी सबैले सुनेकै कुरा हो– आवश्यकता नै आविष्कारको जननी हो । अर्थात् यस ब्रह्माण्डमा कुनै पनि कुरो अनावश्यक छैन अथवा हुन सक्दैन । हाम्रो स्वार्थसँग नमिल्ने थुप्रै कुरा हुन सक्छन् वा छन् जो हामीलाई अनावश्यक लागिरहेका छन् तर वास्तवमा ती चीजहरूको अस्तित्व अनावश्यक हुँदैनन् । यस सन्दर्भमा अझै स्पष्टसँग यसलाई हामी यसरी पनि भन्न सक्छौं कि ब्रह्माण्डको उपस्थिति वा अस्तित्व हाम्रो स्वार्थलाई मध्यनजर गरेर भएका होइनन् बरु ब्रह्माण्डको आवश्यकता अनुसार हाम्रो विकास भएको हो ।

यस पृथ्वीमा हजारौं लाखौं प्रजातिका जीवहरू छन् । यी जीवहरूमध्ये सबैभन्दा कम जनसङ्ख्या भएको प्राणी मानिस हो । कुनै पनि प्राणीलाई पृथ्वीमा बाँच्नको लागि आफ्नो श्रम बेच्नुपर्ने अवस्था छैन । सबै प्राणी मजाले खाइरहेका छन्, रमाइरहेका छन् विना कुनै श्रम बेचेर । मानिसलाई यो धरतीमा सबैभन्दा बुद्धिमान, विकसित र सभ्य प्राणी भनिन्छ । जबकि यही मानिस दुई छाक खानाको लागि आफ्नो श्रम बेच्न देश दुनियाँ भौतारिनुपरिरहेको छ । यति गर्दागर्दै पनि प्रत्येक दिन करोडौं मानिस पृथ्वीमा एक छाक मात्रै खान पाएका छन् । एक छाक भोकै सुत्नुपर्ने बाध्यता रहेको छ । पृथ्वीका अन्य जीवहरू जसको जीवन यतिबेला सङ्कटमा छ, त्यो पनि यही विकसित मानिसहरूको अप्राकृतिक व्यवहारले गर्दा हो । संसारका सबैभन्दा बुद्धिमान मानिस प्रजातिको मानव केन्द्रित सोचले गर्दा कुनै खास जीव मात्र होइन बरु पृथ्वीकै समेत भविष्य अँध्यारो हुँदै गएको छ । प्राकृतिक पर्यावरण जुन तहमा आज प्रदूषणको शिकार भएको छ, त्यसको मुख्य कारण यही बुद्धिमान् र सभ्य भनिएको मानिसको निकृष्ट सोचले गर्दा नै हो । यस्तोमा प्रश्न उठ्छ, किन मानिस जुन हाँगामा उभेको छ, त्यही हाँगालाई बन्चरोले काट्दै छ ? आखिर मानिसभित्रको मानवता किन मरेको छ ? किन उसको सिद्धान्त र व्यवहारमा एकरूपता छैन ? भन्ने बेलामा ऊ विश्व बन्धुत्वको कुरा गर्छ, स्वतन्त्रता र समानताको कुरा गर्छ तर मठीभरि मानिसले सम्पूर्ण मानिसलाई आफ्नो गुलाम बनाउन चाहन्छन् । आज अमेरिकाको विदेश नीतिको मुख्य तात्पर्य सम्पूर्ण मानवमाथि अमेरिकी हुकुमत कायम गर्नु हो कि होइन ? किन अमेरिकाले एमसिसी जस्ता परियोजनामा संसारका उत्पीडित राष्ट्रहरूलाई फसाएर आफ्नो सैनिक मतलब पूरा गर्न खोज्छ ? इराक, इजरायल, इरान, प्यालेस्टाइन, अफगानिस्तानलगायतका देशमा अमेरिकी सेनाको नाँगो नाच नै स्वतन्त्रता र समानता हो ?

भौतिकशास्त्रको नियम अनुसार यो संसारको प्रत्येक वस्तु त्यो चाहे सजीव होस् अथवा निर्जीव सबै नै गतिशील छन् । प्रत्येक वस्तुको बनावट नै उसभित्रको विपरीत तŒवको समिश्रणले हो । विपरीत तŒवहरू जहाँ हुन्छन्, त्यहाँ उनीहरू एकअर्कोसँग सङ्घर्ष गरिरहन्छन् । सङ्घर्षले वस्तुभित्र मात्रात्मक परिवर्तन नदेखिने गरी गरिरहेको हुन्छ र यही मात्रा अब एउटा निश्चित बिन्दुमा पुग्छ, त्यति बेला त्यो वस्तुको गुणमा परिवर्तन भइहाल्छ । यस प्रकार पहिलेको वस्तुको रूप, रङ्ग, आकार, प्रकार र गुण फेरिन्छ, जसलाई हामी सोझो अर्थमा पहिलेको वस्तु समाप्त भएको घोषणा गर्छौं । यो संसारमा कुनै पनि कुरा निषेध (समाप्त वा रूपान्तरण) हुँदा त्यो हावामा बिलाएर जाँदैन बरु त्यसको रूपान्तरण मात्रै भएको हुन्छ । यसलाई हामी यसरी सूत्रबद्ध पनि गर्न सक्छौं–

१) प्रत्येक वस्तुभित्र अन्तरविरोध हुुन्छ ।

२) अन्तरविरोधहरूको निरन्तरको आन्तरिक सङ्घर्ष एकता सङ्घर्षले गर्दा वस्तुमा मात्राबाट गुणमा परिवर्तन हुने प्रक्रिया चलिरन्छ ।

३) ‘निषेधको निषेध’ अर्थात् गुणात्मक परिवर्तनबाट जुन पहिले वस्तु समाप्त भएर नयाँ वस्तु अस्तित्वमा आएको छ, त्यसभित्र निरन्तरको अन्तरविरोधले गर्दा मात्रात्मकबाट गुणात्मक परिवर्तन भई पुनः त्यसको पनि निषेध भइहाल्छ । यो प्रक्रिया निरन्तर चलिरहेको छ । भौतिकशास्त्रको यही नियमको कारणले कुनै समय हाम्रो ब्रह्माण्डको विकास भएको हो । विकासकै क्रममा हाम्रो सूर्य पनि विकसित भएको हो र सूर्यबाट घटनाक्रमले आठवटा ग्रह, दर्जनौं उपग्रह, सेटेलाइटलगायतको विकास हुन पुगेको हो । यसरी समयक्रममा पृथ्वीमा जीवनको समेत विकास भएको र एउटा खगोलीय दुर्घटनामा परी डाइनासोरसको समय समाप्त भई स्तनधारीहरूको विकासले तीव्रता पाएको हो ।

यही स्तनधारीको विकासको तीव्रतामा मानिस भन्ने प्रजातिसमेत विकसित भयो, जसले आफूलाई यो संसारमाथि राज गर्न आएको ठान्यो । यिनै मानिसहरूले भगवान् जस्ता काल्पनिक शक्तिको कल्पना गरी व्यक्तिगत फाइदाको लागि एउटा खास समयको विचारलाई अघुलनीय बनाएर धर्मको रूपमा प्रस्तुत ग¥यो । यही धर्मले मानिसलाई मानवताबाट विचलित गरी सीमित मानिसको सेवामा सम्पूर्ण संसारलाई लगाउने काम ग¥यो । काल्पनिक स्वर्ग, नर्क जस्ता मनगडन्त अवस्थाको व्याख्या गरेर राज्यको बराबर दमन सहन बाध्य पा¥यो । हजारौं वर्षको यस त्रासदिपूर्ण यात्रामा अनेकौं भाष्यहरू जो मानवताविरोधी थिए, ती निर्माण गरिए र लामो समयको अभ्यासपछि ती सम्पूर्ण मानवताविरोधी भाष्यहरू, व्यवहारहरू, रीतिरिवाजहरू, आर्थिक तथा सामाजिक र राजनीतिक क्रियाकलापहरू आदि इत्यादि सबैलाई मौलिक संस्कृतिको रूपमा व्याख्या गर्न थालियो । यस प्रकारको अमानवीय व्याख्या तथा संस्कारहरूलाई धर्मसँग जोडेर बदल्नै नसक्ने भनी तयार पारियो । यस्तोमा जुन व्यवहारहरू बराबर दमन तथा पाश्विक यातनाद्वारा स्थापित गरिएको थियो, ती सबै कुरा जो मूलतः मानवताविरोधी थियो, ती सबैलाई आदर्शको रूपमा प्रस्तुत गरियो । यसैक्रममा भाग्य, कर्म, पूर्वजन्म, पुनर्जन्म जस्ता थुप्रै काल्पनिक कुराहरूको विकास पितृसत्ता कायम गर्नलाई षड्यन्त्रमूलक ढङ्गले गरियो । हाम्रो समाजमा यतिबेला विवाह निकै ठूलो उत्सवको रूपमा मनाइन्छ । खुशीको माहोल यस्तो हुन्छ कि विवाहमा पटाका मात्रै पडकाइँदैन, बरु बन्दुकसमेत हवाई फायर गरिन्छ । बेहुला र बेहुली दुवै पक्षमा खुशियाली स्पष्ट देखिन्छ । तर हामी एकैछिन सोचौं । विवाहको सुरुआत कसरी भएको होला ? मानिसको विकास बाँदरबाट भएको हामी सबैलाई थाहा छ । मानिसले लामो सयमसम्म जङ्गली जीवन बिताएको पनि थाहा छ । के त्यति बेला जन्ती गएर विवाह सम्भव थियो ? जङ्गली युगमा मानिसबीचमा यौन सम्बन्ध प्राकृतिकरूपमा थियो । महिलालाई मात्रै थाहा हुन्थ्यो, उसको बच्चा कुन हो तर बच्चाको बाउको को हो, यो कसैलाई थाहा हुन्थेन र जरुरी पनि थिएन । त्यति बेला बलियो नरले नारीहरूसँग यौन सम्बन्ध राख्ने कुरो सामान्य थियो । पछि बिस्तारै मानव समाज दास युगमा प्रवेश गरेपछि दास मालिकहरूले निजी श्रीमती बनाउन खोज्दा समाजभित्र निकै चुनौतीहरू थिए । महिलाहरूले यसलाई सजिलै स्वीकार्ने अवस्था थिएन । त्यति बेला महिलाहरूलाई महीनौं, वर्षौं बाँधेर राख्ने, शारीरिक यातना दिएर पनि निजी श्रीमती बनाउन नसकेपछि महिला भोग्नको लागि जन्मेको हो, तिम्रो कर्ममा नै यही पुरुष लेखेको हो, तिम्रो जोडी ईश्वरले यसैसँग बनाएर पठाएको हो जस्ता भाग्यवाद, पुनर्जन्म र पूर्वजन्म र सातजन्मको कल्पनाहरूलाई जबरजस्ती महिलाहरूमाथि थोपरिएको हो । यस्तो नथोपोरेको भए निजी सम्पत्ति, निजी परिवार जस्ता कुराको उत्पत्ति नै हुने थिएन । समाजको आर्थिक अवस्था सामूहिकता र प्रकृतिप्रदतबाट हटेर निजी तथा मानवप्रदत्ततर्फ बढ्ने आवश्यकताले गर्दा नै राज्यधर्म निजित्व आदिको आवश्यकता भएको हो ।

प्रकृतिमा कुनै पनि कुरा अकारण हुँदैन । मानिसहरूले आफ्नो हितलाई सर्वोपरी राखेर सोच्दा उसको हितविरुद्ध थुप्रै कुरा देखिन्छन् तर वास्तवमा ती कुराहरू कुनै पनि अर्थमा प्राकृतिक हिसाबले नराम्रो वा नकारात्मक हुँदैन । त्यसैले प्रकृतिमा प्रत्येक ध्वन्सभित्र सुन्दर निर्माण लुकेको हुन्छ । आज हामी यति सुन्दर पृथ्वी, हेरुँहेरुँ लाग्ने आकाश तथा अनन्त ब्रह्माण्ड हेरिरहेका छौं । वास्तवमा  ती सबै कुरा एक दिन यस्तो थियो जतिबेला अस्तित्वमा थिएन । एउटा महाप्रलय अर्थात् बिगबैंग (महाविस्फोट) भएपछि नै यी सबै कुरा क्रमशः ध्वन्सकै प्रक्रिया अगाडि बढ्दै गएपछि निर्माण हुन पुगेको हो । चार अर्ब वर्ष पहिले सूर्यसँग लामपुच्छ«रे ताराको टक्कर नभएको भए पृथ्वीलगायत आठवटा ग्रह सैकडौं उपग्रह तथा हजारौं स्ट्रायडको निर्माण नै हुने थिएन ।

त्यसैगरी, दुई करोड वर्ष पहिले आकाशीय पिण्डले पृथ्वीलाई मेक्सिकोमा जोरसँग नठोकेको भए त्यति बेलाको डाइनोसोरको अन्त पनि हुन्थेन र आजको विकसित आधुनिक मानवको विकास पनि हुन्थेन । जङ्गलमा नेअर्थडल समूहको बाँदरबाट विकसित भएको मानिस विकासका विभिन्न चरणहरू पार गरेर यहाँसम्म आइपुग्दा जङ्गली युग, दास युग, सामन्ती युग, पूँजीवादी युगको विकास पनि एक अर्काको चिहानमाथि नै भएको हो । वर्तमान अवस्थामा रहेको दलाल पूँजीवादको पनि अन्त गर्ने वैज्ञानिक समाजवादको गुण जन्मिसकेको छ र ढिलो चाँडो पूँजीवादको चिहान माथि सङ्क्रमणकालीन व्यवस्था समाजवाद हुँदै मानव समाजलाई साम्यवादमा विकास गर्न कुनै पनि ताकतले रोक्न सक्दैन । सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक क्रान्ति भनेको मानव विकास क्रमको ऐतिहासिकता हो । पार्टी र सङ्गठन भन्ने कुरो परिवर्तनको गति बढाउने मात्रै हो । जसरी हामी द्रुतगतिको सवारीसाधनबाट अपेक्षाकृत ढिलो गतिको साधनभन्दा छिठो लक्षित गन्तव्यमा पुग्न सकिन्छ । यतिबेला मानव समाजभित्र देखिएका विभिन्न विकराल समस्याहरू जसलाई दलाल पूँजीवादले संरक्षण तथा बढावा दिने काम गरिरहेको छ ती कुराहरूको निकास वैज्ञानिक समाजवादी क्रान्तिबाहेक अर्को कुनै बाटोबाट सम्भव नै छैन । आधुनिक मानवबीच भइरहेको आन्विक हतियारको होड (अस्वस्थ्य प्रतिस्पर्धा), पर्यावरणको विनाश, मानव समाजमा जडा गाडेर बसेको महिला, दलित, मुस्लिम, मधेसी, थारूलगायतका सीमान्तकृत तथा उत्पीडितहरूको मुक्ति कुनै पनि अर्थमा दलाल, पूँजीवादसँग सम्भव नै समाजवाद नै हो, जसले मानव समाजलाई साम्यवादमा पु¥याएर मानिसको अन्तर्राष्ट्रिय जाति निर्माण गर्ने छ । मान्छेद्वारा उत्पन्न सम्पूर्ण शोषण, दमन र विभेदको खाडललाई पुरेर समानताको व्यवहार प्रदर्शन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here