प्रस, निजगढ, ५ साउन/
बर्दिबासबाट भक्तपुर जान गुडेको कार दुर्घटना हुँदा कारमा सवार पाँचजना सकुशल छन् । गुडिरहेको बा.७च २९१७ नम्बरको कारको पछाडिका दुईवटै टायर एकैसाथ पन्चर भएपछि पूर्व–पश्चिम राजमार्गको निजगढ सडकखण्ड अन्तर्गत दु्रतमार्ग र आरसिसी पुलको बीच सडकमा सो कार बिहीवार बिहान १० बजे दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढले दु्रत गतिका कारण दुर्घटना भएको जनाएको छ । दु्रत गतिमा रहेको सो कार प्रतिघण्टा ८०–८५ किलोमिटरको गतिमा गुडिरहेको सो कारका चालक भक्तपुर–४ सूर्यविनायकका अनिश न्यौपानेले नै बताए । “एकैपटक दुईवटै चक्का पन्चर भएछ । कार अनियन्त्रित भएपछि आफूले ह्यान्ड ब्रेक तान्दा सडकको पिचमा नै कार पाँच/सात पटक सेलरोटी जसरी घुमेको थाहा छ । त्यसपछि एकछिन केही थाहा भएन । त्यस बेलासम्म छ/सात बल्ड्याङ खाँदै कारसँगै सडकबाट हामी तल वनक्षेत्रको झाडीमा खसिसकेका रहेछौं,” चालक न्यौपानेले घटना सम्झँदै बताए ।
“भगवान्ले ठूलै हात थाप्नुभयो र हामीहरू पाँचैजना सकुशल छौं,” सोही कारमा सवार सुनीता बजगाईंले बताइन् । “सपना जस्तै लागिरहेको छ । अहिले कारको क्षति हेर्दा कसरी बाँचेछौं जस्तो लाग्छ,” सोही कारमा सवार अर्की एक महिलाले थपिन् ।
“कारको अगाडिको भाग पूर्णरूपमा क्षतिग्रस्त छ । केही मोबाइलहरू सडकछेउको झाडीमा झरेको रहेछ । एक थान सामसङ मोबाइल सेट र कारको ब्लूबूक हराएको छ । अरू भने फेला परी सुरक्षाकर्मीहरूले बुझाउनुभयो,” चालक न्यौपानेले भने । घटनास्थलमा द्रुत मार्गका लागि जीरो किलोमिटरमा खटिएका नेपाली सेना, ट्राफिक प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र केही मानिसहरू उद्धारका लागि घटनास्थल पुगेका थिए ।