नयाँ दिल्ली, ५ साउन/सिन्ह्वा
भारतमा बितेको २४ घण्टामा २१,५६६ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीवार जनाएको छ ।
हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ३८ लाखभन्दा बढी पुगेको छ । भारतमा हाल एक लाख ४८ हजार आठ सय ८१ जना सक्रिय सङ्क्रमित छन् ।
पछिल्लो एक दिनमा १८,२९४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४,३१,००,४३४ पुगेको छ ।
कोरोना महामारीबाट हालसम्म ५२६ हजारभन्दा बढीको मृत्यु भएको छ । महामारी शुरू भएयता हालसम्म ८६ करोड ८९ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।
भारतमा सन् २०२१, जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरू भएको हो । हालसम्म कोरोनाविरुद्ध दुई अर्ब ९१ लाख मात्रा भन्दा बढी खोप लगाइएको छ ।
यसैबीच पाकिस्तानमा पछिल्लो २४ घण्टामा ५९९ कोभिड–१९ का थप सङ्क्रमित थपिएका स्वास्थ्य मन्त्रालयले बिहीवार जानकारी दिएको छ ।
यसैसँग कुल सङ्क्रमितको सङ्ख्या १५,४८,३९४ पुगेको छ । पाकिस्तानमा कोभिड–१९ बाट ३०,४५५ जनाको मृत्यु भएको छ भने बुधवार थप तीनजनाको मृत्यु भएको छ ।
कोरियामा एक दिनमा ७१ हजारभन्दा बढी सङ्क्रमित
सोल/सिन्ह्वा
दक्षिण कोरियामा बितेको २४ घण्टामा बुधवार मध्यरातसम्म ७१ हजार १७० जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।
योसँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ९० लाख नौ हजार ९८० पुगेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।
कोरिया डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७६ हजार ४०२ जना सङ्क्रमित फेला परेका थिए । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या १०३ पुगेको छ ।
सङ्क्रमणबाट मङ्गलवार १७ जनाको मृत्यु भएको छ भने हालसम्म २४ हजार ७९४ जनाले यो महारोगबाट ज्यान गुमाइसकेका छन् । रासस