कङ्क्रिटका घरहरू दिनानुदिन थपिंदै छन् । अव्यवस्थित शहरीकरण । गुल्जार होइन, अतिक्रमणका कारण सडकहरू साँघुरा छन् । सार्वजनिक चोक, चौर, पोखरी, नदी, तलाउ र कुलाहरू एकादेशको कथा भैसके । भूकम्प जस्ता दैवी प्रकोपको बेला सुरक्षित खुल्ला स्थान छैन । आपत्विपत पर्दा एम्बुलेन्स, वारुण यन्त्र, सुरक्षाकर्मीको सवारी पुग्न सक्ने सडक अभाव छ । विवाहको बेला दुलहाको सवारी कताबाट चलाउने हो चिन्ता हुन्छ । बाहिरबाट सवारीसहित आउने पाहुनालाई ‘मेनरोडतिरै पार्किङ खोजेर राख’ भन्नुपर्ने अवस्था छ । हिजोको वीरगंज र आजको वीरगंजमा आकाश–पातालको फरक छ । उ बेला मुलुकका तत्कालीन ७५ वटै जिल्लाका ऊर्जाशील युवाहरूको गन्तव्य सूचीमा वीरगंज थियो । ठाकुर राम बहुमुखी क्याम्पसमा अध्ययन गर्न मेचीदेखि महाकालीसम्मका विद्यार्थी लालायित हुन्थे । केहीपछि हरि खेतानको रात्रि क्याम्पस र महिला कलेजले उत्तिकै विद्यर्थी आकर्षित गरेको थियो । तिनताका सीमित शैक्षिक संस्था छँदा पनि वीरगंज शिक्षाको गन्तव्य थियो । आज त्यो अवस्था रहेन । चिनीमिल र कृषि औजार सञ्चालनमा रहँदा वीरगंज औद्योगिक पर्यटनको हब थियो । त्यसअघि रक्सौल–अमलेखगंज छोटी लाइन रेलवे सञ्चालन र वीरगंज सिगरेट फ्याक्ट्री सञ्चालनमा रहँदा मुलुकवासी साथै भारतीयहरूका लागि समेत गन्तव्यको सूचीमा रह्यो ।

केही दशक पहिलेसम्म नेपाली साहित्य, गीत–सङ्गीत र खेलकूदको क्षेत्रमा वीरगंजलाई उर्वर भूमिकै रूपमा मानिन्थ्यो । कला, साहित्य तथा खेल पर्यटनको क्षेत्रमा उत्साहजनक सफलता हासिल गरिसकेको वीरगंजको आजको स्थिति दयनीय छ । बाहिरका आउन छाडे, कम्तीमा जिल्लाभित्र तत्कालीन ८२ वटा स्थानीय निकायका बासिन्दालाई जिल्ला सदरमुकाम वीरगंज नआएर धरै थिएन । वर्तमान व्यवस्थाले मुलुकलाई स्थानीय तह तथा पालिका प्रणालीमा लगेपछि जिल्लाकै बासिन्दाको लागि पनि वीरगंज गन्तव्य सूचीबाट हट्यो । हाल यसलाई पर्यटकीय नगरी बनाउने कुरा उठेको छ । वीरगंज महानगरका प्रमुख र यसै क्षेत्रबाट वन तथा वातावरण मन्त्रालय सम्हाल्न पुगेका मन्त्रीले समेत चिडियाखाना स्थापना गरेर यसलाई सार्थक रूप दिने बताएका छन् ।

पर्सा जिल्ला चितवन र पर्सा राष्ट्रिय निकुञ्ज तथा भारतीय वाल्मीकि टाइगर रिजर्भसमेत तीनवटा संरक्षण क्षेत्रसँग जोडिएको छ । अर्थात् उक्त तीनवटै संरक्ष्Fण क्षेत्रमा रहेका पशुपक्षी र बोटबिरुवाका लागि वीरगंजको हावापानी अनुकूल छ । यहाँको हावापानीमा विश्वमैं दुर्लभ मानिएका एक सिङ्गे गैंडालगायत एक सयभन्दा बढी प्रजातिका स्तनधारी प्राणी, ६० प्रजातिभन्दा बढी घस्रने जीव, १२५ भन्दा बढी प्रजातिका जलचर साथै करीब पाँच सय प्रजातिका चराचुरुङ्गी बाँच्न सक्छन् । विश्वका धनी चिडियाखानाहरूले हावापानी अनुकूल नहुँदा चाहेजस्तो प्राणी पाल्न सकेका छैनन् । पाले पनि उनीहरूले त्यसको वातानुकूलित व्यवस्थापन र स्वास्थ्यमा बढी खर्चिरहेका छन् । चिडियाखानालाई बालउद्यान, तरुण पार्क र ज्येष्ठ नागरिक पार्कसँग जोड्न सकिन्छ । त्यसैगरी, महानगरका सडक किनाराहरूमा विभिन्न खण्ड छुट्टयाइ वनजङ्गलमा पाइने सयभन्दा बढी प्रजातिका फरक बोटबिरुवा लगाउन सकिन्छ । यसले वीरगंज, जीव तथा वनस्पति अध्ययन एवं अनुसन्धान गर्नेहरूका लागि पनि गन्तव्य बन्न सक्छ । आजको वीरगंज दिक्कलाग्दो छ, हिजोको वीरगंज फर्काउन सकिन्न । जाँगर चलाए भोलिको वीरगंज निर्माण गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here