नयाँ दिल्ली, १ साउन/एएनआई
भारत र चीनका सैन्य अधिकारी सम्मिलित १६ औं चरणको वार्ता चुशुलमा शुरू भएको छ । भारतीय भूमि चुशुल–मोल्दो सीमा बिन्दुमा जारी बैठक पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट सेना फर्काउनेमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।
वार्तामा भारतीय पक्षको नेतृत्व फायर एन्ड फ्युरी कोर कमान्डर लेफ्टिनेन्ट जनरल ए सेनगुप्ताले गरेका छन् । द्विपक्षीय उच्चस्तरीय सैन्यवार्ताका निम्ति आजको बैठकले मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ । यस अघि दुवै पक्षले सीमा क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्न सहमति जनाएका थिए । साथै दुवै देशले समाधान हुन बाँकी समस्या सैन्य र कूटनीतिक वार्ताका माध्यमबाट टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सन् २०२० को अप्रिल–मेमा चीन–भारत सिमानाको पश्चिमी क्षेत्रको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ पक्षले एकतर्फी यथास्थिति परिवर्तनको धेरैपटक प्रयास गरेपछि दुर्ई देशबीच सम्बन्ध चिसिएको थियो ।
कैयौं चरणका वार्तापछि दुवै पक्षले आफ्ना मतभेद व्यवस्थापन गर्न र कुनै पनि विषयमा विवाद नगर्ने सहमति जनाएका थिए । साथै दुवै पक्षले सीमा विवादको अन्तिम टुङ्गो नलागेसम्म सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नु द्विपक्षीय सम्बन्धको समग्र विकासका लागि आवश्यक आधार भएको स्वीकार गरेका थिए ।
हालै इन्डोनेशियाको बालीमा भएको जी–२० का विदेशमन्त्रीहरूको बैठकमा भाग लिने क्रममा चिनियाँ समकक्षी वाङ यीसँग भएको भेटमा भारतका विदेशमन्त्री एस जयशङ्कररले सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने दिशामा बाँकी रहेका कामलाई गति दिन जोड दिएका थिए ।
दुर्ई वर्ष अघि गलवान उपत्यकामा भारत र चीनबीच भएको भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि दुर्ई देशबीच सम्बन्ध सुमधुर बन्न सकेको छैन । यद्यपि द्विपक्षीय व्यापार निर्वाधरूपमा भइरहेको छ । रासस