अहिले गर्मी उपद्रो बढेको छ । बर्सेनि गर्मीले यसै प्रकारले उपद्रो मचाउने गर्छ । तर मानवीय स्वभाव भनौं मानिसले तत्काल भोगेको कुरालाई बढी प्राथमिकता दिन्छ र पुराना कुरालाई बिर्सने गर्छ । पर्सा जिल्लाको लागि गर्मी नयाँ नौलो पक्कै होइन । खासगरी बर्खा नभएको बेला गर्मी बढी महसूस हुन्छ । बर्खा भएको बेला गर्मी कम महसूस हुन्छ । विगत तीन वर्षयता यसपटक सबैभन्दा बढी गर्मी भएको महसूस गरिंदैछ । कोरोना शुरू भएको २०७६ सालको अन्त्यदेखि गत वर्षसम्म गर्मी खासै महसूस भएन । कोरोनाकालमा लकडाउन, निषेधाज्ञा र आवतजावतमा रोक लागेको कारण सवारीसाधनहरू सञ्चालन भएका थिएनन् । उद्योग, कलकारखानाहरू बन्द थिए । हवाई, स्थल र जलमार्ग थोरै मात्रामा सञ्चालित थिए, जसले गर्दा वायु प्रदूषण धेरै हदसम्म नियन्त्रण भएको थियो । जसले गर्दा विगत दुई वर्ष मौसम अनुकूल रह्यो । मौसममा आएको सुधारले परम्परागतरूपमा मौसम अनुसार वर्षा भयो । चैत महीनादेखि नै वर्षा शुरू भएको थियो र सो समयमा गर्मी थोरै पनि महसूस हुन पाएन ।

यसपटक भने त्यो अवस्था छैन । कोरोनाका नयाँ–नयाँ भेरियन्टहरू आएका समाचारहरूमा अहिले मानिसहरू अत्याउन छाडेका छन् । प्रायः सबै उमेर समूहका मानिसहरूले कोरोनाविरुद्धको खोप लगाइसकेका छन । अहिले कोरोना छिमेकी भारतसँगै हाम्रो देशको राजधानी काठमाडौंमा पनि बिस्तारै बढ्दो छ । कोरोना सङ्क्रमितहरू बढेको समाचारले प्राथमिकता पाउन छाडेको छ भने मानिसहरूमा पनि यसको डर हराइसकेको महसूस गरिंदैछ । कोरोनाकालमा मानिसहरूलाई जति क्षति भयो, त्यसको भरपाई शायदै हुन सक्ला । यसैगरी, सो अवधिमा थुप्रै बेरोजगार भए, अनि कैंयन देशहरू आर्थिक मन्दीका शिकार पनि भए । कोरोनाको त्यो क्षति स्मरण गर्नेहरूको आङ अहिलेसम्म सिरिङ हुने गर्छ होला । त्यसका थुप्रै अवगुण भएपनि मौसममा आएको सुधार भने गुणवान् रह्यो । अहिले मौसम फेरि अवगुणी बन्दै गएको छ । सिङ्गो असार महीना बितिसक्दा पनि पानीको बाछिटाले यहाँको जमीनलाई भिजाउन सकेको छैन ।

असार महीनामा पनि वर्षा नहुनुको ठूलो पीडा किसानहरूले भोग्नुपरेको छ । असार महीनामा धानको बीउ रोपिसक्नुपर्नेमा अहिलेसम्म कतिपय किसानको बीउ खेतमैं सुक्न थालेका छन् । केही किसानले रोपेको धानको बीउ पनि पानी नपर्दा खेतमैं सुक्न थालिसकेका छन् । केही किसानले सिंचाइको वैकल्पिक उपायहरू पम्पसेट, डीप बोरिङबाट आफ्नो खेतको धानबाली जोगाउँदै आएका छन् । तर आर्थिक भारले गर्दा सबै किसानको पहुँचमा वैकल्पिक सिंचाइका उपायहरू छैनन् । अहिले तीन तहको सरकारमध्ये जनतासँग प्रत्यक्ष सम्पर्कको सरकार भनेको स्थानीय पालिका हो । भर्खरै सकिएको स्थानीय चुनावमा जितेकाहरूले ठूलाठूला कुराहरू गरेर किसानको मत पाएका थिए । तर चुनाव सकिएको दुई महीना पनि बितिनसक्दा उनीहरू आफूहरूले गरेका वाचाहरू पूरा गर्ने त परै जाओस किसानहरूको पीडामा मलहम लगाउने कार्य पनि गरेका छैनन् । किसानहरूलाई सर्वसुलभ बीउबिजन, मल अनि सिंचाइको सुविधा उपलब्ध गराउने भनेर डम्फु बजाएर चुनाव जितेकाहरूले न बीउबिजन, मल दिन सके न अहिले वैकल्पिक सिंचाइको व्यवस्था गर्न सकेका छन्, जसले गर्दा उनीहरूको आलोचना हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here