• डा शिवशङ्कर यादव

जनताको सुरक्षाको लागि प्रहरीको तैनाती हुन्छ । तर राजाको सुरक्षाको लागि त्यत्तिले काम चल्दैन । राजा निस्सन्देह साधारण जनताभन्दा बढी महŒवपूर्ण हुन्छन् । किनभने उनलाई सम्पूर्ण देश र जनताको क्रियाकलाप सञ्चालनको महŒवपूर्ण जिम्मेवारी हुन्छ । त्यस कारण उनको सुरक्षाको लागि विशेष बलसहितको दरबार र किल्लाको निर्माण हुन्छ । त्यस दरबारभित्र केवल विश्वासिला पात्रलाई मात्र जान सक्ने अनुमति हुन्छ । के ठेगान कि कुन स्थानबाट कुन शत्रुले प्रवेश गर्न कोशिश गरोस् । प्रहरीमैं घूसपैठ भएका शत्रुले पनि झुक्याउन सक्छन् । ती सबै रोक्न विभिन्न उपाय, ढोका र कुना निर्माण गरिन्छ ।

शरीरको जनताको सुरक्षाको लागि रगतरूपी प्रहरी तैनाथ गरिएको छ । शरीरको जनता मुटु, फोक्सो, कलेजो, मिर्गौला, पेट, आन्द्रा आदि हुन् । रगतरूपी प्रहरीले सधैं पेट्रोलिङ गर्दै उनको सुरक्षा गर्छ । जहिले पनि जब शरीरमा कुनै चोटपटक लाग्छ, तुरुन्त रगत त्यहाँ पुग्छ र चोट लागेको कोषलाई घेरेर शत्रुलाई घेरा हालेर मार्छ । तर मस्तिष्करूपी राजालाई त्यत्तिले पुग्दैन । उसको लागि खोपडीरूपी मजबूत दरबार बनेको छ, जसभित्र मस्तिष्क बस्छ । रिढरूपी यस्तो किल्ला तयार पारिएको छ कि मस्तिष्कको झुन्डिएको भाग मेरुदण्डमा पनि त्यही किल्ला साथ रहन्छ । त्यसभित्र मस्तिष्करक्षक द्रवरूपी बेग्लै बल तैनाथ गरिएको हुन्छ । रगत जस्तै तर अझ विशेषरूपले यो केवल मस्तिष्कको सुरक्षाको लागि मात्र जिम्मेवार हुन्छ । शरीरका अन्य अवयवको रक्षाको जिम्मेवारी त्यसलाई हुँदैन । यस मस्तिष्करक्षक द्रवलाई सिरेव्रो स्पाइनल फ्लुइड अथवा छोटकरीमा सिएसफ भनिन्छ । यसले रगतमा मौजुद घूसपैठियाहरूलाई पनि भित्र आउन दिंदैन । अतः कसरी यसले मस्तिष्कको सुरक्षा गर्छ र यसको बनौट कस्तो छ भन्नेतिर अब लागौंः

शरीरमा जम्मा ४० लिटर पानी हुन्छ । यो पानी दुर्ई प्रकार अथवा दुर्ई चेम्बरमा अवस्थित हुन्छ । एउटा सम्पूर्ण कोषभित्र र अर्को कोष बाहिर । भित्रको पानी २२ लिटर र बाहिरको पानी १८ लिटर हुन्छ । यस १८ लिटरमा पनि पाँच भाग हुन्छन्ः

जो लिम्फैटिक सिस्टममा हुन्छ, त्यसलाई इन्टरस्टिसियल फ्लुइड भनिन्छ, जसमा पानी १२ लिटर हुन्छ । प्लाज्मामा २.७५ लिटर हुन्छ । त्यस्तै, हाड र कार्टिलेज ३.५ लिटर ट्रान्ससेल्युलर भनिने रूपमा हुन्छ । यस ट्रान्ससेल्युलरमा पनि छ भाग हुन्छन्– १. सिरेव्रो स्पाइनल फ्लुइड २. आँखाभित्रको पानी ३. पाचन रसहरू ४. मुटु, फोक्सो र आन्द्रालाई घेरेको फ्लुइड ५. जोर्नीको चारैतिर भएको र ६. पिसाबको पानी ।

सिरेव्रो स्पाइनल द्रव एक सफा, रङ्गहीन र पारदर्शी द्रव हो, जो १५० मिलीग्रामले हरदम मौजुद रहन्छ । ब्रेन एक कम्प्याक्ट रचना हो । तर यस रचनाको बीचोबीच पनि केही खाली ठाउँ हुन्छन्, जसलाई भेन्ट्रिकल भनिन्छ । लैटेरल, थर्ड र फोर्थ भेन्ट्रिकल यिनका नाम हुन् । सबैभन्दा बढी मस्तिष्करक्षक यानी सिरेव्रोस्पाइनल फ्लुइड लैटरल भेन्ट्रिकलमा बन्छ । यी भेन्ट्रिकलमा एउटा परत हुन्छ, जसलाई कोरोवायड प्लेक्सस भनिन्छ । यिनै प्लेक्ससहरूले जुन पदार्थ निकाल्छन्, त्यही हो मस्तिष्करक्षक अर्थात् सिरेव्रोस्पाइनल फ्लुइड । अब यो बन्छ बीचमा र कसरी दिमाग र मेरुदण्डलाई चारैतिरबाट घेर्न पुग्छ त ? पशुपतिनाथ  वा कुनै पनि शिवलिङ्गमाथि एउटा पवित्र भाँडो हुन्छ, जसको पानी एउटा छिद्रबाट तल शिवलिङ्गमा अनवरत् खसिरहेको हुन्छ । त्यसपछि पानी गोल घेरामा र फेरि त्यस घेरामा चिरिएको ठाउँबाट बाहिर निस्किन्छ । त्यस्तै, छिद्र दिमागमा पनि बनेको हुन्छ । यी एक होइन अनेक हुन्छन् । जसले यी खोज गरे, उनैको नाममा यी छिद्रहरूको नाम राखिएको हो, जसलाई अङ्ग्रेजीमा फोरामेन भनिन्छ । लैटरल भेन्ट्रिकलबाट यो फोरामेन अफ मुनरोबाट थर्ड र एक्विडक्ट सिल्भियस भएर फोर्थ भेन्ट्रिकलमा जान्छ । त्यहाँबाट यो फेरि फोरामेन मिजेन्डी र फोरामेन लुस्काबाट तल मेरुदण्ड र माथि दिमागलाई घेर्न पुग्छ । जसरी किताबमा जिल्द लगाइन्छ, त्यस्तै दिमागमा पनि जिल्द लगाइएको हुन्छ । किताबमा त केवल एउटा जिल्द हुन्छ तर दिमागमा जिल्द एकपछि अर्को गरी तीनवटा हुन्छन् । सबैभन्दाभित्रको जिल्दलाई पायामेटर, त्यसभन्दा माथिकोलाई एरेकन्वायडमेटर र त्यसमाथि अथवा सबैभन्दा बाहिरकोलाई ड्युरामेटर भनिन्छ । सिएसफ पायामेटर र एरेकन्वायडमेटरको बीचमा नै बहेर दिमाग र मेरुदण्ड दुवैलाई बचाइरहेको हुन्छ । बाहिरको ड्युरामेटरसित यसको सम्बन्ध छैन । ड्युरामेटर मात्र एउटा खोलको भूमिकामा हुन्छ र दिमागलाई बचाउन त्यसको अलग्गै भूमिका छ । यसरी दिनहुँ ५०० मिलीग्राम द्रव बन्छ र यति नै अवशोषित हुन्छ । तर १५० मिली सधैं सञ्चारमा रहिरहन्छ । रगत जस्तै यसको पनि चाप हुन्छ, जो अवस्था अनुसार बदलिरहन्छ । कोल्टे परेर सुतेको अवस्थामा यो पानीको २० देखि १८ सेमी र बसेको अवस्थामा ३० सेमी अफ वाटर हुन्छ । खोक्दा यसको चाप बढ्छ । पानीमा कुनै बल तैरिए जस्तो मस्तिष्क मस्तिष्करक्षक द्रवमा तैरिरहेको हुन्छ । जब कुनै चोटपटक लाग्छ, तब मस्तिष्करक्षक द्रवले कुशनको जस्तो काम गरेर मस्तिष्कलाई बचाउँछ । यसलाई तपाईंले आफ्नो मोबाइलको उदाहरणबाट सम्झनुस् । कुनै पनि इलेक्ट्रोनिक सामान धेरै संवेदनशील हुन्छ, जसरी दिमाग संवेदनशील हुन्छ । तपाईंले मोबाइल किन्दा के हेर्नुहुन्छ ? मोबाइल एउटा कुटको डब्बामा हुन्छ । खोल्दा त्यसभित्र फोमको एउटा अर्को पनि बक्सा हुन्छ । फोममा हजारौं छिद्र हुन्छन्, जसले चाप सोस्ने काम गर्छ । त्यसभित्र पनि मोबाइल सानो सानो हावाका फोकाहरू भएको एउटा प्लास्टिकमा बेरिएको हुन्छ । यसले फोमभन्दा बढी चाप सोस्ने र कुशनको काम गर्छ । यसरी मोबाइल जस्ताको त्यस्तै तपाईंको हातमा आउँछ । दक्षिण कोरिया वा जापानबाट मोबाइल पानीजहाजमा ओसारिन्छ । ती मोबाइल अब कोलकाता बन्दरगाहमा ट्रकमा पटकिइन्छ । त्यो ट्रक बाटोमा सैकडौं जोल्डिङ खाँदै गोदाम र फेरि बिक्रीको लागि पसलमा पुग्छ । तर पनि मोबाइल जस्ताको त्यस्तै कसरी रहन सक्यो ? त्यही फोम र हावा भरिएको प्लास्टिकले कुशन बनाएकोले । हावाको ठाउँमा तपाईंले पानी पनि भर्न सक्नुहुन्छ । तर मोबाइल वा अन्य सामान स्वयम् पानीले खराब हुन्छ, त्यस कारण भर्ने कुरै आउँदैन । तर दिमाग पानीले खराब हुँदैन, त्यस कारण प्रकृतिले त्यहाँ पानी नै भरेको छ । यसले गर्दा दोहोरो लाभ हुन्छ । कुशनको काम गरी दिमागलाई बचाउनु र साथै त्यसै माध्यमबाट दिमागको लागि पोषक तŒव उपलब्ध गराउनु तथा विजातीय पदार्थलाई बाहिर निकाल्नु । अतः यसरी दिमागले रगतबाट पोषक तŒव लिन्छ र विजातीय पदार्थलाई रगतमा पठाइ त्यसलाई नष्ट गर्छ । तर कुशनको जुन यहाँ काम छ, त्यो केवल मध्यमसम्मको चोटपटकमा मात्र काम लाग्छ । तपाईंले एक घुस्सा टाउकोमा लगाउनुस्, उसले रोक्छ  तथा दिमाग जहाँको त्यहीं जस्ताको त्यस्तै रहिरहन्छ । तर घुस्सा धेरै नै बलको छ, जसरी एक बक्सरले हान्छ, तब हान्नेतिर त दिमागलाई केही हुँदैन तर दिमागको विपरीत दिशाको खप्परको भागमा बेस्सरी ठोक्किन पुग्छ र त्यो भाग खराब हुन्छ । अर्थात् जब ललाटमा घुस्सा लाग्छ, तब दिमागको पछिल्लो भागको समस्या परिलक्षित हुन्छ । यस क्रियालाई सन् १८४८ मा एकजना अमेरिकी वैज्ञानिकले कसरी देखाए कि उनले आफ्नै टाउकोमा एकदम जोडसित फलामले हिर्काए र त्यसले दिमागको अर्कोपट्टिको भाग खराब भयो । वैज्ञानिक महोदय त बाँचे तर जीवनभर अपाङ्ग भएर ।

रगत र मस्तिष्करक्षकको बीचमा एउटा यस्तो अपारदर्शी बैरियर हुन्छ, जसको कारणले रगतका सबै पदार्थ मस्तिष्करक्षक द्रवमा जान पाउँदैन, अन्यथा मस्तिष्क सङ्क्रमणबाट नै हैरान हुन्थ्यो । त्यस पर्खाललाई बिबिबी अथवा ब्लड ब्रेन बैरियर भनिन्छ । कतिपय ओषधिसमेतले यस बैरियरलाई पार गर्न सक्दैन । तर अपसोच सबका सब नोक्सानदेह पदार्थलाई रोक्न सक्दैन । लाभप्रद तŒव सँगसँगै केही नोक्सानदेह पदार्थ पनि पस्छ, जसरी अक्सिजनको साथसाथै कार्बनडाइक्साइड र कार्बनमोनोक्साइड ।

यदि मस्तिष्करक्षक द्रवको बहावमा  रोकावट हुन्छ भने आँखाको वरिपरि सुनिन्छ, जसलाई पैपिलोइडिमा भनिन्छ । गर्भावस्थामा रोकावट भयो भने हाइड्रोसिफैलस भन्ने रोग लिएर बच्चाको जन्म हुन्छ, जसमा शिशुको शिरको आकार अप्रत्याशितरूपले ठूलो हुन्छ । जब मेरुदण्डको बीचमा कुनै खाली ठाउँ हुन्छ, तब त्यस खाली ठाउँ भएर मस्तिष्करक्षक द्रव अथवा सिएसएफ बाहिर बैलुन जस्तो एउटा आकार बनाएर आउँछ, जसलाई स्पाइनल बल्ज भनिन्छ ।

दिमागले शक्ति प्राप्त गर्नु र शरीरका अन्य अङ्गले शक्ति प्राप्त गर्नुमा धेरै अन्तर छ । शरीरका अन्य अङ्गले अक्सिजन नभए पनि ग्लाइकोजनको एनेरोबिक क्रियाले पनि शक्ति प्राप्त गर्छ किनभने त्यसमा ग्लाइकोजन भण्डारण हुन्छ । तर दिमागमा ग्लाइकोजन भण्डारण हुँदैन, त्यस कारण दिमागको सम्बन्धमा एनेरोबिक प्रक्रिया काम लाग्दैन । अतः दिमागलाई सीधैं अक्सिजनजनित शक्ति नै चाहिन्छ । त्यसैले यदि दिमागमा अलिकति पनि अक्सिजन पुग्न सकेन भने केही सेकेन्डमा नै मानिसको मृत्यु हुन्छ, जसको उदाहरण फाँसी लगाउँदा वा लाग्दा देखिन्छ ।

मस्तिष्करक्षक द्रवको बनौट निम्नलिखित हुन्छ– पानी ९९.१३ प्रतिशत र ठोस ०.८७ प्रतिशत । ठोसको आर्गेनिकमा प्रोटिन, एमिनो एसिड, सुगर, कोलेस्ट्रोल, युरिया, युरिक एसिड, क्रियटिनिन र लैक्टिक एसिड तथा इनआर्गेनिकमा सोडियम, क्याल्शियम, पोटाशियम, म्याग्नेशियम, क्लोराइड, फास्फेट, वाइकार्बोनेट र सल्फेट हुन्छ । यसको अलावा लिम्फोसाइट ६ प्रतिक्युविकमिमी हुन्छ, जुन सिएसएफ स्पाइनलमा आएपछि मात्र देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here