• उमाशङ्कर द्विवेदी

यसपछि उनले यमदण्डको समान घोर बाण धनुषमाथि राखेर घटोत्कचको छातीमाथि प्रहार गरे । त्यो महान् बाण घटोत्कचको छातीलाई छेडेर पृथ्वीभित्र छि¥यो, घटोत्कच मूर्छित भएर भूमिमाथि लडे । उनलाई मरेर लडेको अनुमान गरी धृष्टद्युम्नले अश्वत्थामाको नजीकबाट आफ्नो रथलाई टाढा लिएर गए । युधिष्ठिरका सेनाका राजाहरू भागे । वीरवर अश्वत्थामाले पाण्डवसेनालाई परास्त गरेर सिंहको समान गर्जना गर्न थाले । त्यति बेला अन्य सबैजना तथा तपाईंका पुत्रहरूले पनि द्रोणकुमार अश्वत्थामाको विशेष सम्मान गरे । सिद्ध, गन्धर्व, पिशाच, नाग, सुपर्ण, पितर, पक्षी, राक्षस, भूत, अप्सरा तथा देउताहरूले पनि अश्वत्थामाको प्रशंसा गर्न थाले ।

सञ्जय भन्छन्– महाराज, अश्वत्थामाले राजा कुन्तीभोजका दशजना पुत्र तथा हजारौं राक्षसको संहार गरिदिए । यो हेरेर युधिष्ठिर, भीमसेन, धृष्टद्युम्न र सात्यकिले पुनः युद्धमैं मन लगाए । सङ्ग्राममा सात्यकिमाथि दृष्टि पर्ने बित्तिकै सोमदत्त पुनः रिसले मुर्मुरिए । उनले बाणहरूको घनघोर वर्षा गरेर सात्यकिलाई आच्छादित पारिदिए । अनि दुवै पक्षमा बडो भयङ्कर युद्ध थालियो । सोमदत्तलाई नजीक आएको हेरेर सात्यकिको रक्षा गर्नको लागि भीमसेनले उनलाई दशवटा बाण हानेर घाइते पारिदिए । सोमदत्तले पनि उनीमाथि एक सयवटा बाण हानेर उनलाई घाइते पारिदिए । यो हेरेर सात्यकि क्रोधले मुर्मुरिएर वज्रको समान तीक्ष्ण दशवटा बाण हानेर सोमदत्तलाई घाइते पारिदिए । तदन्तर भीमसेनले सात्यकिको पक्ष लिएर सोमदत्तको मस्तकमाथि एउटा भयङ्कर परिघको प्रहार गरे । साथै सात्यकिले पनि अग्निको समान तेजस्वी बाण उनको छातीमाथि हाने । परिघ र बाण दुवै एकै साथ सोमदत्तलाई लाग्यो, यसबाट उनी मूर्छित भएर लडे ।

पुत्रलाई मूर्छित भएको हेरेर बाल्हीकले धावा गरे, उनले वर्षाकालीन मेघझैं बाण वर्षाउन थाले । भीमसेनले पुनः सात्यकिको पक्ष ग्रहण गरेर नौवटा बाण हानेर बाल्हीकलाई घाइते पारे । अनि प्रतीपनन्दन बाल्हीकले कुपित भएर भीमसेनको छाती ताकेर शक्तिको प्रहार गरे । त्यसको चोटबाट भीमसेन कामेर बेहोश हुन पुगे । फेरि केहीबेरमैं चेत खुलेपछि पाण्डुनन्दन भीमसेनले उनीमाथि गदा प्रहार गरे । त्यसको आघातबाट बाल्हीकको टाउको गींडबाट अलगियो । उनी वज्रबाट आहत भएको पर्वतझैं भुइँमाथि लडे ।

बाल्हीक मारिएपछि तपाईंका नागदत्त, दृढरथ, महाबाहु, अयोभोज, दृढ, सुहस्त, विरज, प्रमाथी, उग्र र अनुयायी नाम गरेका दशजना पुत्र आफ्नो बाणबाट भीमसेनलाई पीडित पार्न थाले । उनीहरूलाई हेर्ने बित्तिकै भीमसेन अत्यन्त क्रोधित भएर उनीहरूको मर्मस्थानमा बाण हान्न थाले । ती बाणहरूको चोटबाट तपाईंका पुत्रहरूको शरीर निष्प्राण भएर तेजहीन भई भुइँमाथि सोतर हुन पुगे । यसपछि वीरवर भीमसेनले तपाईंको सालाका सातजना महारथीलाई मारी नाराचबाट महारथी शतचन्द्रलाई पनि मृत्युको बाटो लगाइदिए । उनीहरू मारिएको हेरेर शकुनिका भाइ गवाक्ष, शरभ, विभु, सुभग र भानुदत्त–यी पाँच महारथी दगुरेर आएर भीमसेनमाथि बाणवर्षा गर्न थाले । त्यसबाट पीडित भएर भीमसेनले पाँचवटा बाण हानेर ती पाँचजनालाई पनि मारिदिए । ती वीरहरूलाई मृत्युको मुखमा परेको हेरेर कौरवपक्षका राजाहरू विचलित हुन पुगे । यता युधिष्ठिरले पनि तपाईंको सेनाको संहार आरम्भ गरे । उनले कुपित भएर अम्बष्ठ, मालव, त्रिगत्र्त र शिविदेशका योद्धाहरूलाई यमलोकमा पठाइदिए । यतिमात्र होइन, राजा युधिष्ठिरले अभीषाह, शूरसेन, बाल्हीक तथा बसाति वीरहरूको पनि वध गरेर यस पृथ्वीलाई रगतले हिल्लाम्ये पारिदिए । उनले आफ्नो बाणबाट मद्रदेशीय योद्धाहरूलाई पनि प्रेतलोकको अतिथि बनाए ।

अनि तपाईंका पुत्रहरूले आचार्य द्रोणलाई युधिष्ठिरतिर प्रेरित गरे । आचार्य अत्यन्त क्रोधित भएर वायव्यास्त्रको प्रयोग गरे तर युधिष्ठिरले पनि त्यस्तै दिव्यास्त्रबाट काटिदिए । अनि त आचार्य द्रोणको क्रोधको सीमा नै रहेन । उनले युधिष्ठिरमाथि वारुण, याम्य, आग्नेय, त्वाष्ट्र र सावित्र आदि अस्त्रहरूको प्रयोग गरे तर यसबाट युधिष्ठिर कति पनि आत्तिएनन् । उनले पनि दिव्यास्त्रहरूको प्रयोग गरेर ती जम्मै अस्त्रलाई निष्फल पारिदिए । अनि द्रोणले ऐन्द्र र प्राजापात्य अस्त्रहरूलाइ प्रकट गरे । यो हेरेर युधिष्ठिरले पनि माहेन्द्र अस्त्र प्रकट गरेर ती सबै अस्त्रको नाश गरिदिए । यस प्रकार आफ्ना अस्त्रहरू लगातार नष्ट हुँदै गइरहेको हेरेर युधिष्ठिरको वध गर्नको लागि द्रोणाचार्यले उनीमाथि ब्रह्मास्त्रको प्रयोग गरे । त्यति बेला चारैतिर अँध्यारो हुन पुग्यो, ब्रह्मास्त्रको भयले सम्पूर्ण प्राणी थर्कमान हुन पुगे । त्यस ब्रह्मास्त्रलाई प्रकट भएको हेरेर युधिष्ठिरले पनि ब्रह्मास्त्र नै प्रकट गरेर त्यसलाई शान्त पारिदिए । अनि द्रोणाचार्यले धर्मराजलाई छाडेर क्रोधित भई वायव्यास्त्रले दु्रपदसेनाको संहार गर्न थाले । क्रमशः…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here