प्रायः गर्मी र वर्षात्को मौसममा सर्पदंशका घटनाहरू हुने गर्दछन्। साँपको रगत चीसो हुने हुँदा यसले गर्मी र उकुसमुकुस सहन सक्दैन र यी मौसममा बाहिर खुलामा निस्कने गर्दछ। प्रायः सर्पले कसैलाई डस्दैन। ज्यानमाथि खतरा देखेर मात्र डस्छ। अनि यस्तो मौसममा मानिस अँध्यारोमा आवश्यक उपकरणविना बाहिर निस्कँदा सर्पदंशका घटना हुने गर्दछन्। मानिसको खुट्टा सर्पमा पर्दा वा अन्य कुनै कारणले उसले आफ्नो ज्यानमा खतरा देख्यो भने मात्र डस्दछ। साँप पनि सबै विषालु हुँदैनन्। तर साँपबारे भ्रान्ति भने सर्वाधिक छन्। साँप शत्रु हो, देख्यो कि मारिदिनुपर्छ भन्ने सोच हामीकहाँ विद्यमान छ। वस्तुतः साँप हाम्रो शत्रु नभएर मित्रजीव हो। सतर्कता यतिमात्र राख्नुपर्छ कि हामीबाट उसलाई हानि पु–याउने कुनै पनि काम जानेर वा नजानेर नहोस्। साँप प्रायः अँध्यारो, ओसिलो, खरपात, ओसिएको पराल, काठपातबीच बस्न मन पराउँछ। यस्तो ठाउँमा जाँदा वा यस्तो वस्तु उपयोग गर्दा सावधानी मात्र अपनाउने हो भने साँपको टोकाइबाट जोगिन सकिन्छ। साँप प्रायः जमीनमा बस्ने हुँदा यसले खुट्टामा टोक्छ वा साँप बसेको ठाउँमा हातले कुनै काम गर्दा हातमा टोक्छ।
साँपले टोकेपछि प्रायः मानिस आत्तिन्छन्। यसले रगत प्रवाहमा असामान्य वृद्धि हुन्छ र साँपको विष शरीरमा छिटै फैलिने खतरा हुन्छ। साँपको विषयमा गाउँघरतिर एउटा रमाइलो कथा भनिन्छ। एक समय कुनै घरामी घर छाउँदै गर्दा उसको औंलामा केहीले टोकेजस्तो अनुभूति भयो। खरपातले घोचेको होला ठानेर उसले वास्ता गरेन। अर्को वर्ष पुनः त्यही छानो छाउँदा उसले त्यसै ठाउँमा एउटा सर्प देख्यो र उसको मृत्यु भयो। पोर साल उसलाई साँपले नै टोकेको भएपनि एक वर्ष बाँच्ने कुरै थिएन। कि विष नभएको साँपले टोकेको थियो वा खरपातले घोचेको थियो। तर यस वर्ष केही नहुँदा पनि उसको ज्यान किन गयो ? यै हो, साँपप्रति हाम्रो भ्रान्ति। साँपले टोकेको औषधि पनि साँपकै विष हो। अर्को औषधि छैन। जुन जातको साँपले टोकेको छ, त्यसैको विषबाट बनाएको एन्टिभेनम छ भने सामान्य डोजको औषधिले विष झर्छ। अरू एन्टिभेनम प–यो भने बढी डोज दिनुपर्छ। हामीकहाँ भने एकै खालको एन्टिभेनम औषधि पाइने सुनिएको छ। जसले गर्दा कहिलेकाहीं एउटै मानिसलाई कैयौं डोज दिनुपर्ने हुन्छ र स्वास्थ्य केन्द्र वा अस्पतालहरूमा जहिले पनि यस औषधिको अभाव देखिन्छ।
यसर्थ साँपले टोकेपछि उपचार त आवश्यक पर्छ नै तर सामान्य सावधानी अपनाउने हो भने सर्पदंशबाट नै जोगिन सकिन्छ। अनि न औषधिको झन्झट, न ज्यानको खतरा। प्रायः साँप बस्ने ठाउँमा नजाउँ। जानै परे लामो जुत्ता लगाउँ, काठपात वा परालमा झ्वाट्ट हात हाल्नुको साटो लौरोले चाहिनेजति कुरा झिकेर अनि मात्र हात लगाउँ। यस्ता कुराको परामर्श जसकसैले पनि गाउँघरमा दिन सक्छ। विभिन्न अस्पताल–स्वास्थ्य केन्द्रहरूले यस्तो कुराको प्रचार गर्न सक्छन्। गैससहरूले गाउँघरमा गर्ने कार्यक्रमहरूमा दुई मिनेट समय बढाएर यति कुरा मानिसको ध्यानमा पु–याइदिन सके पनि थुप्रै ज्यान जोगाउन सकिन्छ। गाउँघरतिर रातबिरात हिंडदा लौरो जमीनमा बजार्दै, जुत्ता वा चप्पल फटकार्दै हिंड्दा पनि सर्पदंशबाट जोगिन सकिन्छ। प्रायः हामी साँपले सुन्छ भन्ने ठान्दछौं, होइन, उसले जमीनमा कम्पन महसूस गरेर कसैको उपस्थिति थाहा पाउँछ।